चौतारा । सिन्धुपाल्चोक जिल्लामा रहेर गजल विधामा क्रियाशिल व्यक्तित्वहरुको भेलाले आधुनिक नेपाली गजल अभियान सिन्धुपाल्चोक समिति गठन गरेको छ ।
गजल उत्थानको लागि २०७८ सालमा विपिन सलामीको नेतृत्वमा स्थापना भएको आधुनिक नेपाली गजल अभियानको शाखा शुक्रबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघको सभालहमा गठन गरिएको हो । आधुनिक गजल अभियान सिन्धुपाल्चोकका संयोजक किशमा किशोरको अध्यक्षतामा भएको भेलाले सुन्दर शिरीषको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अभियानको उपाध्यक्षमा रमेश श्रेष्ठ, सचिवमा विजय नेपाल, सहसचिवमा ललिता गजमेर, कोषाध्यक्षमा रस्मिला खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा केशवप्रसाद अधिकारी, सुरशेकुमार थामी, मेनुका कटुवाल, दुर्गाबहादुर श्रेष्ठ, उमेश विक, सानुमाया तामाङ रहेका छन् ।
भेलाले सल्लाहकार समिति समेत बनाएको छ । अमित घिमिरेको संयजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा जीवन श्रेष्ठ र किशमा किशोर छन् । त्यस्तै सोहि भेलाले मानार्थ सल्लाहकारमा सुरेश कसजू, बिपिन सलामी र बाबु त्रिपाठीलाई स–सम्मान सामेल गराएको छ ।
‘गजलको उत्थानमा लागिरहेको यो अभियानको सिन्धुपाल्चोक टीममा शसक्त युवाहरु सामेल हुनुले थप उर्जा दिएको छ’, किशमा किशोरले समितिलाई बधाई तथा शुभकामनाले दिँदै भने– ‘गजल क्षेत्रमा सशक्त कलम चलाउँदै आएका व्यक्तित्वहरुका साथै सीमान्तकृत समुदायदेखि अपाङ्ग, दलित, जनजाति, महिला सबै समेटिएको यो टीमले गजल विधाको उत्थानमा एउटा आयाम थप्ने विश्वास छ ।’
‘आधुनिक नेपाली गजल लेखन अभियानलाई अझै फराकिलो रुपमा विकास गर्दै यो समितिले निरन्तर रूपमा अगाडि बढ्ने छ’, जिल्ला अध्यक्ष सुन्दर शिरीषले भने– ‘यो तदर्थ समिति भएकाले जिल्लामा क्रियाशिल सबै गजलकारहरुलाई समेट्दै गजलको उत्थानमा लाग्नेछौं ।’ उनले आधुनिक गजल अभियानले सारेको अवधारणलाई आत्मसाथ गर्दै गजलको उन्नयनमा लाग्ने प्रतिबद्धता जनाए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ