चौतारा । मनसुन जन्य प्राकृतिक विपत्तिबाट घरवारविहिन भएका सिन्धुपाल्चोकका १ हजार ४१ परिवारको स्थायी आवास पुर्ननिर्माण प्रक्रिया सुरु भएको छ ।
जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिले घर गुमाएका सो संख्या परिवारको आवास निर्माण सुरु गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको तथ्याङ्क अनुसार सबैभन्दा बढी लाभग्राही हेलम्बु गाउँपालिकामा कायम भएका छन् । गतबर्षको मेलम्ची बाढीबाट हेलम्बुमा मात्रै ३ सय ९२ घरपरिवार विस्थापित भएका थिए ।
लाभग्राही कायम भएका मध्ये हेलम्बुमा १ सय ८२, मेलम्ची नगरपालिका १५, बाह्रबिसे नगरपालिका ४०, भोटेकोशि गाउँपालिका १५, पाँचपोखरी थाङपाल गाउँपालिका र बलेफी गाउँपालिकामा २÷२ गरी २५६ घर परिवारको आवास पुनर्निर्माणको सम्झौता सम्पन्न भई पहिलो किस्ता बापतको रकम निकासा गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालको भनाइ छ ।
प्राकृतिक विपत्तिबाट विस्थापित नागरिकहरूको स्थायी आवास पुर्ननिर्माण को काम सुरु भएपनि जोखिमयुक्त बस्ती स्थानान्तरणको कामले भने अझै गति लिन सकेको छैन । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा गत बर्ष याङ्ग्री र लार्के खोलामा आएको बाढीबाट प्रभावितहरूको स्थानान्तरणको प्रक्रिया सुरु भएपनि सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन हुन नसक्दा कामले गति लिन नसकेको हो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ