इन्द्रावती । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ नवलपुरमा भूकम्प स्मारक भृकुटी शान्ति पार्क बन्ने भएको छ । रू. १ करोड ६६ लाखको लागतमा सो पार्क निर्माण हुन लागेको हो ।
पार्क निर्माणको लागि पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तरर्गत बजेट विनियोजन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रू. १ करोड १६ लाख र इन्द्रावती गाउँपालिकाको रू. ५० लाख साझेदारी लागतमा भूकम्प स्मारक भृकुटी शान्ति पार्क निर्माणका लागि सम्झौता भइसकेको छ । मन्त्रालयका अनुसार संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा आयोजना कार्यान्वयन गर्न लागिएको हो । यी आयोजना १ वर्षदेखि बढीमा ३ वर्षमा सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
१२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको पार्कको डीपीआर तयार भइसकेको छ । पार्कको डीपीआर ग्रीन डिजाइन सोलुसन प्रालिका प्रबन्ध निर्देशक आर्किटेक्ट नवीन घिसिङको नेतृत्वमा तयार पारिएको हो । तिब्बतका राजा स्रङचङगम्पोले नेपाली चेली भृकुटीलाई विवाह गरी सोहि बाटोबाट लगेकोले त्यसकै सम्झना र २०७२ को भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्क निर्माण हुन लागेको आर्किटेक्ट घिसिङले जानकारी दिए । ‘भृकुटीलाई बिहे गरेर यही बाटोबाट लगेको हुनाले त्यो इतिहासलाई जीवन्त राख्दै भूकम्पमा परेर मृत्यु भएकाहरुको स्मृतिमा पार्क निर्माण गर्ने गाउँपालिकाको लक्ष छ’, उनले भने ।
‘हामीले डीपीआर तयार पारिसकेका छौं, अब निर्माण प्रकृया शुरु गर्ने चरणमा छौं’, गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने ‘छिट्टै आवश्यक प्रकृया पूरा गरी निर्माण शुभारम्भ गर्नेछौं ।’ तामाङका अनुसार पार्कमा योग, व्यायाम, मनोरञ्जनात्म क्षेत्र, सेमिनार हलसँगै अकर्षक विश्राम स्थल रहनेछ । पार्कलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य पालिकाले लिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ