एमसीसी सम्झौतालाई अन्तर्राष्ट्रिय कानुनको ज्ञाताहरुले खासै समस्याको विषय मानेका छैनन् । उनीहरूले भनेअनुसार, एमसीसी सम्झौतालाई यसको प्रावधान र अनुमोदनका प्रकृयामा देखिएको अनौठोपनले अन्यौलता सृजना भएको मात्र हो अन्यथा होइन । होला, अमेरिकी सरकारले कानुनी रित पूरा नगरी पक्कै कुनै पनि सहयोग या लगानी गर्दैन । अर्थशास्त्रीहरूले उदारपुँजीवादी व्यवस्थामा अन्तर्राष्ट्रिय ऋण एवं सहयोगको अधिकतम उपयोग गरी गरिब मुलुकले आफ्नो विकास लक्ष्य हासिल गर्न सक्ने हुनाले यस्ता सहयोग र लगानीको खुलेर स्वागत गर्ने नै भए ।
तर यो एमसीसी सम्झौतालाई कानुनी रित/बेरित अथवा यसका लिखित सर्तका दफाहरुमा मात्र हेरेर मात्र नेपाली नागरिक सशंकित बनेका होइनन् होला । यसलाई राजनीतिक नजरले नै हेरिएको हो । राजनीतिक रुपमा अमेरिका डरलाग्दो देश हो । यो सफा नियतले कहीँ पस्दैन । यो आफ्नो योजना लिएर पसेका धेरै देशमा लामो समयसम्म द्वन्द्व र हिंसाको खेल खेलेको धेरै उदाहरण छन् । इराकमा सद्दाम हुसेनलाई मार्ने योजना कस्को थियो ? मध्यपूर्वमा अमेरिकी हिंसाको नृत्य किन ? आदि । एमसीसी माउल्लेखित प्रावधानहरूलाई संदेहको नजरले हेर्नु एक कोणबाट ठीकै हो कि ?
एमसीसी सम्झौताको स्वच्छता, असल नियत र वास्तविक उपयोगिता खुलाएर यो साँच्चै नै नेपालको हितमा छ भन्ने स्पष्ट रुपमा बुझाउन नसक्नु एमसिसि सम्झौतालाई समर्थन गरिरहेका दल र सरकारको कमजोरी पक्कै पनि हो । आफैँ अस्पष्ट देखिएको सरकारले केवल रटान लगाइरहेको छ– एमसिसि सम्झौतालाई जसरी पनि अनुमोदन गराउनुपर्छ ! पछिल्लो समयमा अमेरिकी अल्टिमेटम, धम्कीको कुटनीति अनि दलहरूबीच साझा सहमति बिना नै हतारमा राजनीतिक परिवेश परिवर्तन भएर अवरुद्ध सदनमा एमसीसी सम्झौतालाई पारित गराउन टेवल गर्नु जस्ता घटनालाई स्वाभाविक मान्नुपर्छ भन्ने प्रश्न नै आउँदैन ।
नागरिकको विरोध प्रदर्शन उग्र रुप लिइरहेको छ भने उता सरकारले दमनको बलमा प्रक्रिया अघि बढाउन थालेको छ । अब एमसिसि सम्झौतालाई स्वाभाविक मान्नुपर्छ भन्ने कुरा नै वाहियात हो । यो विषय शङ्कास्पद बनिसकेको छ । यो नेपाली नागरिकलाई गुमराहमा राखेर, बल प्रयोग गरेर नेताहरूलाई प्रभावमा पारेर जबर्जस्ती नेपाली जनतामाथि थोपर्न खोजिएको नै देखिन्छ । अब यो समस्त विषय र प्रक्रियाले यो नेपालको विरुद्ध षडयन्त्र हो कि जस्तो लाग्छ ।
स्वतन्त्र नेपाली नागरिकका लागि अत्यन्त दुःखको कुरा हो– संसदबाट एमसीसी सम्झौतालाई अघि बढाउने औपचारिक कदम । भ्रष्टाचार नियन्त्रण मात्रले पनि विकास खर्च पर्याप्त हुने देशमा दशकौँअघिदेखि कङ्गाल मानसिकता र भिखारी मनोविज्ञानको विष घोलिएको छ । नेताहरूले नेपाली हुनुको औचित्य बुझेनन् । मागेर खाने लम्पट मनोविज्ञानलाई उदारवादी आर्थिक नीतिले मलजल गर्यो । भूमण्डलीकरणको स्वभाविक तर्क अनुशरण गरेर आत्मनिर्भरतर्फका विकल्प सोचिएन । भारतले साठी वर्षदेखि हाम्रो विकास कुण्ठित गरेर हामीलाई वामपुड्के मनोविज्ञान लादेको छ । नेपालको नेतृत्वले आफ्नो स्वविवेकलाईभन्दा छिमेकीलाई हेरेर धेरै घाटाको निर्णय लियो । कृषिको आधुनिकीरण र सुशासन मात्र सन्तोषजनक हुन सके नेपालको विकास टाढा छैन ।
फेरि, हामीलाई पश्चिमी विश्वले निल्नु न ओकल्नु मानेको विकास पनि चाहिएको छैन । त्यसैले हामीले कुनै युद्धको मूल्य नतिर्ने प्रतिबद्धता गरी असंलग्न आन्दोलनको सदस्य बन्यौँ, पञ्चशीलको परराष्ट्र नीति तय गर्यौँ र सबैसँग समदुरी तर मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नीति लियौँ । नेपाल मध्यमार्गी, आत्मनिर्भर सन्यासी जस्तो देश हो । यहाँ विद्यमान सामाजिक र सांस्कृतिक खराबीका विरुद्ध विवेकपूर्वक काम गरी समाजवाद उन्मुख समाज बनाउनेर र सबै प्रकारका भेदभाव र अन्यायबाट मुक्त समाजको निर्माण गर्ने।फराकिलो बाटो हामीले हाम्रो संविधानमार्फत नै निर्माण गरेका छौँ । हामी यही बाटो हिँडेर एउटा प्रबुद्ध राष्ट्रको रुपमा अस्तित्वमा रहने छौँ। यही हाम्रो आदर्श हो । नेपालको लामो वामपन्थी आन्दोलनको इतिहास संविधानमा प्रतिविम्बन भएको पाइन्छ । हामीले सामाजिक न्याय सहितको स्वावलम्बी राज्य खोजेका हौँ ।
नेपालका राजनीतिक दलहरू यही मूल मान्यतामा अस्तित्वमा रहेका हुन् । यदि यो मान्यता नाघेर देशको अखण्डता र स्वाधीनतालाई विदेशी शक्तिको अगाडि बेचबिखन गर्छन् भने यिनीहरुलाई यस्तो अधिकार छैन । समस्त नेपाली नागरिकलाई यो स्वीकार छैन । नागरिकको विरोधको बेवास्ता गरी एमसीसी सम्झौतालाई संसदमा टेवल गरेर संसदमा नागरिकको सार्वभौमसत्ताको दुरुपयोग भएको छ । अमेरिकी साम्राज्यवादसँग नेपालका केही दलाल राजनीतिक नेताले (तिनका वास्तविक देशद्रोही अनुहार उदाङ्ग भैसक्यो !) एमसीसी सम्झौता गरेका हुन्, यसमा समस्त नेपाली नागरिकको स्वतन्त्र सहमति रहेको छैन ।
एमसीसी सम्झौतालाई नेपाली कानुनभन्दा माथि रहने गरी सदनबाट पारित गराउने षडयन्त्रका विरुद्ध सडकमा सङ्घर्षरत आम नेपाली नागरिकविरुद्ध दमन गर्ने सरकारले नेपाली जनताको प्रतिनिधित्व गर्ने नैतिकता गुमाइरहेको छ । नेपाली नागरिक विरुद्ध दमन गर्नु अमेरिकी साम्राज्यवादको गुलामी गर्नु हो । स्वतन्त्र नेपाली नागरिक विरुद्ध बलमिच्याइँ गरेर एमसीसी सम्झौतालाई संसदबाट पारित गर्ने र नेपालको असंलग्न परराष्ट्र नीति, सार्वभौमसत्ता र स्वाधीनतालाई भत्काएर अमेरिकी साम्राज्यवादको पैतालामा चढाउने राष्ट्रघाती खेलमा आफ्नो राजनीतिक जीवन सुरक्षित देखिरहेका एमसिसि पक्षधर सम्पूर्ण अर्थशास्त्री, बुद्धिजीवी, राजनीतिक दलहरू र तिनका कार्यकर्ताहरूको खराब दिन सुरु हुनेछ । तिनले ढिलो चाँडो यसको कठोर मूल्य चुकाउनुपर्ने छ ।
नेपालबाट प्रगतिशील वामपन्थी राजनीतिलाई समूल नष्ट गर्ने कलुषित मनसायले नेपाललाई अमेरिकी उपनिवेश बनाउने यो खेल रचिएको हो भने यसका सम्पूर्ण मतियारहरु होसियार रहून् ! हामी नेपाली नागरिकले लामो समयदेखि अनेकौं असंगतीको सिकार हुनु परेको छ । छटपटीमा रहेको नेपाली मानसिकताले राजनीतिक नेतृत्वले कुन हदसम्म नैतिकता गुमाएर मनपरी ढङ्गले राज्यको दोहन गर्न सक्छन् भनेर अब अरू हेर्न बाँकी छैन । यस्तो दिन आउनेछ, सार्वजनिक स्थानमा राजनीति गर्ने मान्छेहरु घेराबन्दीमा पर्नेछन् । प्रहरी लगाएर विरोधका आवाज कुण्ठित गर्ने मन्त्रीपरिषदका सदस्यहरूले कसरी आफ्नो बचाउ गर्ने होलान् जब प्रहरीको गोली लागेर ढलेका साथीहरूलाई नाघेर प्रहरीको फर्मेसन तोडेर आक्रोशित नागरिकको मुठ्ठी अघि बढ्न थाल्छ ।
जब अति हुन्छ, तब अति नै प्रतिक्रिया पनि हुन्छ । अमेरिका नेपालीको रगत बगेको हेर्न चाहन्छ, सायद ! अमेरिका युद्धको उन्मादले रन्थनिँदै नाचेको धेरै भैसक्यो । जहाँ पनि कुल्चिन मन लाग्छ उसलाई । देशहरूबीच ध्रूवीकरण गराउनु उसको पुरानो रोग हो र द्वन्द्व रोपेर हतियारको व्यापार गर्नु उसको पुरानो बानी हो । विकास चाहने राजनीतिक दलका नेताहरू हो, भ्रष्टाचार गरेर विदेशी बैंकमा थुपारेको जनताको पैसा फिर्ता गर ! देशको अस्तित्वको सौदाबाजी नगर !
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ