लिसंखु पाखर गाउँपालिका प्रदेश नं ३ को सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ९८।६१ वर्ग किमी रहेको छ । यो गाउँपालिका साबिकका ६ वटा गाविस ठूलोधादिङ, लिसंखु, अत्तरपुर, जेठल, पेट्कु र ठूलोपाखर मिलेर बनेको छ । १५ हजारभन्दा बढी जनसंख्या भएको यो गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट स्थानीय जनतालाई सुरक्षित राख्न के कस्ता पहलहरु गरिहेको छ रु भन्ने विषयमा रातोपाटीको ‘जनप्रतिनिधि संवाद’ मा गाउँपालिका अध्यक्ष कमलप्रसाद नेपालसँग गरिएको कुराकानी:
गाउँपालिकामा कोरोनाभाइरसको संक्रमणविरुद्ध लड्न के कस्ता पहलहरु भएका छन् ?
➲ कोरोनाभाइरसबाट बच्च सतर्कता अपनाउनु जरुरी छ। जसको लागि सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन र सोसियल डिस्टेन्सिङ कायम गर्नु नै हो । सबैभन्दा पहिले म तपाईंको सञ्चार माध्यममार्फत सबैलाई अलग बस्न आग्रह गर्दछु । कोरोना भाइरसको संक्रमण विश्वमा फैलिइसकेपछि नेपालमा लकडाउन हुनुअगाडि नै हामीले माइकिङमार्फत प्रचार गरेका थियौं । त्यसपछि आफ्नै गाउँपालिकाको प्रचार सामाग्री बनाएर सचेतना अभियान सञ्चालन गर्यौं ।
त्यसैगरी, विपद् व्यवस्थापनको लागि बैठक बसेर महत्त्वपूर्ण स्वास्थ्य संस्थाहरुका लागि अत्यावश्यक सामाग्रीहरु पीपीई, मास्क, थर्मोमिटर, सेनिटाइजर र ग्लोब्सहरु खरिद गरेका छौँ । तर, बजारमा अभाव भएकाले पर्याप्त मात्रामा खरिद गर्न सकेनौं । यद्यपि, केही थानहरु हामीले वितरण गरिसकेका छौं । यो गाउँपालिकाभन्दा बाहिरबाट आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मीको सहयोगमा सहज रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं ।
कार्यपालिकाको बैठक बसेर कोरोना भाइरस नियन्त्रणको लागि थप कोषको व्यवस्था गरेका छौँ । गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधिले पनि केही रकम जम्मा गर्ने र गाउँपालिकाले १० लाख रकम राख्ने व्यवस्था गरेका छौँ । प्रदेश सरकार र केन्द्र सरकारलाई पनि राहतको लागि अनुरोध गर्ने निर्णय गरेका छौँ । त्यस्तै, कोरोना धेरै फैलिएको खण्डमा गाउँ गाउँमा प्रत्येकको घर घरमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु पुर्याउँनको लागि ती सामानहरु खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ । पीपीई सेटहरुको पनि व्यवस्था गरेका छौं ।
क्षेत्रीय तहमा जिल्ला समन्वय समितिको नेतृत्वमा बैठक बसेर तीनवटा ठाउँमा बाह्रविसे क्षेत्र, चौतारा र मेलम्चीमा क्वारेन्टाइन र आइसोलेसको निर्माण गर्ने तयारी गरेका छौँ । जसका लागि स्वास्थकर्मी, सेना, प्रहरीको टोली बनाएका छौँ । महिला सिर्जनशील परिवारको भवनलाई प्रयोग गर्ने र उहाँहरुसँग भएको ३०÷३५ बेड प्रयोग गर्ने र अन्य सामाग्रीहरु स्थानीय सरकारले व्यवस्थापन गर्ने , त्यसलाई पाँचवटा पालिकाको केन्द्र बनाएर निर्माण गरेका छौँ । भावी महामारीलाई मध्यनजर गरेर सबै तयारी गरेका छौँ ।
यो गाउँपालिकामा कोरोना संक्रमण भएको आशंकामा गरिएको व्यक्तिहरु भेटिएका छ कि छैनन् ?
➲ छैनन् ।
विदेश वा गाउँ तथा नगरबाहिरबाट आउने व्यक्तिहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरिएको छ कि छैन ?
➲ विदेशबाट आएका एक जना स्वीडेनका नागरिक र बाहिर क्षेत्रबाट आएका दुई जनालाई राख्नुपर्ने थियो तर उहाँहरु आएको १५ दिन कटिसकेकाले उहाँहरु जुन घर परिवारमा बस्नुभयो उहाँहरु सबैलाई क्वारेन्टाइनको रुपमा घरलाई नै निगरानीमा राख्यौँ । क्वारेनटाइनको व्यवस्था गरेका छौं । वडा नम्बर ७ र २ मा क्वारेन्टाइनको व्यवस्था गरेका छौं । तत्काल कोहि मान्छे त्यहाँ लगेर राखिहाल्नुपर्ने अवस्थाका लागि र गाउँबाहिरबाट आएका मानिसहरुका लागि जो १५ दिन नकटेका छन् ।
बजेट, खाद्यान्न र अत्यावश्यक बस्तुहरु जनतासम्म पुर्याउन गाउँपालिकाले के कस्ता पहलहरु गरिरहेको छ ?
➲ त्यसको व्यवस्था गरेका छौँ । केही सीमित खाद्यस्टोरहरु छन् जसलाई खाद्यान्न ढुवानी गर्ने पासको व्यवस्था गरेर उहाँहरुले ल्याएको सामान आफ्ना ग्राहकहरुलाई सुपथ मूल्यमा वितरण गर्ने व्यवस्था मिलाएका छौँ । यसैगरी, विपन्न वर्गका लागि जो ज्याला मजदुरीमा गुजारा चलाइरहेका थिए तिनीहरुका लागि वडा कार्यालय मार्फत त्यस्ता व्यक्तिहरुको विवरण संकलन गरेर दुई तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छौँ ।
गाउँपालिकामा लकडाउन उल्लंघन भएको छ कि छैन ?
➲ गाउँमा गाई, भैंसी पाल्नेहरु तथा खेती किसानी गर्नेहरुले सुरक्षित रुपमा काम गरिरहनुभएको छ । त्यसले ठूलो समस्या बनाएका छैन । बजार क्षेत्रमा भने लकडाउन भएको छ । काठमाडौंबाट आउनेहरुले रमाइलो गर्ने, गाउँ घुम्न आएको जस्ता क्रियाकलापहरु गर्दा अप्ठ्यारो भइरहेको छ । यद्यपि, उहाँहरुलाई अनुरोध गरेका छौँ । बाहिर जथाभावी नजान र मान्छेहरुसँग भेटघाट नगर्न भनेका छौं । यसैगरी, प्रहरी प्रशासनले पनि उहाँलाई सचेत गराइरहेको छ ।
कालोबजारी भएको छ कि छैन रु बजार अनुगमन गर्ने व्यवस्था भएको छ कि छैन ?
➲ कालोबजारीको अवस्था त्यस्तो देखिएको छैन । हामीले खाद्यस्टोरसँग समन्वय गरेका छौं र उहाँहरुले मूल्य सूची निर्धारण गरेर बेचिरहनुभएको छ त्यसमा कुनै समस्या छैन ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ