काठमाडौं । बालबालिकाहरुलाई घरमै बसेर नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभासँंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ ।
नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा यो रचना ल्याइएको हो ।
गत तिहारमा नेपालयले बालबालिकाको निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो । अहिले स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक गरेको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् ।
अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर(अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने बिश्वास नेपालयको रहेको छ ।
‘वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ । यो शृंखलामा विषयको विविधता समावेश गरिने छ । यसलाई हाम्रो ’बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं’ नेपालयका किरण कृष्ण श्रेष्ठले भने । वर्णमालामा चर्चित गायिकाहरु (मीना निरौला र बेनुका राई)ले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ