मुम्बइ । नायक सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा नेपोटिज्मको बहस खुबै चर्कियो । यो बहसको निशानामा परिन् नायिका आलिया भट्ट । आलियाको चलचित्र बहिष्कार गर्नुपर्ने माग उठ्यो ।
उनले अभिनय गरेको चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो ।बलिउडमा नेपोटिज्मको बहस यसरी चर्किएको थियो कि, आलियाले आफ्नो सामाजिक संजालमा प्रतिक्रिया नै दिन नमिल्ने बनाएकी थिइन् । अत्याधिक मात्रामा गाली र अश्लिल प्रतिक्रिया आउन थालेपछि आलिया सामाजिक संजालबाट केही समय टाढा भइन् ।
उनै, आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’को टिजर रिलिज भएको छ । यो टिजरमा आलिया मात्रै छाएकी छिन् । आलियाको कामको प्रशंसा सामाजिक संजालमा देखिन्छ । उनले बोलेका संवाददेखि उनको हाउभाउले दर्शकको मन छोएको छ । परिवारकै कारणले बलिउडमा आएपनि आलिया अभिनयको खानी भएको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । केही महिना अगाडि मात्र नेपोटिज्मको शिकारमा परेकी आलिया यतिबेला भने सर्वत्र चर्चामा छिन् ।
संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमाथि आधारित छ । सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो । यो चलचित्रले आलियाको अभिनयलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ । बलिउडका पण्डितहरुले यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने विश्लेषण गरेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ