⇒ क्यारोल मूर
राजुले आफ्नो होमवर्क कहिल्यै गर्दैनथ्यो । “कस्तो बोर लाग्छ ।” उसले भन्थ्यो । ऊ जहिले पनि खेलिरहन्थ्यो । उसका शिक्षकहरूले भन्नुहुन्थ्यो, “होमवर्क गरेनौ भने तिमीले केही पनि सिक्ने छैनौ ।” हुन पनि हो, उसलाई केही पनि आउँन्नथ्यो ।
तर उसले के गरोस् ? उसलाई होमवर्क भन्ने बित्तिकै दिक्क लाग्थ्यो ।
एक दिन राजु कोठामा एक्लै खेलिरहेको थियो । कोठाको कुनामा उसको बिरालो खेलौनासँग खेलिरहेको थियो । उसलाई पनि त्यो खेलौनासँग खेल्न मनलाग्यो । उसले अचानक त्यो खेलौनालाई च्याप्प समात्यो । तर त्यो त खेलौना होइन रहेछ । त्यो त खेलौनाजत्रो ख्याक पो रहेछ । उसको जिउ भालुको जस्तो कालो रौँले ढाकिएको थियो ।
राजुको मुठ्ठीमा परेको सानो ख्याक आत्तियो । उसले राजुसँग निहोरा गर्दै भन्यो, “मलाई त्यो बिरालोबाट जोगाऊ । तिमीले जे भन्छौ म मान्छु ।”
उसको कुरा सुनेर राजु छक्कै पर्यो । सेतो भूतलाई मुठ्ठीमा पार्नसक्यो भने भाग्यमानी भइन्छ भन्ने उसले हजुरआमाबाट सुनेको थियो । उसलाई आफ्नो मुठ्ठीमा ठूलो भाग्य परेजस्तो लाग्यो ।
“मेरो सबै होमवर्क यही ख्याकबाट गराउन पाए त सन्चै हुन्थ्यो । होमवर्कमा सबैभन्दा धेरै नम्बर ल्याउन पाए त जाँचमा पहिला हुने थिएँ ।” राजुले बिचार गर्यो । उसको जाँच आउन एक महिनाजति बाकी थियो । उसले ख्याकलाई भन्यो, “लौ मेरो सबै होमवर्क गरिदियौ भने म तिमीलाई छाडिदिन्छु ।”
राजुको कुरा सुनेर त्यो सानो ख्याक आत्तियो । उसले खुट्टा बजार्दै भन्यो, “हे भगवान ! कस्तो आपत आइलाग्यो । जे भए पनि बोलेको कुरा त पूरा गर्नैपर्यो ।”
ख्याकको कुरा सुनेर राजु दंग पर्यो ।
बचनको पक्का त्यो सानो ख्याक राजुको होमवर्क गर्न कस्सियो । उसले राजुको किताब र नोटहरू पढ्न थाल्यो । एकछिन पढेपछि उसलाई समस्या पर्यो । किताबमा उसले नजानेका धेरै शब्दहरू थिए । उसले राजुसँग भन्यो, “तिम्रो होमवर्क त म गर्छु तर तिमीले मदत नगरी हुँदैन । किनभने मलाई कतिपय शब्द थाहा छैन । तिनको अर्थ तिमीले बताइदिनुपर्छ ।”
राजुले पनि खुशीसँग उसलाई मदत गर्छु भुन्यो ।
ख्याकले पढदै जान्थ्यो र बेलाबेलामा राजुसँग शब्दको अर्थ सोध्थ्यो । कुनै शब्दको अर्थ राजुलाई थाहा नभए ख्याकले उसलाई डिक्सनेरी हेर्न लगाउँथ्यो । आधुनिक ज्ञानविज्ञानका शब्दहरू उच्चारण गर्न उसलाई गाह्रो हुन्थ्यो । त्यस्ता विषय राजुले उसलाई सिकाउँथ्यो । कुनैकुनै विषयमा त राजुले पूरै पाठ पढेर उसलाई सुनाउनुपर्थ्र्यो । जे होस् सानो ख्याक आफ्नो काममा इमानदारीसाथ लागेको थियो ।
तर गणितको होमवर्क गर्ने बेलामा सानो ख्याकलाई ठूलै समस्या पर्यो । उसलाई सामान्य जोडघटाउ र गुणाभाग मात्रै आउँथ्यो । गणितका फर्मुुलाहरू उसलाई थाहै थिएन । उसले राजुसँग मदत माग्यो । “मेरो छेउमा बसेर मलाई गणित सिकाउ त । अलिअलि गाइड गर्यौ भने मैले टिपिहाल्छु ।” उसले भन्यो ।
इतिहासको होमवर्क गर्ने बेलामा त्यो सानो ख्याक साह्रै दिक्क भयो । किनकि उसलाई भूतप्रेतको इतिहासमात्रै थाहा थियो । मानिसको इतिहास कत्ति पनि थाहा थिएन । यसैले उसले राजुलाई पुस्तकालयमा गएर इतिहासका किताब ल्याउन लगायो । उसले भन्यो, “यी सबै किताब मैले मात्रै पढ्न सक्दिन । तिमीले पनि पढन सघाउनुपर्यो ।”
यसरी दिनदिनै त्यो सानो ख्याकले राजुको होमवर्क गर्न मेहनत गर्यो । उसले राजुलाई पनि फुर्सत दिएन । नजानेको कुरा सोधिहाल्थो । राती अबेससम्म पढ्थ्यो र राजुलाई पनि सुत्न दिँदैनथ्यो । बिचरा राजु आँखा मिच्दै स्कुल जान्थ्यो । स्कुलबाट र्फकने बित्तिकै सानो ख्याकलाई मदत गर्न बस्थ्यो ।
आखिरमा स्कुलको अन्तिम दिन पनि आयो । होमवर्क पनि सकियो । सानो ख्याकलाई बिदा दिन करै लाग्यो ।
राजुले सबै विषयमा पहिलो श्रेणीको नम्बर पायो । उसका सबै साथीहरू छक्कै परे । उसका शिक्षकहरू पनि दंग भए र उसको तारिफ गरे । उसका आमाबालाई पनि अचम्म लाग्यो । राजुले कसरी यस्तो राम्रो नम्बर ल्यायो भन्ने उनीहरूले थाहै पाएनन् ।
राजुको व्यवहार फेरिएको देखेर पनि उनीहरू छक्क परे । किनकि राजुले आफ्नो कोठा सफा गर्ने, कापी किताब मिलाउने, लुगा स्याहार्ने आदि सबै काम आफैले गर्न थालेको थियो । उसको बोलीबचन पनि नम्र भएको थियो । ऊ अर्कै मानिस भएको थियो ।
सानो ख्याक विदा भएर गइसकेपछि पनि राजुलाई सबै होमवर्क ख्याकले नै गरेको हो भन्ने लागिरह्यो । तर वास्तवमा सानो ख्याकले होइन राजुले नै आफ्नो होमवर्क गरेको थियो ।
000
अनु. विनय कसजू
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ