चौतारा । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगैं सिन्धुपाल्चोकका नौ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीन नगरपालिकासहित छ गाउँपालिकामा निषेधाज्ञा गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखुपाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाबन्देउ देखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ । चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफीदेखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र भोटेकाशी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउदेखि खाडिचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोशी र लिसंखुपाखरको गाउँपालिकाको खाडिचौरदेखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएका क्षेत्रमा अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । अटेर गरी घरबाहिर निस्किए कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जनाए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ