चौतारा । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणका विरामीहरुलाई सेवा दिनका लागि सिन्धुपाल्चोकका एक युवा नेताले आफ्नो निजी सवारीलाई प्रयोगमा ल्याएका छन् ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य एवम् युवा विभाग प्रमुख उजारसिं तामाङ ‘समर’ले चौतारा साँगाचोकगढी नगरपालिकाभर प्रयोग गरिने गरी कोरोना परीक्षण र स्वाव संकलन गर्न जाने स्वास्थ्यकर्मी र समाचार संकलनको लागि सञ्चारकर्मीहरुको लागि निःशुल्करुपमा आफ्नो गाडी प्रयोग गर्न दिएका हुन् । ‘पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज सेवा प्राप्त होस् भनेर त्यसको लागि खटिने स्वास्थ्यमर्की र कोरोनाको महामारीमा समेत सूचना प्रदान गर्दै आईरहेका सञ्चारकर्मीहरुको लागि निःशुल्क गाडीलाई प्रयोगमा ल्याएको हुँ’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका तामाङले ग्लोबलपाटीसँग भने– ‘चालकको रुपमा म स्वयं खटेर सेवा दिँदै आएको छु ।’
अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीको स्वाब संकलन गरिरहेको छ । नगरले सो अभियान सुरु गरेदेखिनै तामाङले आफ्नो गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको कारण कोरोना महामारी रहेसम्म आफूले निःशुल्क रुपमा गाडीमार्फत सेवा दिने उनले बताए ।
जनप्रतिनिधिहरुले सरकारी गाडीलाई कोरोना संक्रमितको लागि प्रयोगमा दिने घोषणा गरिरहँदा तामाङले भने आफ्नो व्यक्तिगत प्रयोगका लागि लिएको गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । उनको यो कार्यलाई स्थानीय नागरिकहरुले प्रशंसा गरेका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ