व्यक्तिको मनोविज्ञान भन्दा समाजको मनोविज्ञान केही फरक हुन्छ । व्यक्ति मनोविज्ञान भन्दा पनि समाज मनोविज्ञान स्थिर प्रायः हुन्छ । अहिले कोभिड महामारीका कारण नेपाली समाजको मनोविज्ञान वैयक्तिक बन्दै गएको छ । भेला भएर चिया खाने, दुखाइ पिराईमा साथ दिने, जन्त जाने, मलाम जाने, विवाह बटुलोमा भोज भतेर गर्ने, गहना र वस्त्र प्रदर्शन गर्ने मनोविज्ञानले गाँजिसकेको नेपाली समाज मनोविज्ञान केही कुष्ठासहित वैयक्तिक स्वार्थमा फर्किइरहेको छ ।
गत साल लकडाउन भएको पर्सिपल्ट राहात बाँड्न र सामाजिक सञ्जालमा तस्बिर हाल्न प्रतिष्पर्धा गर्ने समाजसेवीहरु यसपाला चाईँचुइँ गरेका छैनन् । राहत बाँड्न निस्किएका नेताहरु, लासमाथि झन्डा ओढाएर लासको राजनीति गर्ने दलका अगुवाहरु, मृतकका परिवारमा सुनौलो फ्रेममा समवेदना बोकेर मुस्कुराउँदै समवेदना दिइराखेको तस्बिर फेसबुकमा हाल्नेहरु चुपचाप घरमा थुनिएका छन् । यो महामारीले वास्तविकता बुझ्न समाजलाई अभिप्रेरित गरेको छ । समाज मनोविज्ञान नेपाली समाजको मात्र होइन विश्व समाजको धारणा हो । हरेक विपद्का वेलामा समाजको मनोविज्ञान वुझेर समुदायका व्यक्तिको भावनहरुसँग खेलवाड गरी अफवाह फैलाउने समूह जन्मन्छ । नेपाली समाजमा भने त्यस समूहका सदस्यहरु थन्किएका छन् । अरुका आशमा बाँच्ने बानी परेकाहरु पनि अलमल परेका छन् ।
मागेर समाजसेवा गर्ने ढोंगी पात्रहरु पनि अलमलिएका छन् । सामाजिक सञ्जालमा सक्रिय अफवाह सेनाहरु, चोकचोकमा भेला भएर कुराकानीलाई नै अफवाह बनाएर प्रसारित गर्नेहरु अलमलिएका छन् । उनीहरुका कुण्ठा र वदमासीले समाज अलमलिन पाएको छैन । यो समाजलाई प्राप्त कोभिडको देन हो ।
अफवाहमा अनौठो समाज मनोविज्ञान हुन्छ । अप्रमाणित सूचनाबाट अस्पष्ट स्थितिको भावना बनाउन वा सम्भावित खतरासँग जुध्न समाज मनोविज्ञानको उपयोग भइरहेको हुन्छ । यसबारे कसैले पनि सूक्ष्म दृष्टि राख्न सकिरहेको हुँदैन । यही मौकामा व्यापारी, कालोबजारी, उद्यमीआदिले समाजसँग फाइदा उठाइरहेका हुन्छन् । अहिले माक्र्स कम्पनी, सेनीटाइजार कम्पनी र साबुन कम्पनीले यो भन्दा यो राम्रो भन्दै अफवाह फैलाए जस्तै, केही साधारण जरीबुटी विषयका जानकारले औषधी पत्तो लाए भने जस्तै, केही ज्योतिषीहरुले भविष्य वाणी गरेजस्तै कुरा समाज मनोविज्ञानमा हावि भइरहेका हुन्छ । यस्ता अफवाहहरू विशेष चासोको स्थितिको बारेमा गरिन्छ । हाम्रामा केही वर्ष अघि भुइँचालोलाई लिएर त्यस्तै अफवाह फैलाइएको थियो । केही मान्छेलाई आज भरे यति बजे यस्तो भुइँचालो आउँछ भनेर घर बाहिर सुत्न बाध्य पनि पारिएको थियो । कोभिडलाई लिएर त्यस्तै अनेक धर्मिक र सांस्कृतिक एवम् प्राकृतिक समेत अफवाहको प्रयास भयो ।
यो विज्ञानमा आस्था गरिनसकेको समाजमा अधकल्चा बुजुकहरुले फैलाउने अफवाह हो । झुटहरुले व्यक्तिवा समुदायको दैनिक जीवनलाई असर गर्दछन् । ती असरबाट कालोबजारी, ढोंगी, अवैज्ञानिक एवम् पैसामुखी तत्त्वहरुले समाजबाट फाइदा उठाइरहेका हुन्छन् । समाजको मनोविज्ञान ससाना सूचनातिर आकर्षित हुने, सकारात्मकभन्दा बढी नकारात्मक भावना जगाउने, उत्तेजित संलग्नताका लागि अभिप्रेरित गर्ने, व्यक्तिका परम्परित मनोवृत्ति र कार्यहरूलाई प्रभाव पार्ने खालको हुन्छ । समाज विकासलाई हेर्दा जहाँ अविश्वास बढ्दछ, त्यहाँ अफवाहपूर्ण समाज मनोविज्ञान मौलाउँछ । अफवाहले मुठीभरका व्यक्तिलाई मानोवैज्ञानिक रुपमा सन्तुष्टि हुने भएकोले व्यक्ति यसमा संलग्न हुन्छ । एउटा झुटमा अर्को झुट थपेर आत्मसन्तुष्टि लिन्छ । यो अनिश्चितताको परिणाम हो । अनिश्चितताको अवस्था भएमा मानिसहरूले अफवाह फैलाउँछन् । जबसम्म समाजका मानिससँग समाजमा, देशमा वा संसारमा कुनै घटना वा कुरा कुरा कसरी र किन भइरहेको छ भन्ने बारे थाहा हुँदैन तव अफवाहहरू फैलिन थाल्छन् ।
नेपाली समाजमा राजनीति, समाजसेवा, वैदेशिक रोगजारी, रोग, महामारी, प्राकृतिक प्रकोप, कुनै विषयप्रतिको आकर्षणआदिका ढाडमा नेपाली बुझक्कडहरुले अनेक अफवाह फैलाएर आफ्ना उद्देश्य पूर्ति गर्दै आएकामा यसपटक त्यो अफवाह चिरिएको छ । समाज रोगलाई रोग देख्ने भएको छ । महमारीलाई महामारी मान्ने भएको छ । प्रकोपलाई प्रकोप स्वीकार गर्न सक्ने भएको छ । अरुका कुरा र होहल्लाभन्दा आफ्नो अवस्थामा फर्कने भएको छ । नेपाली समाजको मनोविज्ञान थोरै भए पनि परिवर्तन हुँदैछ । यो अवस्था विश्व समाजमा पनि देखिँदैछ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ