म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सुकीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो ।
गत वर्ष भएको निर्वाचनमा जालसाजी गरेको आरोप लगाउँदै सो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरूसँग राजधानीमा शुक्रबार भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफुहरुले विचार गरिरहेको जानकारी दिएका हुन् ।
“सो पार्टीले अरु पनि अवैधानिक कामहरु गरिरहेकाले त्यो पार्टी विघटन हुनसक्छ,” उनले बैठकमा भने । गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले ८३ सिटमा जित हासिल गरेको थियो । त्यस निर्वाचनलाई सेनाले धाँधली पूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो ।
त्यतिबेलाको निर्वाचन धाँधलीपूर्ण भएकाले फेरि अर्को निर्वाचन गर्नुपर्ने भन्दै म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएको छ । म्यानमारमा सेनाले शीर्ष नेताहरुलाई बन्धक बनाउँदै सत्ता नियन्त्रणमा लिएर अहिले आफै शासन गरिरहेको छ । गत फेब्रअरी १ मा सेनाले शासन हातमा लिएपछि त्यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ । –एएनआई
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ