काठमाण्डाै । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
त्यो अधिकार के हो भन्नेबारे प्रष्ट उनले खुलाएनन् । आज संविधानविदहरूसँग छलफलका क्रममा उनले जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पेको र संघीय संसदको हैसियतले त्यो अधिकार आफूबाट अभिव्यक्त हुने बताए । ‘संविधान र प्रतिनिधि सभा नियमावली अनुसार म चल्नुपर्छ। नेपाली जनताले ३३४ जनालाई सार्वभौम अधिकार सुम्पिएका छन् ।
संघीय संसद्को नेतृत्वको र प्रतिनिधि सभाको सभामुखको हैसियतले त्यो अधिकार मबाट अभिव्यक्त हुनुपर्छ,’ उनले भने– ‘आवश्यक पर्दा देश, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले जनताले प्रदान गरेको अधिकार आवश्यक पर्दा प्रयोग गर्नुपर्छ।’ उनले संविधानमा सबै कुरा लेखिएको नहुने पनि बताएका थिए। संविधान राष्ट्र र राष्ट्रिय हितका लागि भएकोले त्यसलाई केन्द्रविन्दूमा राखेर अगाडि बढ्ने पनि बताए।
संविधान र प्रतिनिधि सभा नियमावलीअनुसार आफू चल्नुपर्ने उनको भनाइ थियो । उनले पूर्वसभामुखहरूसँग र संविधानका विज्ञसँग छलफल गरेकोले अब पार्टीहरू र पत्रकारलगायत सँग पनि छलफल गर्ने बताए । ‘योजना र कार्यक्रम म भन्न सक्दिनँ। पार्टीहरूसँग नै छलफल गर्ने हो। पार्टी शक्तिका संवाहक मात्र होइन पावरहाउस पनि हुन्। जनताको शक्ति पार्टीमा पनि हुन्छ,’ उनले भने।
यसैबीच उनले सबैभन्दा धेरै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले संविधान पालना गर्नुपर्ने पनि बताएका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ