चौतारा । सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन्। आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उनले भर्ना अभियानलाई सफल पार्न सबैमा आह्वान गरेका हुन् । मन्त्रालयले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो ।
कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक विधिबाट पठनपाठनलाई निरन्तरता दिने गरी शैक्षिक सत्र प्रारम्भ गरिएको हो । सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।
केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट आजदेखि विद्यार्थीका कक्षामा अभिलेखीकरण शुरु गरी असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ । विद्यालयले विद्यार्थीको अभिलेखीकरण पूरा गरी आफ्नो नजिकको बिक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अवस्थामा वैकल्पिक विधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनुपर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिक रुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ