मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएको बाढीले हेलम्बु गाँउपालिकाको तिम्बु र चनौटे बजारमा वितण्डा मच्चाएको छ।
अविरल वर्षाका कारण आएको बाढीले ग्याल्थुममा रहेको ट्राउट फर्म, रिसोर्ट बगाएको प्रहरीले जनाएको हो। बाढीबाट ५ जना भन्दा धेरै व्यक्ति बेपत्ता भएको हुन सक्ने आँकलनसमेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हेलम्बुदेखि मेलम्ची मुनीसम्म भागाभाग रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । सडकहरू बगाएको स्थानीयले जानकारी दिए ।
मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिए । तिम्बुदेखि तलतिरको नदिकिनारमा रहेका धेरै घरहरू बगाएको स्थानीय अर्जुन भण्डारीले बताए । अझैसम्म निरन्तर वर्षा भईरहेकोले उद्दार तथा खोजीमा समेत समस्या भईरहेको छ ।
बाढीको कारण मेलम्ची नगरपालिकाको मेलम्ची बजार समेत उच्च जोखिममा रहेको छ । मेलम्चीको आमा ह्याल्मो बसपार्कमा रहेको सबैजसो घर टहरा बगाएको र रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।
मंगलबार साँझबाट मेलम्ची बजारका हजारौं स्थानीय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका जङ्गलमा गएर बसेका छन् । मेलम्ची खानेपानी आयोजनाको मुहानक्षेत्र भन्दा माथि ठूलो पहिरो गएको छ । हेलम्बु प्रहरी चौकीको भवन समेत जोखिममा परेकाले प्रहरी समेत सुरक्षीत ठाउँको खोजिमा भवन छाडेर भागेका छन् । बाढीले नदी किनारका सबैजसो माछा पोखरी बगाएको छ ।
नदी तटीय भेगका नागरिकलाई सुरक्षित ठाउमा जान प्रशासनले अनुरोध गरेको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ