इन्द्रावती र मेलम्ची दिदीबहिनी मिलेर सुन्दर नगरी मेलम्ची र त्यसमाथिका थुप्रै पर्यटकीय क्षेत्रलाई कुरुप बनाएको चारदिन भन्दा बढी भैसक्यो । म परिचयको हिसाबले सानोतिनो पत्रकार, थोरथोरै शिक्षासेवी, अलि अलि गाउँको तुलेगाँडो फुच्चे नेता, सहकारीकर्मी, साहित्यानुरागी र बेला बेलामा मुड चल्दा कलम त त्यस्तै हो किबोर्डको माध्यमबाट आवाज ओकल्ने फेसबुके लेखक । मेलम्ची, हेलम्बु र पाँचपोखरीको यत्रो विनाशमा आजसम्म यो फेसबुकको भित्तामा एक शब्द पोख्ने हिम्मत जुटाउन सकेको छैन ।
भन्छन् पीडा अधिक भयो भने आँसु झर्दैन रे । शायद् त्यो उक्ति म मा लागू भयो वा म आफैं निर्दयी बनें । मेलम्ची विनाशको भोलीपल्ट करिब दश बजेदेखि हरेक दिन दैनिक तीन चार घण्टाका दरले जागिरे झै विनाशमाथि पाइला टेकेर फर्किएको छु । हेरेरमात्र नपुगेर हरेक दिन एकाध फोटाहरु हातेफोनमा कैद गर्न पनि भ्याएको छु तर पोष्ट्याउने साइत जुरेको छैन । मेलम्चीबाटै चल्ने बिजुली बत्ती र त्यतैबाट जोडिएको वाइफाई मध्ये तेस्रो दिनबाट बिजुली त आयो तर वाइफाई फर्केको छैन । एकदुई थान फोटा त डाटा लिएर पनि हाल्न सकिन्थ्यो तर ग्यालरी खोल्ने बित्तिकै मन अमिलो भएर आउँछ । अनि नमीठो मानि मानि के पोष्ट्याउनु त्यसैले जाँगर मारियो शायद् ।
मेलम्चीसंगको मेरो सामान्य सम्बन्ध त करिबकरिब २८ बर्ष पहिले एसएलसी दिन इन्द्रेश्वरी स्कुलमा जाँदा देखिकै हो तर प्रगाढ र आत्मीय सम्बन्ध भने २०६३ सालको अन्त्यतिर एउटा निजी वित्तीय संस्थाको कार्यालय प्रमुख भएर करिब साढे दुई बर्ष त्यहाँका आत्मीय मनहरुसंग बिताएपछि जोडिएको थियोे ।त्यसपछिका प्रायः दिनहरू शैक्षिक, सामाजिक अभियानमा निरन्तर मेलम्चीकै आसपासमा बितिसक्यो । मलाई लाग्छ मेलम्ची त्यसै मेलम्ची बनेको थिएन । त्यहाँका कर्मठ र कुशल मेलम्ची वासीको कठोर मेहनत, योगदान र रगत पसिनाले सिर्जित भएको थियोे । पन्ध्र बर्ष अगाडि जागिरेकोरुपमा मेलम्ची पस्दाको अवस्था, २०७८ असार १ गतेको अवस्था र आजको अवस्था त्यसै त्यसै मन कुडिने रैछ ।
दुई गते बिहानै मेलम्ची पुगियो । दृश्य त अत्यासलाग्दो नै थियो तथापि एक मनले मलाई राहत पनि दियो यत्रो ठूलो विनाशमा मेलम्चीवासीले आफ्ना एकजना पनि प्रियजनहरु गुमाउनु परेन । यसबाटै प्रमाणित हुन्छ कि मेलम्चीवासीको चेतनास्तर कस्तो छ भन्ने । कस्तो एकता र एकमन छ भन्ने । पहिलो दिन कोही साथीहरूलाई भेट्ने साहस आएन । उस्तै गरि भोलीपल्ट पनि भारी मनमात्र बोकेर मेलम्ची पुगियो । टुलुटुलु हेर्नू र भावुक बन्नु बाहेक मसंग कुनै विकल्प पनि थिएन । न मसंग कुनै उपल्लो तहका नेताले दिएको राहतको पोका थियोे न फेसबुकमा फोटो पोष्ट्याउनका लागि अरुसंगबाट उठाएर ल्याएको दुई चार पाकेट खाद्यान्न । त्यसदिन जब एकदुई बाक्सा सामान बाँड्न चारपाँच वटा कारका लाइन मेलम्ची भीड गर्न आइपुगे त्यसपछि भने मलाई मेलम्ची बस्नै मन मरेर आयो । यो देशको बेइज्जत गर्न अरु कोहि नचाहिने भएछ । अब कथित अभियन्ता र युट्युबे पत्रकार भए काफी रैछ ।
मलाई लाग्छ मेलम्ची त्यति कमजोर छैन । क्षति हुनबाट बचेका बाँकी बासिन्दाले मात्रै पनि एक बर्ष मेलम्चीलाई दुई छाक भात खुवाउन सक्छ । अझै त्यसमाथि राजनीतिक दलका कथित कार्यकर्ताको राहत राजनीति देख्दा त लाग्छ तिनीहरु मेलम्चीलाई सहयोग गर्न होइन गिज्याउन र गिजोल्न लागिपरेका छन् । के आफ्ना छिमेकी र वा आमालाई सहयोग गर्न काठमाडौमा नुन चामल लोड गरेदेखि मेलम्ची आइपुग्दासम्म फेसबुकमा दुई चार स्टाटस र लाइभ हाल्नु जरुरी छ ? के मैले मेरी आमालाई आज खिर खान दिए, स्याउ खान दिएँ भनेर फेसबुकमा प्रचार गरिन्छ ? कति मानवीय र आत्मीय मनहरुले दिएका सहयोग जम्मा पारेर राजनीति गर्न सरम छैन है कसैलाई ?
सक्नुहुन्छ सकेको सहयोग पुनःस्थापना र पुन निर्माणका लागि कोष खडा भएको छ त्यसमा गर्नुस् । नत्र मजस्तै परबाट टुलुटुलु हेर्नुस्, आँसु खसाल्नुस्, जानुस् । स्वाभिमानी र कर्मठ मेलम्चीवासीको घाउमा नुनचुक छर्न मेलम्चीमा भीडभाड नगरिदिनुस् । मेलम्चीको आत्मसम्मान बचाइदिनुस् । बाढी पहिरो माथि कोरोनाको कहर नथपिदिनुस् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ