१. शोध परिचय
१.१ विषय परिचय
थामी समुदायका मानिसहरूले आफूलाई ‘थाङ्मी’ भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन् । उनीहरू आफ्नै भाषा थाङ्मी खाम बोल्ने गर्दछन् । २०६८ सालको जनगणनाअनुसार यस समुदायको जनसंख्या २८ हजार ५८४ रहेको छ ।
प्रस्तुत शोधकार्यमा थामी भाषा र यसले आर्जन गरेको परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, कृषि तथा यसको उपयोगिताको बारेमा अध्ययन गरिएको छ । थामी समुदायको ज्ञान र सीपको पुस्तान्तरण प्रक्रिया र पुस्तान्तरणमा देखापरेका समस्या, यस समुदायको भाषा के–कसरी प्रयोग गर्दा उद्यमशीलता अभिवृद्धि भयो भएन, राजनैतिक परिवर्तनले थामी समुदायको जीविका र संस्कृतिलाई के कस्तो टेवा पुग्यो, भाषा तथा संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि यो समुदाय वा समुदायका अगुवाबाट वा अरु कसैबाट कुनै पहल भयो भएन लगायतका पक्ष पनि प्रस्तुत शोधको अनुसन्धेय विषय रहेको छ ।
१.२. समस्या कथन
यस अध्ययनका मूलभूत समस्यालाई बुँदागत रूपमा यसरी प्रस्तुत गरिएको छ ।
(क) थामी जातिको पृष्ठभूमि, परिचय, विशेषता, बसोबास क्षेत्र, जनसंख्या, भाषा, कला, संस्कृति, ज्ञान, सीपमा देखिएको समस्याको पहिचान गर्न कठिनाई ।
(ख) थामी भाषाले आर्जन गरेको परम्परागत ज्ञानमा आधारित उद्यमशीलता, त्यसको कृषिसँगको सम्बन्ध, उपयोगिता र वर्तमान अवस्थाको बारेमा खोजी गर्न ती समुदायमै पुग्नुपर्ने ।
(ग) थामी समुदायको ज्ञान, सीपको पुस्तान्तरण प्रक्रिया र पुस्तान्तरणमा देखापरेका समस्यापहिचान गर्न स्रोत साधनको सीमितताको बीच गर्नुपर्ने ।
(घ) राजनैतिक परिवर्तनले थामी समुदायको जीविका र संस्कृतिलाई टेवा पु¥याएको छ कि छैन, भाषाको संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका निकायहरूको भूमिका के कस्तो छ भन्ने विषयमा तथ्य संकलनको पहुँचमा बाधा आउनु ।
१.३. अध्ययनको उद्देश्य
थामी भाषा र यसले आर्जन गरेको परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, कृषि तथा यसको उपयोगिताको अध्ययन नै यस शोधकार्यको मूल उद्देश्य हो । यस शोधकार्यका निम्नलिखित उद्देश्यहरू रहेका छन्:
क) थामी जातिको पृष्ठभूमि, परिचय, विशेषता, बसोबास क्षेत्र, जनसंख्या, भाषा, कला, संस्कृति, ज्ञान, सीपको अध्ययन गरी लिपिबद्ध गर्नु ।
(ख)थामी भाषाले आर्जन गरेको परम्परागत ज्ञानमा आधारित उद्यमशीलता, कृषि कार्य, ज्ञान, सीपको पुस्तान्तरण प्रक्रियामा देखापरेका समस्या पहिल्याउनु ।
(घ) भाषाको संरक्षणका लागि राज्यका निकायहरूको भूमिका र राजनैतिक परिवर्तनले थामी समुदायको जनजीवनमा पारेको प्रभावका पक्षलाई उजागर गर्नु ।
१.४ अध्ययनको औचित्य
थामी जाति लोपोन्मुख अवस्थामा रहेको सीमान्तकृत समुदाय हो । आफ्नो जातिय अस्तित्व र पहिचान भएर पनि संकटबाट गुज्रिरहेका थामी जाति नेपालको ३७ जिल्लामा बसोबास गरिरहेको देखिन्छ । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायत केही जिल्लामा बाक्लो वस्तीमा रहेका थामी जाति विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनमा अग्रमोर्चामा देखिए पनि अहिलेको अवस्थामा उनीहरूको स्थान अत्यन्त नाजुक छ । पञ्चायती शासन विरुद्ध पिस्कर हत्याकाण्डमा इले थामी र वीरबहादुर थामीले देखाएको वीरताको इतिहास, ०४६ सालको आन्दोलनमा प्रजातन्त्र प्राप्तिको लागि थामी समुदायले गरेको योगदानका साथै ०५२ सालदेखि १० वर्ष चलेको सशस्त्र संघर्षमा यो जातिको योगदान स्मरणीय छ ।
यसरी आन्दोलन र परिवर्तनको सवालमा उनीहरू लागिपरेको भएपनि आर्थिक, भौतिक, सामाजिक र राजनैतिक अवस्थामा उन्नति गर्न सकेको पाइँदैन । यसको कारण के हो ? प्रश्न गम्भीर छ ।यस शोधपत्रमा थामी जातिय उत्थानमा रहेका समस्या, उनीहरूको भाषा, कला, संस्कृति, ज्ञान, सीप, उद्यमशीलताको पहिचान गर्नु अत्यन्त आवश्यक भएकोले तिनको समस्या र समाधानको विषयवस्तुलाई केलाएर यो अध्ययन गर्न खोजिएको छ ।
१.५ पूर्वप्रकाशित कृतिहरूको समिक्षा
थामी जातिबारे न्यून मात्रामा मात्रै अध्ययन अनुसन्धान भएको पाइन्छ भने एकाध कृतिहरू पनि प्रकाशन भएका छन् । यस क्रममा तीनवटा शब्दकोष प्रकाशित भएको पाइन्छ ।
तीमध्ये भारतको दार्जालिङमा जन्मिएर त्यतै बसोबास गरिरहनु भएकी सुमित्रा थामीद्वारा लिखित थामी भाषाको शब्दकोष– २०७३ मा ५ हजार शब्दहरू समावेश छन् । २५० पृष्ठको शब्दकोश थामी समाज दार्जालिङले प्रकाशन गरेको हो । अर्को थामी नेपाली–अंग्रेजी शब्दसंग्रह जापानिज एजुकेसनल भोलेन्टियर्स (जेभ) का टाडायोशी यामामोटो र शुएयोसी तोबाको सल्लाह र सहयोगमा सुस्पा शैक्षिक विकास समितिले प्रकाशमा ल्याएको हो । यो संग्रहमा थामी भाषाका २ हजार ५ सय शब्दलाई अर्थाइएको छ । गोपाल थामी र उनका सहयोगी भक्तबहादुर, बृषबहादुर र कालीमैया थामीले संकलन गरेको थाङ्मी भाषालाई अंग्रेजीमा अनुवाद दिनेशराज सिवाकोटीले गरेका छन् ।
अर्को ‘नेपाली–थामी–अंग्रेजी शब्दकोश (सन् २००४) मार्टिन चौतारीबाट प्रकाशित छ । यो शब्दकोश वीरबहादुर थामीको सहयोग लिएर बेलायती नागरिक मार्क टुरिनले तयार पारेका हुन् । टुरिनले सन् १९९६ देखि शब्दकोष तयार पार्न थालेको भूमिकामा उल्लेख गरेका छन् । थामी भाषामा पीएचडीको शोधकार्य तयार गर्न तल्लीन टुरिनले मेहनतका साथ प्रकाशमा ल्याएका यो शब्दकोशमा नेपाली शब्दलाई थामी र अंग्रेजीमा अनुवाद गरिएको छ ।
शिवाकोटी प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित थामी जातिको परिचय,प्रा.डा. प्रेम खत्रीद्वारा लिखित नेपालका जातिय संस्कार र पदमबहादुर थामीद्वारा लिखित थाङ्मी भाषाकारीसहित ३ पुस्तक पनि प्रकाशित छन् । यसै गरी आदिबासी जनजाति सम्बन्धी महासन्धी १९९८ लाई थामी भाषामा अनुवाद गरिएको कृति र नेपाल थामी समाजले प्रकाशित गरेका दुई वटा बुलेटिन समेत हाल थामी भाषा संस्कृतिलाई उजागर गर्ने सामग्रीहरू हुन् ।[१] तिनै पूर्व प्रकाशित कृतिहरूसमेत यस अध्ययनको द्वितीयक सामग्रीका रुपमा प्रयोग गरिएको छ ।
१.६ शोधको सीमाङ्कन
अति सीमान्तकृत समुदायमध्ये एक थामी जातिको मातृभाषा, परम्परा, मान्यता, ज्ञान, र सीपहरूलाई लिएर यो अध्ययन केन्द्रित छ । थामी जातिको मूख्य बसोबासको क्षेत्र सिन्धुपाल्चोक, दोलखा र अन्यत्र बसोबास रहेका जिल्लाको स्थानीय जनजीवनलाई आधार मानेरअध्ययन गरिएको छ ।
१.७. शोधविधि
प्रस्तुत शोधकार्यमा विषयवस्तुलाई मध्यनजर गरी सामाजिक सिद्धान्तलाई आधार बनाएर शोध समस्याको समाधान गरिएको छ । यसका साथै शोधपत्रलाई स्थलगत अध्ययन, पुस्तक अध्ययन, अन्र्तरवार्ता र प्रत्यक्ष कुराकानीमा आधारित रही विश्लेषणात्मक पद्धतिद्वारा प्रस्तुत गरिएको छ ।
(क) स्थलगत अध्ययन
प्रस्तुत शोधकार्यमा मुख्यत सिन्धुपाल्चोक र दोखलामा थामी जातिको बसोवास रहेको क्षेत्रको स्थलगत भ्रमण तथा अवलोकन गरिएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने थामी जातिका अगुवाहरूलाई प्राथमिक स्रोतको रुपमा लिइएको छ ।
(ख) पुस्तकालय अध्ययन
प्रकाशित पुस्तक, पत्रपत्रिकामा प्रकाशित लेख रचनाहरूको अध्ययन गरी त्यसको सहयोग लिईएको छ ।
(ग) अन्तर्वार्ता र प्रत्यक्ष कुराकानी
सोधकार्य गर्दा थामी जातिका अगुवा, भाषा संस्कृतिका अभियन्ता, बुढापाका तथा प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरी अन्तर्वार्ता लिइएको छ ।
यसका साथै प्राप्त सामग्रीहरू, स्रोतव्यक्ति, समुदायको फोटो खिचेर संकलन पनि गरिएको छ ।
१.८ शोधपत्रको रूपरेखा
प्रस्तुत शोधपत्रलाई विभिन्नपाँच परिच्छेदमा विभाजन गरी सङ्गठित र व्यवस्थित गरिएको छ ।
पहिलो परिच्छेदमाशोध परिचय दिने क्रममाविषयको परिचय, समस्याकथन, उद्देश्य, औचित्य, पूर्वप्रकाशित कृतिहरूकोसमिक्षा, सीमाङ्कन, विधि र शोधपत्रको रुपरेखा प्रस्तुत गरिएको छ । दोश्रो परिच्छेदमाथामी जातिको परिचय दिइएको छ । यस परिच्छेदमा थामी जातिको परिचय दिने क्रममा उनीहरूको बसोबास क्षेत्र, जनसंख्या, विशेषता, भाषा र शिक्षाका अवस्थाका बारेमा पनि जानकारी दिइएको छ । यसका साथैसंस्कृति, थामी समुदायबाट उच्च तहमा पुगेका व्यक्तिहरू, थामी समुदायको आमसञ्चारमा पहुँच जस्ता पक्षलाई पनि यस परिच्छेदमा केलाइएको छ ।
परिच्छेद तीनमा थामी जातिको परम्परागत ज्ञान, उद्यमशीलता र उपयोगिता प्रस्तुत गरिएको छ । खास गरी थामी समुदायका परम्परागत ज्ञान, उनीहरूको उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, कृषि तथा यसको उपयोगिताका साथै यस समुदायका प्रतिनिधि व्यक्तिहरूको अन्र्तवार्ता र मूल्य मान्यता यस परिच्छेदमा अटाएका छन् । चौथो परिच्छेदमाथामी जातिको उत्थानमा देखिएका समस्या र समाधानको चर्चा गरिएको छ भने अन्तिम अर्थात पाँचौ परिच्छेदमा शोधपत्रको उपसंहार तथा शोधकार्यको निष्कर्ष पेश गरिएको छ । अध्ययनको अन्त्यमा स्वाभाविकरुपमा सन्दर्भ सूची राखिएको छ ।
२. थामी जातिको परिचय
२.१ परिचय
नेपाल सरकारले नेपालका विभिन्न ५९ जनजातिलाई आदिवासी जनजाति भनेर वैधानिकरुपमा प्रमाणित गरेको छ । आदिवासी जनजातिहरूलाई पनि सरकारले ५ वर्गमा छुट्याएको छ । तीमध्ये थामी अतिसीमान्तकृत वर्गमा पर्ने आदिवासी जनजाति हो । राज्यका विभिन्न निकायमा केन्द्रस्तरसम्मको पहुँच नहुँदा थामी जाति अति सीमान्तकृत वर्गमा रहन बाध्य छ । [२]
थामी जातिको आफ्नै वेशभूषा, भाषा, रीतिरिवाज र संस्कार/संस्कृति छ । इतिहासअनुसार थामी जातिको उत्पत्ति दोलखा जिल्लाको सुस्पाको राङ्राङ्थली भन्ने ठाउँबाट भएको हो ।[३] बुढापाका, स्थानीय बुद्धिजिवी, धार्मिक गुरुहरूको भनाई र विभिन्न लेख, समाचारहरूले पनि यसै तथ्यलाई सन्दर्भका रुपमा लिएर उल्लेख गर्ने गरेका छन् ।
सन् १३२६ मा तुघलक सेनाले आक्रमण गरी सिमरौनगढ राज्य ध्वस्त पारेपछि त्यहाँबाट बाँचेर आएका यापति, सोनारी र उके, वेती यिनै दुई जोडीलाई नै थामी जाति उत्पति गर्ने जोडी भनेर किंवदन्ती प्रचलनमा मानिएको स्थानीय वृद्ध भानुदास थामीको भनाइ छ । उनका अनुसार त्यति बेलैतिर दोलखा शहरको हेरालुले सुष्पाहुँदै बगेको खोलाबाट दाउराका ठुटा बगाएर ल्याएको देखी माथि मान्छेको बस्ती छ कि भनी खोजी गर्दा यापित र सोनारीलाई भेटेको भन्ने भनाइ पाइन्छ । यापित र सोनारी सिमाङघाट, कुमाङघाट हुँदै आएर राङ्राङ्थलीमा थामिएर बसेकोले थामी जात रहन गएकोहो । यापित र सोनारीका आठ छोरी र सात छोरा रहेकोमा नजिक अरू कुटुम्ब नभएकोले सात छोरासँग सात छोरीको विवाह गरिदिएको भन्ने किम्वदन्ती समेत पाइन्छ । एक छोरीलाई भने अरू कसैले गर्भधारण गराएको र त्यो छोरीबाट जन्मिएको सन्तानलाई थामीको रोइनी थर भनिएको र उनीहरू थामी जातिमा सानो जाति मानिने भानुदास बताउँछन् ।[४]
लिखित इतिहास नभएकोले गर्दा परम्परागत कुरालाई मान्दै आएको थामी जातिका अगुवा एवम् अधिवक्ता टहल थामी बताउँछन् । ‘थामीले मान्ने र सबैले दीगोसित राख्न सकिने धर्म, रीतिरिवाज, संस्कार र संस्कृतिसहितको आफ्नो परिचय हाम्रा पुर्खाले हामीलाई दिएर गएनन् । केवल मुख–मुखमा भनेर गए’, अधिवक्ता थामीभन्छन् । थामी जातिको बिस्तार सोही स्थानबाट स्यु–स्यु राजा, स्यु–स्यु रानी, यापती छुकु र बेते आजी नामक पुर्खाहरूबाट भएको हो भन्ने जनविश्वास रही आएको छ ।[५]
थामी समुदायका मानिसहरूले आफूलाई ‘थाङ्मी’ भन्न रुचाउँछन् । तर थरको प्रयोग गर्दा भने उनीहरूले थाङ्मी लेख्दैनन्, थामीनै लेख्छन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू बोन या किराँत भन्ने गर्छन् । पुस्तौंदेखि नेपालमा बसोबास गर्दै आएका थामीहरू प्राचीनकालदेखि नै किराँत धर्मावलम्वी रहेको तथ्य विदेशी अनुसन्धानकर्ताडा.मार्क टुरिनले पनि पुष्टि गरेका छन् ।[६]
थामीहरूको संस्कार किराँतसँग मिल्दोजुल्दो हुन्छ । थामी जातिले विशेष गरी भूमेको पूजा गर्ने र हरेक वर्ष उधौली उभौली पर्व मनाउने गर्दछन् । एकअर्कामा सद्भाव, सहिष्णुता र प्रेमको भाव राख्दैथामीहरूले हिजोआज माघे संक्रान्ति, असार १५, दशैं, तिहार, जनैपूर्णिमा, चैते दशैं, फागु पूर्णिमाजस्ता पर्वहरूसमेत मनाउने गरेको पाइन्छ । यिनीहरूको मूख्य पेसा कृषि हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस÷चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ ।
थामी जातिको संस्कृति परम्परामाकेहीनितान्त मौलिकता पनि छन् । तर पनि आजसम्म न सरकारले यसलाई संरक्षण गर्ने गमर्को गरेको छ,न त थामी जातिका व्यक्तित्वहरूले नै ती मौलिकताको संरक्षणका लागि समुचित प्रयास गरेका छन् । थामी भाषा अध्येता एवम् लेखक विकेश थामीका अनुसार, फलस्वरुप आज रोजिरोटीको लागि युवा शहर पसेका छन्, गाउँघर प्रायः शून्य छ र आफ्नो भाषा बोल्ने क्रम घट्दै गएको छ ।[७]
थामी जातिको इतिहासका कथा–व्यथाहरू अति नै मार्मिक छन् । विगतमा थामीहरू गाउँघरका हुने खाने वर्गद्वारा शोषित थिए । हुने खाने वर्गलाई देवताझैं मान्ने थामी जातिको संस्कार नै बनिसकेको थियो । अशिक्षा, गरीबी र अति न्यून चेतनाका कारण पछाडि परेकाथामी समुदायमाछोरीलाई पढाउनु हुँदैन भन्ने अन्धविश्वासले पनि जरा गाडेको थियो ।अहिले भने छोरा र छोरी समान हुन् भन्ने चेतनाको विकास भएको पाइन्छ । आफ्नो हक, अधिकार प्राप्तिका लागि अगाडि बढ्नुपर्छ भन्ने भावनाको पनि विकास भएको छ । यसैक्रममा आजका थामीहरूकला, पत्रकारिता, शिक्षा, राजनीतिका साथै सामाजिक संघ, संगठनमा पनि सक्रियरुपमा सहभागी हुने अवस्थाबनेको छ । अझैपनि सरकारी निकाय र राज्यका विभिन्न अङ्गमा थामी जातिको उपस्थिति शून्यप्रायः नै रहेको छ ।
२.२ बसोबास क्षेत्र
दोलखा जिल्लाको राङराङथलीलाई प्रमुख किपट थलोमानिनेथाङमीहरूको मुख्य बसोबास क्षेत्रवागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक र रामेछापलाई मानिन्छ। दोलखाको आलम्पु, लापिलाङ, थामी चागु, टुङापा, सिन्धुपाल्चोकको चोकटी, पिस्कर र रामेछापको डढुवा थामीको घनाबस्ती भएका ठाउँ हुन् । यीबाहेक नेपालका ३७ जिल्लामा उनीहरूको बसोबास छ ।नेपालका५८ नगरपालिकामध्ये २७ नगरपालिकामा थामीहरूको बसोबास रहेको देखिन्छ ।[८]
सिन्धुपाल्चोकमा चोकटी, घोर्थली, धुस्कुन, पिस्कर, तौथली, राम्चे, कर्थलीजस्ता ठाउँमा यो समुदायको घना बसोबास रहेको पाइन्छ । दोलखाका सुस्पा क्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि गाविसमा थामीहरूको अधिक जनघनत्व रहेको छ । रामेछापका डढुवा, बेताली, प्रीति आदि गाविस र इलाम जिल्लाका गोरखे, नयाँवजार र जोगमाइमा पनि थोरै संख्यामा थामीहरूको बसोबास रहेको छ ।
सिन्धुपाल्चोक र दोलखा जिल्लामा यस समुदायको मूख्य र घना बसोबास रहे पनि नेपालका विभिन्न ३७वटा जिल्लामा उनीहरूको बसोबास रहेको छ । ती जिल्ला दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, ओखलढुङ्गा, उदयपुर, सल्यान, दैलेख, प्युठान, दाङ, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, प्युठान, संखुवासभा, भोजपुर, सुनसरी, झापा, सोलुखुम्बु, गोर्खा, कास्की, लमजुङ्, स्याङ्जा, गुल्मी, खोटाङ, कपिलवस्तु,नवलपरासी, रूपन्देही, अर्घाखाँची र पाल्पा हुन् । नेपालका साथै यो जातिको बसोबास भारतको दार्जालिङ, सिक्किम, गान्तोक, कर्णाटक र चीनको सिजुवान, खम्पा क्षेत्र र भुटानको पारो क्षेत्रमा पनि रहेको छ । उनीहरू नेपालबाटै ती ठाउँहरूमा गएको अनुमान गरिएको छ तर छिटपुट रूपमा नेपालका ७३ जिल्लामा थामीहरू रहेका छन् ।[९]
२.३ मौलिकता
महिला र पुरुषको समानान्तर थर हुनु थामी जातिको मौलिक र रोचक विशेषता हो । अर्थात्, थामी महिला र पुरुषको पहिचानका छुट्टाछुट्टै थरहुन्छन् । जुन थर आमाको छोरीमा र बाबुको छोरामा प्रसारित हुन्छ । उदाहरणको लागि एउटा थामी परिवारमा श्रीमानको थर थाङथोङ छ र श्रीमतिको थर आल्तासिरि छ भने उनीहरूबाट जन्मने छोराको थर थाङथोङ हुनजान्छ भने छोरीको थर चाहिँ आल्तासिरि रहन्छ ।
उनीहरूको विवाह गरिसकेपछि पनि थर परिवर्तन हुँदैन । घरमुलीको रूपमा महिलालाई मानिनुले पनि थामीमा लैङ्गिक विभेद नरहेको देखिन्छ । थामी महिलाहरूको २५ भन्दा बढी थरहरूमध्ये आल्तासिरि, आपानसिरि, यान्तेसिरि, खाट्टासिरि, जिमिसिरि, शिवासिरि, चाल्दासिरि मूख्य हुन् । पुरुषहरूको चाँहि थाङथोङ, आक्याङमी, दुम्सीपेरे, मसानथी लगायत १८ वटा थर हुने यापित सोनारी संरक्षण तथा सम्बद्धन समाज नेपालका संस्थापक सचिव दिलिप थामीले जानकारी दिए ।[१०]
२.४ जनसंख्या
२०६८ सालको जनगणनाअनुसार यस समुदायको जनसंख्या २८हजार ५८४ रहेको छ । जसमध्ये १४ हजार ७१३ महिला र १३ हजार८७१ पुरुष रहेका छन् । थामीहरूको घना बस्ती रहेको दोलखा जिल्लामा उनीहरूको जनसंख्या १३ हजार ९३६, सिन्धुपाल्चोकमा ३ हजार९९३ र रामेछापमा एक हजार ५११ रहेको छ । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ६३% थामी समुदाय रहेको पाईन्छ ।
२.५ भाषा
थामीहरूले आफ्नो भाषालाई खाम भन्छन् । थामी भाषा नेपालमा बोलिने भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । नेपालको विशेष गरी दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरूमा यो भाषा बोलिन्छ । २०६८ सालको जनगणानाअनुसार थामी भाषा बोल्नेको संख्या २३ हजार ३७१ रहेको छ जसमध्ये ११ हजार ९८३ महिला र ११ हजार ३८८ जना पुरुष रहेका छन् । यो संख्या थामीहरूको कुल जनसंख्याको ८२ प्रतिशतहो । तर, नयाँ पुस्तामा देखिएको भाषाप्रतिको उदासिनताका कारण थाङ्मी खाम भाषा लोप हुने खतरा पनि उत्तिकै छ । यो भाषामा लेख्य परम्पराको विकास नभएको भए पनि पछिल्लो समयमा लेख्य परम्पराको शुरुवात भएको छ ।
२.६ शिक्षा
नेपालकै अति सिमान्तकृत र विपन्न थामी समुदायमा शिक्षाको कमी देखिन्छ । छोरीहरू घाँसदाउरा, मेलापात र घरकै काममा रहने र छोराहरू आयआर्जनको लागि अन्यत्र जाने गरेको कारण पनि यो समुदायमा शिक्षा प्रथमिकताभित्र परेको छैन । अशिक्षा र चेतनाको कमिका कारण थामी समुदाय पछि परिरहेको छ । गरिवीका कारण बालबालिकाहरूले बीचैमा विद्यालय छाड्नुपर्ने बाध्यता पनि देखिन्छ । पछिल्लो समय केहि स्थानीय तहले थामी समुदायका सम्पूर्ण बालबालिकाहरूको पढाई खर्च व्यहोर्ने जनाउँदै आएका छन् । शिक्षा मन्त्रालयको मातृभाषा पाठ्यक्रम निर्देशिका अनुरुप प्राथमिक तहमा थामी भाषाको पाठ्यक्रम पनि निर्माण गरिएको छ । तर पनि शिक्षामा थामी समुदायले प्रगति गर्न सकेको छैन । युवा विश्लेषक एवम् लेखक विकेश थामीका अनुसार, अहिलेसम्मथामी समुदायका कुल जनसंख्याको एक प्रतिशतले मात्रै उच्च शिक्षा अध्ययन गरेको छ ।[११]
२.७ संस्कृति
आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या)को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन् । सिन्धुपाल्चोकका थामीहरूको रहनसहन, परम्परा रीतिरिवाज, थर, गोत्र र भाषाको केही लवज दोलखाका भन्दा अलि फरक रहेको पाइन्छ ।
थामी जातिको संस्कृति परम्परामाकेही मौलिकता पनि छन् । जस्तैः बाबुको विवाह नभइकन अथवा भागी विवाहबाट सन्तान भएमा सन्तानको विवाहको आघिल्लो दिन बाबुको विवाह गर्नुपर्ने हुन्छ भने विवाह नभई मृत्यु भएमा किरिया (घेवा) गर्दा पञ्चेबाजा बजाएर विवाह फुकाउनु पर्छ । यस्ता थुप्रै बाहिर नआएका संस्कारहरू थामी जातिभित्र रहेका छन् । थामी समुदायको जुनसुकै शुभ कार्यमा टोटोलाको फुलको अत्यावश्यक हुन्छ जसलाई थामी भाषामा बालदाने भनिन्छ । थामी जातिका थुप्रै बाजाहरूमध्ये मेर्कोङ–बाघको हाड बारादेवा पूजाका बेला बजाइने सुरबाजा हो । यसबाहेक पिचालिङ, टाके, थात्रा, ठेङका, बाखाराटाके, डम्फू, मुरली, मुर्चुङगा, बिनायो आदि हुन् ।
थामी संस्कृतिलाई जोगाउन ६३ प्रतिशत थामी समुदाय रहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा थामी संग्राहलय निर्माण सुरु गरिएको छ । सिन्धुपाल्चोक थामी समाजले निर्माण गरेको संग्राहलयको संरचना सम्पन्न हुन लागेको समाजका अध्यक्ष उदय थामीले बताए। संग्राहलयमा थामी जातिको ऐतिहासिक, पुरातात्विक, धार्मिक, मौलिक सांस्कृतिक पक्षलाई समेटिने र थामी समुदायको साझा आस्थाको केन्द्रको रुपमा विकास गरिने सोच रहेको उनले बताए ।[१२] त्यस्तै दोलखाको भीमेश्वर नगरपालिका– १, सुस्पाक्षमावती स्थित राङ्राङ्थलीमा र सिन्धुलीको सिन्धुलीगढीमा पनि थामी संग्रहालय बनाउन सुरु गरिएको छ ।
२.७.१ जन्म संस्कार
यो जातिमा पहिले पहिले घरमै सुत्केरी हुने चलन थियो । अहिले सबै जसो अस्पताल पुग्छन् । बच्चा जन्मेपछि तीन दिनका दिन झाँक्रीआएर गहुँत मन्तर्ने, त्यही गहुँत छर्केर चोख्याउने गरिन्छ । अदुवाको चाना एकथाल, भाले काट्ने, जाँड रक्सी बनाएर आफना दाजुभाईलाई मात्र बोलाएर खाना खुवाउने पनि गरिन्छ । तीन दिनमै सुतक चोखिन्छ ।न्वारान भने ६ महिना, वर्षदिन पछि वा आफनो अवस्था अनुसार विवाह हुनु अगाडिसम्ममागर्नु पर्छ । न्वारान नगरी विवाह गर्नु हुन्न । न्वारानका दिन कुखुराको भाले काट्ने्, रक्सी जाँड खाएर रमाउने गरिन्छ। न्वारन नगरी मृत्यु भएमा मृत्यु संस्कार गर्नुअघि न्वारान गरेर मात्र मृतकको घेवा गरिन्छ । नाबालक भए एकै दिनमा चोख्याइन्छ । यसरी जन्मेका बच्चाको संस्कार गर्ने चलन थामीजातिमा रहेको पाइन्छ ।
२.७.२ विवाह परम्परा
यो जातिमा केटा पक्षबाट केटी पक्षमा कुरा चलाए पश्चात् आमापछिको मामाले कुरो नछिनेसम्म छोरी दिने चलन हुँदैन । टालाङटुलुङ, सगुन ढाल्न निकै कठिन मानिन्छ । कुरा छिनेपछि केटाले केटीको चालचलन बुझ्न र केटीले केटाको आनीबानी बुझ्न एक बर्ष कुराएर मात्र बिवाह तय हुन्छ । बिवाहाको अघिल्लो दिनमा केटा र केटी दुवैको आ–आफ्नो घरमा ग्रहशान्ति गरिन्छ । भोलिपल्ट थामी गुरुआपाको साईतमा बेहुला अन्माउँछन् । बेहुला अन्माउँदा आमाले कचौरामा गाई वा भैँसीको दूध राखेर पियाउने, बाले टोपी लगाइदिनेर मामाले पगरी हालिदिने चलन छ । आँगनमा दिदीबहिनी र चेलीबेटीले शुभकामनासहित बाटो थुन्ने काम हुन्छ । सबै विधि पूरा गरिसकेपछि बेहुलीको घरतिर प्रस्थान हुन्छ । ती विधि निम्नबमोजिम छन्ः
क) स्वयम्बर: बेहुला बेसारले रंगिएको काठको पिर्कामा उभिएर प्रतीक्षा गर्छन् । यहीबेल बेहुलीलेबेहुलालाई माला लगाई दिन्छिन् र सम्बन्ध नजिक भएको संकेत आरम्भ हुन्छ ।
ख) बरनी: बेहुली पक्षका सबै दाजुभाई, बा–आमा र मामाले अब हाम्रो चेली जिम्मा दियौं भनीटीकाटालो गरिन्छ ।
ग) कापुठोले: बेहुलाकोभाईले दाजु–भाउजूलाई तीन फन्को घुमेर टाउको ठोक्काई दिन्छन् ।कापुठोले गर्नुको अर्थ बेहुलाको सदैव बेहुलीसंग मुन्टो जोडियोस् भन्ने हो ।
घ) बोकाइ: बेहुलाले बेहुलीलाई उचालेर दायाँबायाँ तीन पटक सार्ने गर्छन् ।यसको अर्थ बेहुलाले आफ्नो श्रीमतीलाई जस्तोसुकै दुःखमा पनि पाल्नु पर्छ भन्नेहुन्छ ।
ङ) बसाइ: यसमा बेहुलीले उठेको बेहुलालाई तीन पटक कमिजमा तानेर बसाउने कार्य हुन्छ । यसको अर्थ बेहुलीले आफ्नो श्रीमानलाई गलत बाटो हिँड्न नदिने हो ।
च) भराइ: यसमापछ्यौराले छोपी बेहुलाले कलशको पुजा गरेर बेहुलीको सिउँदो भरिदिन्छन् ।यसको अर्थ बेहुलाले आफ्नो जीवन रहुन्जेलश्रीमतीको रक्षा गर्छु भन्ने हो ।
छ) बानाइ: यसमा बेहुलीले बेहुलालाई घलेसो र पगरी लगाई दिन्छिन् भने बेहुलाले बेहुलीको गला र नाडीमा पोते र चुरा लगाई दिन्छन् ।बेहुला र बेहुली एकै सूत्रमा बाँधिनु नै यसको अर्थ हो ।
ज) खुवाइ: दम्पतिले दही चिउरा मुस्छन् र झुक्याएर एकले अर्कोलाई खुवाउँछन् । यसको अर्थ दुःख बिरामी हुँदा एकले अर्कोलाई हेरचाह गरेर तन्दुरुस्त बनाउँछु भन्ने हो ।
झ) खेलाइ: चरेसको थालमा अमला राखेर दुबैले तीन घडी (३ मिनेट जति) खेलाउँछन् । यसकोअर्थ जस्तोसुकै परिस्थितिलाई पनि मिलेर सामना गर्ने भन्ने हो ।
सबै विधि सकेपछि रातभर आँगन पोलेर जुहारी सुरु हुन्छ भने बेहुलाकोमा रत्यौली खेलिन्छ । बिहान थामी गुरु आपाको साइतमा बेहुली अन्माउने कार्य हुन्छ । पुनः ज्वाइँ छोरीलाई, बा–आमा, दाजुभाइ, मावलीले टीकाटालो गरी बिदा गर्दछन् । थामी समुदायमा बेहुला अन्माउँदा ‘नाचन मेरी मारुनी’ भन्दै ख्याली गीत गाईन्छ भने बेहुली अन्माउँदा ‘बाह्रै हाते जाउँ’ भन्दै ख्याली गाउँदछन् ।
२.७.३ मृत्यु संस्कार
थामी जातिमा मान्छेमरेको तेह्रदिनभित्रै मृतकको नाममा बाटो, धारा, कुवा, साँघु, पँधेरा, चौतारा आदिमध्ये एउटा सबै मिलेर बनाउने गर्दछन् । निर्माणकार्य सकिएपछि एउटा शिला बनाई राखिन्छ । अहिले पनि थामी समुदाय वरपर त्यस्ता संरचनाहरू ठाउँ ठाउँमा देख्न पाइन्छ । घरमा मानिस मरेपछि मास, सिस्नु, दूध खान नहुने चलन छ तर जाँड रक्सी भने खान हुन्छ । दश दिनको बेलुकाबाट तीन दिन नून बार्ने, तीन दिनपछि नून फुकाउने गरिन्छ । मानिस मरेको एघार दिनको दिन सबै दाजुभाइ बसेर मृतकको नाममा के बनाउने, कहां बनाउने भनेर सल्लाह हुन्छ । चौतारा, साँघु, बाटो, धारा आदि के बनाउने कहाँ बनाउने भनेर निर्णय गरिन्छ । यो सल्लाह गर्ने दिन आफन्त दाजु भाइहरूले रक्सी लिएर मृतकको घरमा आउनु पर्दछ । १२औं दिनको दिन झांक्रीलाई बोलाएर सल्लाह र निर्णय भए अनुसारको काम थालिन्छ । त्यसै ठाउँमा किरियापुत्रीको कपाल खौरिन्छन् । चेलीबेटीहरू उक्तदिन सोली, डालो, थुन्सेमा रक्सी लिएर आउँछन् । १२ दिनकै बेलुकाबाट घरमा घेवाको काम सुरु हुन्छ ।
मृतकको ज्वाईंले सेले बुनेर त्यसमा तीन पाथी कोदो, तीन पाथी मकै, सातमाना चामल, ओखर दश गेडा, सक्दो भेटी, जाँड रक्सी राखेरसेतो कपडाले ढाकेर ल्याउनु पर्छ । झाँक्रीले चेखेत्था गरिसकेपछि यसैदिन बेलुका मन्त्र पढिन्छ । १३ दिनको बिहान एक माना दूध ल्याइन्छ । त्यही दुधमा चामल राखेर पिण्ड बनाइन्छ । त्यसदिन धर्म तोरड भनेर चेलीबेटीले जाँड, रक्सी बाख्रा, कुखुरो लिएर आउँछन् । त्यही ल्याएको बाख्रो, कुखुरो काटेर रातभरि रक्सी जाँड खुवाउने गरिन्छ । दाजुभाइले भने १३ दिनका दिन बिचारका रुपमा एक माना चामल र तरकारी ल्याउँछन् । त्यसलाई त्यही दिन पकाइन्छ । त्यसदिन फर्सी भने अनिवार्य चाहिन्छ । फर्सी पकाएर घरको मुली वा जेठो छोराले पिन्डमा चढाई सेलाउँछन् । सबै चेलीबेटीले पनि देब्रे हातले पिन्डमा जल चढाउँछन् । भलेतोको पातमा (मम्परा आजा, थामी भाषामा) भात राखेर दाजुभाइ चेलीबेटीले दोबाटोमा सेलाउँछन् । त्यसदिन घरमा पाकेको सबैकुरा भोज प्रसादका रुपमा खाइन्छ ।
दाजुभाइको बीचमा नुन चोख्याउने भनेर त्यसदिन पकाएको मासु केही काँसको डबकामा झिकेर राखिन्छ । झाँक्रीले तन्त्रमन्त्र गरी सबैलाई एक एक बटा चोक्टा दिएपछि नून चोखिएको फुकेको मानिन्छ । उक्त दिन आफ्नै दाजुभाइलाई भने घरभित्र विशेष रुपमा खाना खुवाइन्छ । नून चोखिएपछि बत्ति बालिन्छ र जम्मा भएकाहरूले नाचगान शुरु गर्दछन् । बाजाका रुपमा झ्याली, झ्याम्टा, डम्फु, ढ्याङ्ग्रो,मादल बजाएर रातभर नाचिन्छ । बत्तीबाल्न बसेकाहरूले भोलिपल्ट महादेवथान वा धारामा लगेर बत्ति सेलाउँछन् ।घरमा आएका सबैलाई मृतकका आफन्तले टीका लगाई भेटी दिएर सगुन खुवाएपछिविदागरिन्छ । त्यस पछि पनि जाँड रक्सी भए अझै भेला भएका मानिस वसेर रमाइलो गर्छन् । १३ दिनको काम पश्चात ६ महिनामा, वर्षदिनमा, दुई वर्षमा र तीन वर्षसम्म महादेव मंदिर, नदीका तिरमा वा घरमै बत्ती बाल्ने गरिन्छ ।
२.८ उच्च तहमा पुगेका थामीहरू
थामी समुदायका व्यक्तिहरूकम मात्रामा मात्रै राज्यको उच्च तहमा पुगेका पाइन्छन् । उनीहरूको सूची निम्न अनुसार रहेको छ –
– चुनबहादुर थामी, संविधान सभा सदस्य २०६४
– बिनकुमार थामी, अध्यक्ष, कालिञ्चोक गाउँपालिका, दोलखा
– उर्मिला थामी, उपाध्यक्ष, गौरीशंकर गाउँपालिका, दोलखा
– विच्छीकुमार थामी, उपाध्यक्ष, संघीय समाजवादी फोरम, बागमती प्रदेश
– मीरा थामी, कार्यपालिका सदस्य,महालक्ष्मी नगरपालिका, ललितपुर
– पदम थामी, कार्यपालिका सदस्य,विगु गाउँपालिका,दोलखा
– चित्रबहादुर थामी, वडा सदस्य, विगु गाउँपालिका,वडा नं. ८
– सनीमाया थामी, वडा सदस्य, वडा नं. ६, विगु गाउँपालिका
– सुविता थामी, कृषि शाखा प्रमुख, लिखु पिके गाउँपालिका,सोलुखुम्बु
– चमेली थामी, कानुनी सहायक, बाह्रविसे नगरपालिका, सिन्धुपाल्चोक
– श्रीमाया थामी, असिस्टेन्ट सब–इन्जिनियर, विगु गाउँपालिका दोलखा
– दिपेश थामी, असिस्टेन्ट सब–इन्जिनियर विगु गाउँपालिका दोलखा
– प्रकाश थामी, रोजगार संयोजक, विगु गाउँपालिका, दोलखा
– रमण थामी, गायक
– मनु थामी, गायिका
– डम्बर थामी अनुपम, सुरेशकुमार थामी, राजकुमार थामी, पदमबहदुर थामी, अन्जिला थामी, लेखकहरू
– माया थामी,थामी समुदायकी प्रथमनायिका
– विकबहादुर थामी, कराँते खेलाडी
२.९ थामी समुदायको आम सञ्चारमा पहुँच
थामी समुदाय अझैं पनि न्यून मात्रामा आम सञ्चारको पहुँच छन् । उनीहरूले प्रयोग गर्ने आम सञ्चारको माध्यम भनेको ग्रामीण भेगमारेडियो, टेलीफोन हो भने, सहरी क्षेत्रमा टीभी, पत्रपत्रिका, अनलाईनको प्रयोग गर्दछन् । थामी भाषामै अहिलेसम्म पत्रपत्रिका प्रकाशन भएको पाईन्न ।
२०७६ फागुनमा केहि सञ्चारकर्मी मिलेर ‘थाङ्मी अनलाईन’ सञ्चालन गरेको भएपनि हाल बन्द छ । त्यस्तै थामी भाषाको पहिलो टेलीभिजन कार्यक्रम ‘निको सारे’ हो जुन हालसम्म इन्डिजिनस टीभीबाट साप्ताहिक रुपमा सञ्चालन भइरहेको छ जसको सञ्चालन विकेस थामीले गर्र्दै आएका छन् । यसका अलवा यो समुदायबाट टेकराज थामी, टहल थामी, पातली थामी, लक्ष्मण थामी, सपना थामी विभिन्न सञ्चारमाध्ययममा कार्यरत छन् ।
३. परम्परागत ज्ञान, उद्यमशीलता र उपयोगिता
३.१ विषय परिचय
थामी जाति भनेको प्राकृतिलाई बिस्वास गर्ने प्रकृतिपूजक र भाषा, वेशभूषा, संस्कृति र पहिचान भएको जाति हो । घुमन्ते फिरन्ते युगमा यी जातिका मानिसहरू शिकार गरी बन जङ्गलका कन्दमुल खाई रुखका बोक्रा, जङ्गलमा पाईने सिस्नोबाट ऊन बनाई कपडा, भाङ्रा बनाई लगाउँदथे । यिनीहरू आफूलाई भूमे हो भन्न रुचाउँछन् । भूमेको खास नेपालीमा अर्थ हुन्छः भु = जमिन, पृथ्वी र मे = आगो ।
जब पृथ्वीमा मानव उत्पत्तिसँगै आगो, हावा, पानी पनि मानव जीवन यापनका लागि अपरिहार्य भयो । त्यसैबेला आगोको उत्पत्ति थामी जातिका पू्र्खाले गरेको थामी जातिका अगुवा एवम् नेपाल थामी समाजका संस्थापक अध्यक्ष जगतमान थामी दावी गर्छन् । ‘उनीहरूले आफैं जानेर आए वा कहि कतैबाट सिकेर आए, ढुङ्गे युगमा दुई ढुङ्गा रगड्यो भने झिल्का निस्कन्छ । अनि त्यसैमा जङ्गलमा पाईने झुलोलाई खरानीमा पकाई झुलो खाने गरे’, थामीले भन्नुभयो– ‘यो चलन अझै पनि हाम्रो समुदायमा कहिँ कतै पाईने गरेको कारणले गर्दा आगोको उत्पत्ति थामीहरूले गरेका हुन् भन्न सकिन्छ ।[१३]
३.२ थामी समुदाय परम्परागत ज्ञान
थामी जातिको मुख्य पेसा कृषि हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ । प्राचीन समयमा धेरैजसो र अहिले पनि कहीँकतै थामीहरूले डोको, गुन्द्री र भाङ्ग्रा बुन्ने काम पेशागत रुपमा गर्दछन् । हिजोआज थामी जातिका अधिकांश युवाहरू काठमाडौंमा भित्रिने क्रम बढ्दै गइरहेको छ । वैदेशिक रोजगारीको शिलशिलामा विदेशिने क्रम यो जातिमा समेतदिन प्रतिदिन बाक्लो हुँदै गएको छ जसले गर्दा उनीहरूको सीप, क्षमता, उद्यमशीलताको प्रबर्द्धन हुन सकेको पाइँदैन ।
३.३. थामी समुदायमा उद्यमशीलता
थामी जातिका मानिसहरूले काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने, गुन्द्री र भाङ्ग्रा बुन्ने काम पेशागत रुपमा गर्दछन् । बाँस तथा बेतको चोयाबाट बिभिन्न किसिमका घरायसी समानहरू बनाउने सीप, हलो जुवा बनाउने, हाते पंखा, सुपा बनाउने सीप यिनीहरूमा पाईन्छ । तर ति सीपलाई उद्यमशीलतासँग जोडेर व्यवसायकै रुपमा काम गरेको भने पाईदैन । घरयासी काम टार्नको लागि उनीहरू आफ्नो सीपलाई प्रयोग गर्ने गर्दछन् ।
परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको यी सीपहरू कच्चा पदार्थको अभाव र प्लास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको सामाजिक अगुवाहरू बताउँछन् । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए तर अहिले सबै बिर्सिने क्रममा छ’, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ का सुरेशकुमार थामी भन्छन्– ‘हाम्रो जातिमा सीपको प्रयोग घरायसी कामको लागि मात्रैभयो, यसको प्रबर्द्धन र उद्यमशीतलासँग जोडेर बजारिकरण गर्न सकेनौं ।’ सीपलाई दैनिक चलनचल्तीमा प्रयोग नगरे बिर्सदै जाने उनले बताए ।[१४]
त्यसो त विभिन्न गैरसरकारी संस्थाहरूले सीपलाई उद्यमशीलतासँग जोडेर काम गराउन विभिन्न तालिमहरू लिएर गाउँ जाने गरेका छन् । ‘उहाँहरू आएर तालिम त दिनुहुन्छ तर त्यसलाई चाहिने सामान पाउन मुस्किल छ’, सिन्धुपाल्चोक पिस्करकी कृष्णमाया थामी भन्छिन्– ‘त्यसैले हामीलेत्यतापट्टिध्यान नै दिएनौं ।’ पहिले आफुलाई चाहिने काठ तथा बाँसका समानहरूआफै बनाउने गरेतापनि अहिले त्यस्ता सामान बनाउने सीप छोराछोरीमा नभएको उनी बताउँछिन् ।[१५]
३.३.१ प्रकृतिसँगको अन्तरसम्बन्ध
थामी जाति प्राकृतिलाई विश्वास गर्दछ । यो जाति र प्राकृतिक स्रोतबीच परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रही आएको छ । ऐतिहासिक कालमा यो जातिका मानिसहरू वनमा रहेका फलफुल, कन्दमुल र वन्यजन्तुको शिकारमा निर्भर रही जीवन बिताउने गर्दथे । यसरी मानिसको वृद्धि र विवेक विकास हुँदै ढुङ्गेयुग, पशुपालन, कृषि युग हुँदै औद्योगिक युगसम्म आईपुग्दा समेत खाना, लत्ता कपडा र अन्य सामग्रीका लागि प्राकृतिक स्रोतमा नै निर्भर रहनुपरेको छ । विकासक्रमसँगै मानिसहरू समूह बनाएर वन्यजन्तुको शिकार गर्न अनि काँचै मासु खाने भए । पछि उनीहरू आगोमा पोलेको खाँदा स्वादिलो लागेपछि पोलेर खान थाले । आगो बाल्नको निम्ति दाउराको प्रयोग गर्न थाले । ढुङ्गेयुगका मानिसले ढुङ्गाका हतियार प्रभावकारी नभएपछि विकल्प खोज्दै धातुका धारिला हतियार बनाउन सिके । ढुङ्गेयुगको समापन पछि अब बिस्तारै पकाउनु र अन्य सामग्री राख्नको निमित्त काठ र धातुक भाँडाकुँडा बनाउने प्रचलन बढ्यो । यसरी इतिहास हेर्दै जाँदा यो जातिको मानिसको चाप प्राकृतिक स्रोतमाथि निर्भर बन्दै गइरहेको देखिन्छ । थामी जाति घाँसपात, वन घर आदि बनाउनको लागि प्राकृतिक स्रोतमै निर्भर छन् ।
थामी समुदायको प्रकृतिसँगको अन्तरसम्बन्धका आधारहरूलाई उनीहरूले गर्दै आएको उपभोगको आधारमा निम्न बुँदामा समेट्न सकिन्छः
क. गाँसको प्रमुख स्रोत ।
ख. सुरक्षाको प्रमुख आधार ।
ग. आर्थिक विकासको प्रमुख स्रोत ।
घ. पारिस्थितिक प्रणालीको सन्तुलन ।
ङ. औषधिको स्रोत ।
च. मनोरञ्जनको स्रोत ।
३.३.२ थामी समुदायको पेशा र कृषिमा उपयोगिता
थामी जातिको मूख्य पेशा कृषि हो । कृषि उपज उत्पादनको लागि यो समुदाय प्राकृतिक स्रोतमै निर्भर छ । कृषि बालीका लागि सिंचाइ, मल, घाँसपात, कृषि औजार बनाउन मानिसहरूले पानी, माटो, धातु प्राकृतिक स्रोत प्रयोग गर्दै आइरहेका छन् । कहिँ कतै आधुनिक उपकरणहरूको पनि प्रयोग हुन थालेको पाईन्छ । बस्नको लागि घर र गोठ निर्माण गर्न चाहिने काठपात तथा बिरामी पर्दा औषधी उपचार गर्न चाहिने जडीबुटीको लागि बनजंगलको प्रयोग गर्दै आएका छन् । परम्परागत तवरबाट खेतीकिसानी गर्ने यी जातिका मानिसहरूले वर्षभर खेतीपाती गर्दा पनि आफ्नो उत्पादनले उनीहरूलाई ६ महिना खान पनि पुग्दैन । उनीहरूको मूख्य नगदेवाली आलु, मकै, गहुँ, जौ हुन् । आफूले उब्जाएको मकै र आलुसँग उनीहरू धान साट्ने गर्छन् । पहिले–पहिले उनीहरू दैनिकजसो मकैको आटो र आलु नै खान्थे । भात खान चाडपर्व र विशेष अवस्था जुर्नुपथ्र्यो । तर पछिल्लो समय उनीहरूको भान्छामा दैनिकजसो भात पाक्छ । यसो हुनुमा थामी समुदायका मानिसहरू विस्तारै आयआर्जनमा लाग्नु र आर्थिक स्तर सुधारिदै जानु रहेको विश्लेषक एवम् लेखक विकेश थामी बताउनुहुन्छ ।
थामी समुदायको मूख्य आम्दानीको स्रोतचाहिँ आलु बिक्रीबाट आउने पैसा नै हो । उनीहरूले उत्पादन गरेका आलु नजिकका बजारहरूमा लगेर बिक्रि गर्दछन् । कृषि उत्पादनबाट उनीहरू आम्दानी गर्ने गर्दछन् । कृषि उत्पादनलाई बेचेर उनीहरूले घरखर्च तथा औषधी उपचार गर्दै आएका छन् । पछिल्लो समयमा त यस समुदायबाट वैदेशिक रोजगारीका लागि जानेहरूको संख्या पनि बढ्दै गएको छ । सरकारी जागिर खानेको संख्या भने न्यून छ ।
३.४ प्रतिनिधि व्यक्तिहरूको अन्तर्रर्वाता
१. थामी समुदायको अगुवा भएको नाताले यो समुदायलाई कसरी बुझ्नु भएको छ ?
– यो समुदाय मूख्यगरी खेति किसानी गरी जीविकोपार्जन गर्ने जातिको रुपमा चिनिन्छ । साह्रै सोझो र इमान्दार प्रकृतिको यो जाति जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न तयार हुन्छन् । शताब्दिऔंदेखि पछाडि पारिएको र पर्दैआएको यो जातिमा शिक्षामा कमी देखिन्छ । तर अहिले विस्तारै यो जातिमा चेतनाको विकास हुँदै आएको छ । विभिन्न राजनैतिक आन्दोलनदेखि गणतन्त्रलाई यो स्थानसम्म ल्याईपुर्याउन थामीहरूको पनि केहि हिस्सा र महत्वपूर्ण योगदान छ ।
२. राजनैतिक परिवर्तनमा थामी जातिको भूमिका कस्तो छ ?
– २००७ सालको क्रान्ति, २०३६ को जनमत संग्रह, २०४० को पिस्कर हत्याकाण्ड, २०४६ सालको जनआन्दोलन, २०५२ देखि सुरु भएको माओवादी युद्ध र २०६२/०६३ को जनआन्दोलनमा थामीहरू सदैव अग्रमोर्चामा रहे । उनीहरू आफूले भोग्दै आएको सास्तीबाट मुक्त हुन चाहन्थे । आन्दोलनबाटै अधिकार प्राप्त हुन्छ भन्ने सिद्धान्तमा अधिकांश व्यक्तिहरू आकर्षित भएका कारण पनि उनीहरू आन्दोलनमा अग्रमोचामा हुने गर्दथे । यसले नेपाली राजनीतिक इतिहासलाई यो गणतन्त्रको अवस्थासम्म ल्याइपुर्यायो ।
३. ती परिवर्तनहरूले यो जातिलाई के फाइदा पुर्यायो ?
– यो गम्भीर प्रश्न हो । यत्ति लामो समयसम्मको आन्दोलन सहभागि हुनु र प्राप्त गणतन्त्रपछि थामीहरूले के पाए भन्ने प्रश्न उठ्नु जायज छ । देशलाई यो अवस्थासम्म ल्याईपुर्याउन ति पिस्करका थामीको महत्वपूर्ण योगदान छ, दोलखाका थामीहरूको विराट इतिहास छ तर त्यसको उपलब्धी कहिँ कतै देखिएपछि दूरदराजमा रहने थामीहरूको जीवनयापनका पद्धतिहरू फेरिन नसकेको यथार्र्थ हो । जति पनि आन्दोनपछि राजनीतिक दलहरू सत्तामा पुगे, त्यसपछि आन्दोलनमा अग्रपंक्तिमा रहने थामीजस्तै कैयन जनजातिहरूको योगदानलाई भुले । फलःस्वरुप अहिले पनि थामी जातिका मानिसहरू गरीबीको दलदलमा छन्, शिक्षामा उनीहरूको पहुँच छैन, सरकारी संयन्त्रमा, रोजगारमुखी कार्यमा थामीहरू पछि परिरहेका छन् । मूलुक संघीय संरचनामा गई स्थानीय सरकार बनेपनि त्यहाँ शून्यप्रायः थामीहरूको सहभागिता हुनु भनेको राज्यलेनै उपेक्षा गरेको भन्ने मेरो विश्लेषण छ ।
इतिहासमै हाम्रो जातिबाट सभासद् हुने मै मात्र हुँ । प्रशासन, प्रहरी, सेना कहीँ पनि माथिल्लो तहमा थामीहरू पुगेका छैनन् ।
४. थामी समुदायको उत्थानमा राज्यले के गरिरहेको छ ?
– म संविधानसभा सदस्य भएपछि थामी समुदायको हक र हितको लागि राज्यको उपस्थिति दिलाउँछु भन्ने ध्येय लिएको थिएँ । जनयुद्धमा थामी समुदायले गरेको योगदान र उनीहरूको चाहनालाई पूरा गर्नु मेरो दायित्व थियो । तर सत्ता भनेको यस्तो एउटा चक्र रहेछ जहाँ गरीब, किसानको आवाज विलाउँदो रहेछ । त्यतिबेला थामी समुदायबाट प्रतिनिधित्व गर्ने म एकमात्र सभासद् थिएँ । मेरो आवाजलाई सरकारले सुनेन वा सुन्न चाहेन । थामीजातिको सोचेजस्तो उत्थानको कार्य गर्न सकिएन । तर, संविधानमा भने पिछडिएका, हेपिएका थामीजस्ता थुप्रै सीमान्तकृत समुदाय र जनजनतिको भावनालाई समेट्ने पहल चाँहि पक्कै भयो । त्यतिमात्र पर्याप्त भने थिएन । अहिले राज्यले थामी जातिको उत्थानमा खासै पहल गरेको देखिदैन । अन्य जातिसरह थामीजातिलाई पनि राखेर हेर्ने, बजेट बाँडफाँड र राज्यको सेवा सुविधामा प्राथमिकता नदिनेजस्ता कार्य भईरहेका छन् । यसले सीमान्तकृत थामीजातिको उत्थान हुँदैन । राज्यले सीमान्तकृतहरूको भावनालाई समेट्ने गरी नीति निर्माण गरी त्यसको लागु गर्न सक्दा यस्ता समुदायको उत्थानमा सहयोग पुग्ने देखिन्छ ।
५.थामीहरूको सीप र क्षमतालाई प्रबर्द्धन गर्न के गर्नुपर्ला ?
– थामीहरू परम्परागत सीपका धनी छन् । उनीहरूले काठ, बाँसबाट जीवनोपयोगी र अत्यावश्यक सामग्री बनाउन सक्दछन् । कृषि कार्यको लागि आवश्यक सामग्रीहरू, फर्निचर, सिकर्मी, डकर्मीजस्ता कार्यहरूमा निपूण छन् । तर ती सीपहरूको आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सकिरहेको पाईदैन ।सीप र क्षमतालाई उत्पादन र व्यवसायसँग जोड्ने हो भने थामीहरूको जीवनपद्धतिमा सुधार आउँछ र आर्थिक रुपमा पनि उनीहरू सबल बन्नेछन् । यो कार्य गर्न राज्यले नीति बनाई उनीहरूको सीप र क्षमतालाई व्यवसायीकरण गर्न टेवा पुग्ने लक्षित कार्यक्रमहरू बनाउनुपर्दछ । सिधा हिसाबमा भन्दा उनीहरूको सीप र क्षमतालाई बेच्ने र त्यसबाट आम्दानी गर्ने वातावरण बनाउन सकियो भने मात्र उनीहरूको उत्थान सम्भव छ । यो सँगै शिक्षा, स्वास्थ्य, जीविकोपार्जनमा पनि थामीहरूको पहुँच पुर्याउने काम गर्नुपर्दछ ।
१. थामी जातिले कस्तो भाषा प्रयोग गर्दछन् ?
– थामी जातिहरूले थाङ्मी खाम भाषा बोल्दछन् । यो भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । प्रायः अहिले पनि बुढापाकाहरूले खाम भाषामै कुराकानी गर्ने गर्दछन् । नेपाली भाषा भन्दा अलि फरक यो भाषाको मिठास छुट्टै प्रकृतिको छ । तर अहिलेको युवावर्गमा भने खाम भाषा बोल्ने प्रचलन घट्दै गएको छ जसका कारण भाषानै लोप हुने हो कि भन्ने चिन्ता छ ।
२. खाम भाषाको लिपी पनि छ ?
– यो भाषामा हालसम्म लेख्य परम्पराको विकास भएको छैन । तथापि, पछिल्लो समयमा लेख्य परम्पराको शुरुवात भएको छ । हालसम्म नेपालबाट दुई र नेपालबाहिरबाट एक गरी तीन वटा थामी शब्दकोष लेखिएको भए पनि ‘थामी’ शब्दलाई भने ती पुस्तकमा परिभाषित गरिएको छैन । त्यसकारण हामी खाम भाषाको लिपी तयार गर्ने र त्यसलाई नेपाली भाषा अन्र्तगतको उपभाषा बनाउने अभियानमा जुटिरहेका छौं ।देशको राष्ट्रभाषा वा प्रधान भाषादेखि भिन्न भाषा र भाषिकाहरू उपभाषा भनिने हुँदा नेपाली भाषाभित्रको एउटा भाषा बनाउनुपर्छ भनेर हामी जुटिरहेका छौं । यसको लागि सरकारको सम्बन्धित क्षेत्रसँग निरन्तर छलफल गरिरहेका छौं । साथसाथै बृहत् थामी शब्दकोष बनाउने क्रममा पनि हामी जुटिरहेका छौं ।
३. किन लिपी बन्न नसकेको हो ?
– हाम्रा अग्रज पुस्ताहरूले खाम भाषा बोल्थे तर त्यसको लिपी बनाउनेतर्फ चासो राखिएको थिएन । अहिले यो भाषाको खोज अनुसन्धान जारी छ । थामी समुदायको लिपीसम्बन्धि खोज, अध्ययन अनुसन्धान धेरै समय अघिदेखि नै हुँदै आएको यथार्थ हो किनकि यो विषय लामो समयसम्म पर्याप्त अध्ययन अनुसन्धान गर्नुपर्ने अत्यन्तै संवेदनशील र महत्वपूर्ण विषय हो । त्यसो भएको हुनाले पनि आजसम्म थामी जातिको लिपि विकास गर्न सकिएको छैन तर लिपि विकास गर्नुपूर्वका केही कामहरू भइसकेको भने अवश्य छ, जस्तो कि हाम्रो भाषाको वर्ण निर्धारण आदि । खोज, अध्ययन र छलफल गर्ने काम गरी त्यसलाई व्यावहारिक र भाषा वैज्ञानिक प्रकृयावाट गर्नुपर्ने काम भएकोले यसमा अलिक समय लागेको हो । हाल थामीहरूको लिपिबारे प्राज्ञिक खोज तथा अनुसन्धान र पहिचान गर्ने काम जारी रहेको छ । यस कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविद्हरू, थामी समुदायका अध्येता, थामी भाषाको पहिलो शोधकर्ता जापानी नागरिक डा. सुयोएसी तोबा, नेपाल थामी समाज लागिपरिरहेको छ।.यसले छिट्टै पुर्णता पाउने हाम्रो अपेक्षा छ ।
४. थामी जातिको संस्कृति, संस्कार, वेशभूषालाई संरक्षण गर्न के गर्नुपर्ला ?
– थामी जाति संस्कृतिको खानी नै हो । थामीहरूको एउटा अलग प्रकारको रीतिरिवाज र संस्कार छ जुन अन्य जातिसँग मिल्दैन । जन्म, मृत्यु, विवाह, धार्मिक गतिविधि, रीतिरिवाज अलिक फरक खालको छ । थामी जातिमा प्रचलित मेर्कोङ बाजा जुन बाघको हाडबाट बनेको हुन्छ, पिचालिङ, टाके, थात्राजस्ता बाजाहरू छन् । यो नेपालको गहना पनि हो । तर यी र यस्ता संस्कृतिसँग जोडिएका थुप्रै कुराहरू लोपहुने अवस्थामा छन् । यसलाई संरक्षण गर्न सक्दा सांस्कृतिक रुपमा थप विकास हुने नै छ भने यसले सांस्कृतिक पर्यटन, थामीहरूको आयआर्जन र जीवनयापनमा सहजता ल्याउन समेत सहयोग पुर्याउने छ ।
सरकारले थामी कला, संस्कृतिलाई संग्राहलयको रुपमा विकास गर्ने, ती संस्कृति र परम्परालाई जोगाउन स्थानान्तरणको अभ्यास गर्ने र संस्कृतिलाई उत्पादन र आयआर्जनसँग जोड्न पहल गर्ने हो भने यो संस्कृति पनि रहिरहन्छ, त्यसलाई आगामी पीढीले पनि आत्मसात गर्नेछन् । तसर्थ सरकारलेनै यसको प्रबर्द्धनको हिस्सेदार बन्नुपर्दछ ।
५. भाषाको संरक्षण तथा सम्बर्द्धनमा राज्यको निकायका भूमिका कस्तो पाईएको छ ?
– एउटा भाषा लोप हुँदा त्योसँगै संस्कृति पनि लोप हुन्छ । पछिल्लो चरणमा थामीहरूले बोल्ने खाम भाषाको संरक्षण हुनुपर्दछ भन्ने आवाज उठ्न थालेपछि सरकारले पनि केहि चासो देखाएको छ । राष्ट्रिय भाषा सुझाव नीति आयोगले यस भाषाको संरक्षणमा सुरुवात गरेको थियो । त्यसपछि शिक्षा मन्त्रालयले खाम भाषामै पाठ्यपुस्तक प्रकाशन गरेको छ । पूर्ण नभएपनि शब्दकोष प्रकाशन भएको छ ।सुरुवातमात्रै भएको कारण भाषाजस्तो विशिष्ट क्षेत्रको उन्नयनमा राज्यले जति चासो देखाउनुपर्ने हो, त्यो पर्याप्त भएको छैन । हामीहरूले पनि पटक पटक भाषा संरक्षणको लागि पहल गरिरहेका छौं, राज्य संघीय संरचनामा गईरहेको छ, यहाँ सबै भाषा, धर्म, संस्कृतिले आफ्नो स्थान पाउनेछन् र खाम भाषा प्रबर्द्धनमा सरकारले भरपूर सहयोग गर्ने अपेक्षा हाम्रो छ ।
१) थामी समुदायको सीप, कला, संस्कृति कस्तो रहेको छ ?
– थामी समुदाय राज्यले तोकेको अन्य सीमान्तकृत समुदायभन्दा फरक किसिमको समुदाय हो । यो समुदायमा आफ्नो छुट्टै मूल्य, मान्यता, रीतिरिवाजर लोप हुँदै गएका सीपहरू, बाजाहरू, नृत्यहरू, कलाकैशल छन् । राज्यले त्यसको विकासमा चासो नदिएपनि पुख्यौली सीप र ज्ञानहरूलाई अहिलेपनि बुढापाकाहरूले अंगालिरहेका छन् । तर अबको पुस्ताले त्यसलाई गम्भीर रुपमा लिएको छैन जसका कारण लोप हुने खतारामा छ ।
२) तपाईं अध्यक्ष रहेको नेपाल थामीसमाजले चाहिँ कला संस्कृतिको उत्थानमा के गरिरहेको छ ?
– संस्थाको स्थापनाकालदेखिनै थामी जातिको मौलिक संस्कृति, परम्परा, सीप, दक्षतालाई लोप हुन नदिन र यसको संरक्षण गर्न हामी लागिपरिरहेका छौं । यसैको एउटा पाटोको रुपमा थामी जातिको उद्गम स्थल दोलखाको राङ्राङ्थलीमा थामी संग्रहालय निर्माण गरेका छौं, जो अन्तिम चरणमा छ । त्यस्तै सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी र सिन्धुलीमा पनि हाम्रै पहलमा संग्राहालय निर्माणको सुरुवात भएको छ । यसले थामी जातिको कला, संस्कृति, सीपलाई जोगाउन टेवा पुर्याउने छ ।
३) तपाईहरूले आफ्नो समुदायको भाषा, शिक्षा, स्वास्थ्य, जीविकोपार्जनलगायतको विषयमा कस्तो योजना बनाएको छ ?
– अहिलेको मूख्य चुनौति भनेको यो समुदालाई कसरी जीविकोपार्जन र आयआर्जनसँग जोड्ने भन्ने हो । हामीले थामीहरूको सीपलाई व्यवसायीकरण गरिनुपर्दछ भनेर विभिन्न तालिम, सीप प्रदान गरिरहेका छौं । तर तालिम लिएकाहरूले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न समस्या परिरहेको छ । हामी स्थानीय तहसँग सहकार्य गरेर त्यसलाई व्यवस्थित बनाउन लागिपरिरहेका छौं । त्यस्तै शिक्षालाई निःशुल्क बनाउने, स्वास्थ्यलाई थामीहरूको पहुँचसम्म ल्याउने काम पनि भइरहेको छ ।
४) समुदायको परम्परागत सीपलाई व्यवसायिककरण गर्न के गर्नुपर्ला ?
– थामी समुदायसँग भएको सीपलाई व्यवसायीकरण गर्न मूख्य ३ कार्य गर्न जरुरी देखिन्छ । पहिलो, उनीहरूले गर्दै आएका कृषि पेशालाई आधुनिकीकरण गरेर आर्थिकरूपमा सबल बनाउन पहल गर्नुपर्छ । दोस्रो शिक्षा, स्वास्थ्य र खाद्यसँगै आर्थिक उपार्जनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ र तेस्रो उनीहरूको मौलिक सीप र ज्ञानको संरक्षण गरिनुपर्दछ । यति हुन सक्यो भने थामीहरूको जीविकोपार्जनमा सहजता हुनुको साथै उनीहरूको सीपलाई व्यवसायीकरण गर्न सकिन्छ ।
१) थामी समुदायको विकासको लागि स्थानीय सरकारले के गरिरहेको छ?
– हामीले सीमान्तकृत थामी समुदायको हितमा काम गर्न कार्यक्रम नै बनाएर अगाडि बढाएको छौं । यस आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर थामी समुदायको शिक्षा र रोजगारीको क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौं ।
२) उहाँहरूको परम्परागत सीपलाई प्रयोग गरेर कसरी उद्यमी बनाउन सकिन्छ ?
– हामीले उहाँहरूको परम्परागत सीपलाई जोगाउन र ती सीपबाट आयआर्जन गर्न तालिम प्रदान गर्ने, आवश्यक सामग्री अनुदानमा दिने र निर्मित सामग्रीको बजार व्यवस्थापन र प्रचारप्रसारमा सहयोग गरिरहेकाछौं । उहाँहरूलाई उद्यमी बनाउन हामीले थामी जाति विशेष कार्यक्रम भनेर सामुहिक कृषि कर्म, व्यवसाय गर्न चाहनेहरूलाई आवश्यकता र सम्भावना हेरेर अनुदान दिने कामहरू गरिरहेका छौं ।
३) पालिकाले थामी जातिका बालबालिकाको शिक्षामा कसरी प्रोत्साहन गरिरहेको छ ?
– विद्यालय जान नसकेका बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याउन घरदैलो भर्ना अभियान छ । त्यस्तै अहिलेसम्म एसईई परीक्षा पास गर्न नसकेको थामी समुदायका विद्यार्थीहरूको शिक्षाको स्तर उठाउन छात्रवृत्ति प्रदान गर्ने, निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक सामग्री सहयोगको कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं ।
४) राज्यले थामी समुदायको विकासमा के गर्नुपर्दछ ।
– अहिले पनि थामी समुदाय पिछडिएको वर्गकै रुपमा पर्दछ । जीवनस्तर सोचेजस्तो उकासिएको छैन । स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले थामी जातिका लागि बजेट तथा कार्यक्रमको व्यवस्थापन गरेपनि त्यो प्राप्त गर्न झण्झटिलो प्रकृया भएका कारणसमावेश हुन समस्या छ । यसको कसरी हल गर्न सकिएला भनेर गाउँपालिका महासंघमा पनि कुरा उठाएका छौं । तसर्थ राज्यले सहज किसिमको कार्यविधि बनाएर राज्यप्रदत्त सेवा/सुविधा प्राप्त गर्नसक्ने बनाउन अपरिहार्य छ । योसँगै शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र उनीहरूको सीपलाई आधुनिकिरकण गर्न राज्यले पहल गर्नुपर्दछ ।
१) तपाईको ठाउँको थामी जातिको अवस्था कस्तो छ ?
– पिस्करलाई थामी जातिको उल्लेख्य बसोबास रहेको ठाउँको रुमा चिनिन्छि । यहाँका थामीहरू कृषिमा निर्भर हुनु, जनसंख्या बढ्दै जानु र आफ्नो पुर्ख्यौली सम्पत्ति कम हुनु मूख्य समस्याको रुपमा देखिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरूको संख्या वृद्धि हुँदै गए पनि उनीहरू साउदी र मलेसिया जस्ता खाडी मुलुकमा कम आम्दानी हुने जोखिमपूर्ण काम गर्न बाध्य छन् । धान नफल्ने, आलु र मकैमा निर्भर पर्नुपर्ने भएकाले दुःख गरेर कमाएको थोरै पैसा पनि चामल खरिदमै सकिने गरेको छ ।
देखासिकी गर्ने चलन बढेकाले आफ्नै माटोमा उत्पादन भएका बालीहरूको प्रयोग नगरी किनेर खाने, मकै भटमास छाडेर चाउचाउ खाने, आलु बेचेर वियर खाने प्रवृत्ति भित्रिएकाले पनि समस्या निम्त्याएको छ । त्यसमाथि उद्योग, व्यवसाय सञ्चालन गर्न र दीर्घकालीनरूपमा अर्थोपार्जन गर्ने आम्दानी सुरु गर्नसमेत लगानी अभाव छ । यो अहिलेको मूख्य समस्या हो ।
२) तपाईंको ठाउँ पिस्कर राजनैतिक आन्दोलनसँग पनि जोडिएको छ, कत्तिको परिवर्तन भइरहेको छ ?
– यहाँका थामीहरूमा पहिलादेखिनै राजनीतिक चेत भएको भएपनि त्यसलाई राजनीति गर्नेहरूले आफ्नो भर्याङको रुपमा मात्र उपयोग गरे । थामीहरूको आन्दोलन, बिद्रोहको बलमा सरकारमा पुग्ने र सरकारमा पुगेपछि बिर्सने प्रवृत्ति बढिरहेको छ, जसले गर्दा थामीहरूको उत्थान हुन सकेको छैन । उदाहरणको लागि २०४० सालमा पिस्कर हत्याकाण्ड भयो, यहाँका थामीहरूले मृत्युवरण गर्नुपर्यो, कयौं घाईते भए, कयौंले जेलनेल बेहोरे । तर यसै आन्दोदनको शक्तिले सरकारमा पुग्नेहरूले पछि पिस्करबासीहरूलाई बिर्सिए । सरकारमा पुगेपछि हाम्रा बालबालिकाहरूले सुलभ रुपमा पढ्न पाउलान्, बृद्धबृद्धाले निःशुल्क औषधी उपचार गर्न पाउलान्, बेरोजगार भएर समय विताईरहेका युवाले काम पाउलान्, वर्षैभर खानपुग्ने गरी उब्जनी गर्न मल, बीउ आउला भन्ने सोचेका थियौं तर त्यो हुन सकेको छैन । पिस्करका थामीहरूअहिलेपनि उहि दुःखजिलो गरेर अभावमै जिन्दगीबिताईरहेका छन् ।यत्रो राजनीतिक आन्दोलनलेपनि यहाँका थामीहरूको जीवनपद्धतिमा परिवर्तन ल्याउन सकेको छैन ।
३) थामी समुदायको उत्थानमा स्थानीय सरकारले कत्तिको पहल गरिरहेको पाउनु भएको छ ?
– स्थानीय सरकार बनेपछि थामी समुदायको उत्थानमा केहि क्रमागत विकास त भएका छन् तर नेपाल सरकार र स्थानीय तहले बनाएका कुनै पनि नीति तथा कार्यक्रमले खासै यो समुदायलाई छोएको देखिदैन । थामी जातिको आवश्यकता एकतर्फ छ भने राज्यले बनाउने नीति नियम र विकास पद्धति अर्कोतर्फ गएको छ । हाम्रा बा आमाहरूलाई निःशुल्क औषधी चाहिएको छ, सहज रुपमा खानेपानी चाहिएको छ, राज्यले दिएको सुविधा सहज रुपमा प्राप्त होस् भन्ने चाहेका छौं ।
यसअघिको केन्द्रीकृत राज्यव्यवस्थाको कारण हामी आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा पछि पर्यौं । त्यो अवस्थाबाट मुक्तिको लागि थामी बहुल क्षेत्रमा हामीहरूकै राजनीतिक अग्राधिकार हुने स्वशासित क्षेत्रको व्यवस्था हुनुपर्दछ भनिरहेका छौं । तर यो हुन सकेको छैन । हाम्रो जाति धेरै भएको ठाउँमा अन्य जातिको प्रमुख, उपप्रमुख, कर्मचारी हुँदा उनीहरूले हाम्रो पीर मर्कालाई बुझ्न सकेका छैनन् र हाम्रो समुदायलाई प्रत्यक्ष फाईदा हुने नीति नियम र कार्यक्रम बन्न सकेको छैन । थामी समुदायको लागि लक्षित समूह विकास कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ । स्थानीय उत्पादनलाई सहीरूपमा प्रयोग गर्न र कृषि उपजहरूको बजारीकरण गर्न आवश्यक छ ।
४) आफ्नो समुदायको उत्थानमा तपाईंहरूको भूमिका के हुन्छ ?
हामीले गर्न सक्ने भने हाम्रो भाषा, कला, संस्कृति, रीतिरिवाजलाई संरक्षण गर्न पहल गर्नु र त्यसको विकासमा लाग्नु हो । थामी समुदायको भाषा, संस्कार, संस्कृति, भेषभुषा, इतिहास, परम्परा आदिलाई लोप हुन नदिन हामीले आफ्नो ठाउँबाट प्रयत्न गरिरहेका छौं । हामीले भन्दा पनि सरकारले थामी समुदायको विकासमा लाग्नुपर्ने देखिन्छ ।
४. थामी जातिको उत्थानमा देखिएका समस्या र समाधान
४.१ आन्तरिक पक्ष
वस्तुको विकास र विनासमा त्यसको आन्तरिक पक्ष प्रधान हुन्छ । साथै वस्तुभित्र रहेको अन्तरविरोधहरूको सहि समाधान नै वस्तुको विकास हो । यि विषय नै वस्तु विकासमा द्वन्दवादको आधारभूत पक्ष हो । ठीक यसैकारण थामी जातिको उत्थानको प्रश्नमा पनि थामी जातिभित्रको आन्तरिक पक्षलाई ठीकसँग केलाउन जरुरी छ । कमजोरी पक्षलाई ठिकसँग केलाउन सक्दा मात्र त्यसको उचित समाधान सम्भव छ । तसर्थ थामी जातिको प्रगतिको वाधकका रुपमा विविध आन्तरिक पक्षको सहि मूल्याङ्कन र समाधान आजको आवश्यक्ता हो ।
४.१.१ जातिगत स्वभाव र पृष्ठभूमि
आन्तरिक पक्ष अन्तरगत थामी जातिको विकासको वाधक जातिय स्वभाव र पृष्ठभूमि हो । उनीहरूको रहनसहन, मादकपदार्थ सेवन गर्नु, शिक्षा क्षेत्रमा चासो नदिनु, नपढ्नु, सामाजिक, साँस्कृतिक र आर्थिक धरातल कमजोर हुनुले पनि थामी समुदाय पछि परिरहेको देखिन्छ ।
४.१.२ गरिवि, अशिक्षा र चेतनाको कमि
नेपालको एउटा समस्या गरिवी पनि हो । त्यसमा पनि थामी समुदाय गरिवीको रेखामुनी छन् । थामी समुदायमा बाँच्नको लागि छ महिना खान पुग्ने खेतवारी छैन् । रातदिन मेहनत र परिश्रम गरेर एक पेट खान र एक आङ लाउन मुुस्किल परिरहेको देखिन्छ । आफ्नो जीवन निर्वाह गर्नको लागि अरबको खाडीदेखि लिएर भारतको कैयौं स्थानमा कुल्ली काम गर्न मात्र हैन, चैत्र महिनाको टन्टलापुर घाममा सुत्केरी महिलाले एकातिर ढुङ्गाको भारि र अर्कातिर बच्चा बोकेर पैसा कमाउनको लागि पसिना चुहाएको दृश्य देख्दा मानवीय मुटु छियाछिया भएर आउँछ ।[१६] अतः यस्तो गरिवीको समस्या समाधान गर्न सीप युक्त र दक्ष बनि आयआर्जनमुखी क्रियाकलापमा लाग्नु अनिवार्य आवश्यक्ता हो । उनीहरू गरिवीबाट त पिसिएका छन् नै त्यसका साथै अशिक्षा र चेतनाको कमिका कारण पछि परिरहेका छन् । सयौं बालवालिकाहरू शिक्षाबाट बञ्चित समेत भईरहेका छन् । बालबालिकाहरूले बीचैमा विद्यालय छाड्नुपर्ने बाध्यता छ ।
४.१.३ अन्धपरम्परा, कुरीति र कुसँस्कृति
विशेषतः थामी जातिमा रहेको विविध आन्तरिक समस्याहरूको बारेमा चर्चा परिचर्चा गर्दा अन्धपरम्परा, कुरीति र कुसँस्कृतिलाई आत्मसात गर्नु पनि प्रधान समस्या हो । आजको एक्काइसौं शताब्दीसम्म पनि धामी, झाँक्री, बोक्सी र झारफुकजस्ता अन्धविस्वासहरू कायमै छन् । थामी समुदायको विकासको अर्को वाधक तत्व जाँड सँस्कृति हो । कमाएको धन अनावश्यक रुपमा जाँड रक्सी, जुवा तासमा उडाउने प्रवृत्तिले गर्दा पनि गरीविको सिकार बन्नु परेको देखिन्छ ।
४.२ बाह्य पक्ष
थामी जातिको विकासमा देखिएका आन्तरिक पक्षको समस्या र समाधानको विषयलाई मात्र उजागर गरेर यो समुदायको समग्र पक्षलाई केलाउन सकिँदैन । त्यसको लागि वाह्य पक्षलाई पनि हेर्नुपर्ने हुन्छ । वाह्य पक्ष भन्नाले विशेषतः थामी समुदायको विकासमा थामी समुदायभन्दा वहिरी पक्षको भूमिकामा देखिएको कमी कमजोरीलाई बुझ्नुपर्छ । वस्तुको विकासमा वाह्य पक्षको भूमिका पनि महत्वपूर्ण र निर्णायक हुने गर्छ । जसरी एउटा अण्डावाट एउटा स्वस्थ र परिपक्व चल्ला निकाल्न उचित तापक्रमको आवश्यक्ता पर्छ ठिक त्यसैगरी वस्तुको विकासमा वाह्य पक्षको भूमिका हुने गर्छ । मतलव थामी जातिको विकासमा वाह्य पक्षको कमी कमजोरी पनि केलाउनु पर्दछ ।
४.२.१ राज्यबाट पक्षपातपूर्ण व्यवहार
सम्पूर्ण जात, भाषा, पेशा र लिङ्गको साझा फूलवारी राज्य हो । यी सम्पूर्ण पक्षको विकासमा राज्यको समान उत्तरदायित्व र जिम्मेवारी हुनुपर्छ । तर राज्यले सबै भाषा धर्म, संस्कृतिलाई प्राथमिकता नदिँदा थामी समुदाय विकासको मुलधारवाट पछि परिरहेका छन् । समता, समानता र सामाजिक न्यायको प्रश्न आजसम्म ओझेलमा नै परिरहेको छ । त्यसैले आज राज्यको हरेक निकायमा समावेशी र समानुपातिक सहभागिता अनिवार्य वनेको छ । राज्यले थामी समुदायको पहिचान र परिचय संरक्षणको लागि विशेष जोड दिएर लाग्न जरुरी छ ।
४.२.२ जातिय संघसंस्थाहरूको प्रभावहीन कार्यक्रम
नेपालमा जातिय उत्थानका लागि सैयौं संघ सस्थाहरू खोलिएका छन् । कतिपय संस्थाहरूले प्रभावकारी काम गरिरहेका छन् भने धेरै जसो संघसस्थाहरू सामाजिक उत्थान र प्रगतिको नाममा कुनै काम गर्न सकेका छैनन् । थामी समुदायको उत्थान प्रगति र विकासको नाममा आउने सहयोग निश्चित लक्षित वर्गमा नपुग्ने गरेको पनि देखिन्छ । त्यस्ता संघ संस्थाका सञ्चालकहरूले वास्तविक लक्षित वर्गमा पुगेर कार्यक्रम सञ्चालन गरे थामी समुदायको हित हुन्छ ।
४.२.३ राजनैतिक दल र यसका गतिविधिहरू
देश सञ्चालनको मूख्य नीति राजनीति हो । देशलाई तिव्रतर विकासको गतिमा अघि बढाउन र परिवर्तन गर्न राजनीतिको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । थामी जातिको विकासमा पनि राजनैतिक दल र तिनका गतिविधिहरूको निर्णायक भूमिका हुने गर्छ । हरेक परिवर्तनकारी आन्दोलनमा थामी समुदायले योगदान पुर्याएका छन् । हरेक आन्दोलनको पक्षमा थामी समुदाय अग्रसर रहे पनि राजनैतिक दलले थामी समुदायको उत्थानमा काम गर्न नसकेको देखिन्छ । नेपालका राजनैतिक दलमा थामी समुदायको प्रतिनिधित्व देखिदैन । देशका प्रमुख दलहरूसँग थामी समुदायको विकासको निश्चित योजना नभएको पूर्व सभासद् चुनबहादुर थामी बताउँछन् ।[१७]
४.३ पिस्कर हत्याकाण्ड र थामी समुदाय
नेपाली जनआन्दोलनको इतिहासमा पिस्कर एउटा चर्चित ठाउँ हो । २०४० साल माघ १ गते रातित्यहाँ निरंकुश व्यवस्थाविरुद्ध भीषण जनप्रतिरोध भएको थियो । सिन्धुपाल्चोकमा पर्ने यो ठाउँ नयाँ संरचनापछि पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत रहेको छ । साविकको घोरथली, चोकटी धुस्कुन, पिस्कर, तौथली र टेकानपुरसमेत गरी त्रिपुरासुन्दरी गाउँपालिका निर्माण भएको हो । गरिबी, शोषण र अत्याचारमा पिल्सिएका पिस्कर भेगका थामी किसान जनसमुदायले पञ्चायती क्रुर शासनविरुद्ध २० कै दशकदेखि जनसंघर्ष गर्दै आएका थिए ।[१८]
२०४० साल पुस ३० गते राती तत्कालीन नेकपा (माले)ले त्यहाँको महादेवस्थानमा लाग्ने संक्रान्ति मेलाको उपयोग गरी जनतालाई संगठित र जागरुक बनाउने अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । सोहि कार्यक्रममा पिस्कर हत्याकाण्ड भयो । मेला लागिरहेको मानेडाँडामा करिब २ सय जनाको नेपाल प्रहरीहरूको समूहले स्थानीयमाथी अन्धाधुन्ध गोली चलाएका थिए । वीरबहादुर थामी घटनास्थलमै मारिए भने इले थामीको शव दावी खोलाको किनारमा स्याउलाले छोपेको अवस्थामा फेला परेको थियो । घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरुण नेपाल, सरेश नेपाल, गोपाल थपलिया, पल्कमाया थामी, साङडोल्मा, बेत्रावती पौडेल, सावित्री बोहरा, कर्णकुमारी बोहरा, चिनी कार्की, शोभा बोहरा, बिर्खमाया थामी, तारा बोहरा, ललितकुमारी बोहरा, मन बोहरा गिरफ्तार भएका थिए । सयौं जनताले झूटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाए ।
पिस्करमा भएको दमनको विरोध गर्दै नागरिक समाज, सञ्चारकर्मी, राजनीतिककर्मीले लामो समयसम्म आवाज उठाइरहे । तत्कालीन नेकपा (माले)को नेतृत्वमा भएको भए पनि वास्तवमा त्यो संघर्ष परिवर्तन र प्रजातन्त्रका पक्षधर सम्पूर्ण शक्तिहरूकै साझा संघर्ष रहेको बामपन्थी नेता अमृतकुमार बोहोरा बताउँछन् । ‘राजनीतिक अधिकारका अतिरिक्त किसानका वर्गीय माग उठाउने, सामूहिक प्रतिवाद गर्ने आन्दोलनलाई राज्यले हत्याकाण्डको रुप दियो’, बोहोरा भन्छन् – पिस्कर आन्दोलनको मूल उद्देश्य गणतन्त्र र समाजवाद प्राप्ति नै थियो । त्यसैले यो आन्दोलनकारी जनताको अविस्मरणीय प्रेरणादायी स्रोत पनि हो ।
तर त्यत्रो बलिदानी भएको ठाउँ पिस्कर र थामी समुदायलाई राजनीतिक दलले उपेक्षा गरेको स्थानीयको गुनासो छ । ‘हामीले ज्यानको बाजी लगाएर देशको शासन व्यवस्थालाई यहाँसम्म ल्यायौं तर अहिले न त राजनीतिक दलले यहाँको पीर व्यथा सुन्छ, न त राज्य ले नै’, पिस्करका स्थानीय जगतबहादुर थामी भन्छन्– यहाँका थामीहरू अहिले पनि आधा पेट मात्रै खान्छन्, न किसानलाई केहि सहयोग छ, न विकासमा थामीजातिलाई समावेश नै गराउँछन् । [१९]
५. उपसंहार तथा निष्कर्ष
५.१. उपसंहार
परिच्छेद एकमा प्रस्तुत थामी भाषा र यसले आर्जन गरेको परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, कृषि तथा यसको उपयोगितालाई जम्मा पाँच परिच्छेदमा विभाजित गरिएको छ । यस शोधपत्रको परिच्छेद एक शोधको परिचय अन्तर्गत विषय परिचय, समस्याकथन, उद्देश्य, औचित्य, पूर्वप्रकाशित कृतिहरूको समीक्षा, शोधको सीमाङ्कन, शोध विधि र अध्ययनको रुपरेखालगायतका उपशीर्षक राखेर शोधकार्य प्रस्तुत गरिएको छ ।
परिच्छेद दुईमा थामी जातिको परिचय अन्तर्गत परिचय, थामी जातिको बसोबास क्षेत्र, विशेषता, जनसंख्या, भाषा, शिक्षा, संस्कृति र संस्कृति अन्र्तगत थामीजातिको जन्म, विवाह, मृत्यु परम्परालाई प्रस्तुत गरिएको छ । त्यस्तै थामी समुदायबाट उच्च तहमा पुगेका व्यक्तिहरू र थामी समुदायको आम सञ्चारमा पहुँच कस्तो छ भन्नु कुरालाई प्रस्तुत गरी परिचयलाई टुङ्ग्याईएको छ ।
परिच्छेद तीनमा परम्परागत ज्ञान, उद्यमशीलता र उपयोगिता अन्तर्गत सर्वप्रथम विषय परिचय, थामी समुदाय परम्परागत ज्ञान, थामी समुदायमा उद्यमशीलता र उपशीर्षकमा थामी समुदायको प्रकृतिसँगको अन्तरसम्बन्ध, थामी समुदायको पेशा र कृषिमा उपयोगिता र थामी समुदायको मूल्य मान्यतालाई विष्लेषणसहित चर्चा गरिएको छ । यसै परिच्छेदमा थामी भाषा र यसले आर्जन गरेको परम्परागत ज्ञान, उद्यमशीलता, प्रकृतिसँगको अन्तरसम्बन्ध, कृषि तथा यसको उपयोगिताको बारेमा थामी समुदायका ज्ञाता, अभियान्ता, जनप्रतिनिधि, स्थानीयहरूसँग कुराकानी समेत गरिएको छ । यस परिच्छेदमा उठेका समग्र विषयमा केन्द्रित रही सोको निष्कर्ष समेत निकालिएको छ ।
परिच्छेद चारमा थामी जातिको उत्थानमा देखिएका समस्या र समाधानमा केन्द्रित रही सो को आन्तरिक पक्ष र त्यस भित्र रहेका जातिगत स्वभाव र पृष्ठभूमि, गरिवि, अशिक्षा र चेतनाको कमि, अन्धपरम्परा, कुरीति र कुसँस्कृतिको आत्मसातिकरणलाई केलाईएको छ । त्यस्तै बाह्य पक्ष र त्यस अन्र्तगत राज्य र राज्य सञ्चालकहरूको पक्षपातपूर्ण व्यावहार, जातिय संघसस्थाहरूको प्रभावहीन कार्यक्रम, राजनैतिक दल र यसका गतिविधिहरूलाई खोतलिएको छ । यसै परिच्छेदमा थामी समुदायले बलिदानी दिएको पिस्कर हत्याकाण्ड र थामी समुदायको बारेमा चर्चा गर्दै समग्र विषयको निष्कर्ष निकालिएको छ ।
५.२ निष्कर्ष
थामी जाति लोपउन्मुख अवस्थामा रहेको अति सीमान्तकृत समुदायको रुपमा देखिन्छ । कला, संस्कृति, परम्परा र रीतिरिवाजले पूर्ण थामीहरूले बाहिरी वातावरणमा घुलमिल हुन कतिले भाषा र संस्कृति त्यागेका पाईन्छ भने कतिले आफ्नो जात नै परिवर्तन गरेको देखिन्छ । अहिलेको अवस्थामा थामीहरूले आफ्नो भाषा समेत बोल्न छोडेका छन् जुन थामी जातिको मौलिक पहिचान हो । यो पहिचान अब मासिएर र हराएर जान थालेको छ । रीतिरिवाज, संस्कार र संस्कृति हराउँदै छ । थामी जातिभित्रका भाषा, रीतिरिवाज, संस्कार र संस्कृतिको प्रबद्र्धनमा चासो नभएको यो अवस्था आइरहेको हो । यस्ता कला, संस्कृति, रीतिरिवाजलाई जोगाईराख्न सो क्षेत्रमा क्रियाशिल व्यक्तित्व र युवा पुस्ता लाग्न जरुरी छ । थामी जातिका भाषा तथा लिपिका सम्बन्धमा अध्ययन शुरु भएको देखिन्छ । यसले संरक्षणको अभावमा लोप हुने स्थितिमा पुगेको थामी कला, संस्कृति, रीतिरिवाजलाई प्रबर्द्धन गर्न टेवा पुर्याउन सक्दछ । राज्यले पनि थामी समुदायको उत्थानमा विशेष योगदान दिन जरुरी छ । तसर्थ सबै मिली थामी जातिको साँस्कृतिक, राजनैतिक, सामाजिक र आर्थिक पुनरुत्थानमा लाग्न जरुरी देखिन्छ ।
थामी जाति आर्थिक, सामाजिक तथा सांस्कृतिकरूपमा सवल हुन सकेका छैनन् । मुलुकमा आएको परिर्वतनसँगै कृषिमा निर्भर यस जातिलाई औद्योगिक र व्यावसायिकरूपमा अगाडि बढाउनका लागि ध्यान दिनुपर्ने देखिन्छ । त्यसैले राज्यले यी समुदायका लागि छुट्टै नीति तथा कार्यक्रम बनाउनुपर्ने देखिन्छ । थामी जातिको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था मजबुत बनाउन उनीहरूले गर्दै आएका कृषि पेशालाई आधुनिकीकरण गरेर आर्थिकरूपमा सबल बनाउन पहल गर्नुपर्छ । विद्यालयमा बालबालिका टिकाइराख्नका लागि आकर्षक योजना र कार्यक्रम सञ्चालन गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र खाद्यसँगै आर्थिक उपार्जनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । थामी जातिको बसोबास भएका स्थानमा पूर्वाधारका परियोजना, सार्वजनिक सुनुवाइ, योजना तथा कार्यक्रम निर्माण र सञ्चालन गर्दा उनीहरूलाई सुसूचित गरी सहभागी हुने अवसरसमेत प्रदान गर्नुपर्छ ।
[१] नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीसँगको कुराकानीमा आधारित ।
[२] शिवाकोटी, प्रा.डा. गोपाल । २०७० । थामी जातिको परिचय । काठमाडौंः पैरवी प्रकाशन ।
[३] खत्री, प्रा.डा. प्रेम । २०७३ ।नेपालका जातीय संस्कार खण्ड ३। काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
[४] भीमेश्वर नगरपालिका– १ का स्थानीय भानुदास थामीसँगको कुराकानीमा आधारित । तर, उनले भनेका कुराको लिखित प्रमाणभने भेटिएको छैन ।
[५] थामी जातिका अगुवा एवम् अधिवक्ता टहल थामीसँगको कुराकानीमा आधारित ।
[६] Turin, Mark. 2004. A Grammer of the Thangmi Language.Kathmandu: Martin Chautari.
[७] थामी भाषा अध्येता एवम् लेखक विकेश थामीसँगको कुराकानीमा आधारित ।
[८] संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइट जततउकस्ररकतजबलष्थब।नयख।लउ मा उल्लेख ।
[९] थामी जातिको रुपरेखा । २०७४ । प्रकाशक: नेपाल थामी समाज ।
[१०] यापित सोनारी संरक्षण तथा सम्बद्र्धन समाज, नेपालका संस्थापक सचिव दिलीप थामीसँग गरिएको कुराकानीमा आधारित ।
[११] युवा विश्लेषक एवम् लेखक विकेश थामीसँगको कुराकानीमा आधारित ।
[१२] सिन्धुपाल्चोक थामी समाजका अध्यक्ष उदय थामीसँग गरिएको कुराकानीमा आधारित ।
[१३] थामी जातिका अगुवा एवम् नेपाल थामी समाजका संस्थापक अध्यक्ष जगतमान थामीसँग गरिएको कुराकानीमा आधारित ।
[१४] सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका स्थानीय सुरेशकुमार थामीसँग गरिएको कुराकानीमा आधारित ।
[१५] सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ की स्थानीय कृष्णमाया थामीसँग गरिएको कुराकानीमा आधारित ।
[१६] नेपाल, शरेश । २०६० । नेपालभित्रको सिन्धुपाल्चोक । दुःखी प्रकाशन ।
[१७] पूर्व सभासद् चुनबहादुर थामीसँगको कुराकानीमा आधारित ।
[१८] बोहोरा, अमृतकुमार । २०७५ । पिस्कर संघर्षको प्रेरणादायी गाथा । नयाँपत्रिका, १ माघ ।
[१९] सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ का स्थानीय जगतबहादुर थामीसँगको कुराकानीमा आधारित ।
(यो खोजमूलक सामग्री बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिस्ट्रारको कार्यालयको ‘स्थानीय भाषा प्रबर्द्धन लेखन तथा प्रसारण बृत्ति’ मा छनौट भई तयार पारिएको हो ।)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ