तातोपानी । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा सवारी साधन सञ्चालनमा आएको छ ।
चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो । अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जीनियर गोविन्द डुमरीले जानकारी दिए ।
यद्यपि लिपिङ पुलको अवरुद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमापुल नजिक पर्ने लिपिङपुल छेउको करिब १५ मिटर सडक भास्सिएकाले त्यहाँ आजैदेखि काम शुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जीनियर डुमरीले बताए । उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । कोदारीबाट एक किलोमिटर माथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ ।
दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमा समेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ