काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमणको लागि निम्तो दिइएको छ ।
सिन्धुपालचोकबाट वाग्मती प्रदेश सभा सदस्य निमा लामाले जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि देउवालाई अनुरोध गरेका हुन् । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सांसद लामाले देउवालाई पाँच बुँदे अनुरोध पत्रसमेत बुझाए ।
‘बाढीग्रस्त क्षेत्रको अवलोकन गरि उक्त क्षेत्रमा पुनर्निमाण कार्यक्रमलाई तीव्रता दिनका लागि हौसला प्रदान गरिदिनुहुन यस क्षेत्रका जनताको तर्फबाट र मेरोतर्फबाट पनि हार्दिक अनुरोध छ,’ लामाले देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
सांसद लामाले असार १ गतेको पहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेको नदीको तटीय क्षेत्रमा पहिरो र बाढीले व्यापक क्षति गरेपछि देउवा क्याबिनेटबाट जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवादसमेत दिएका छन् ।
ओली सरकारले वेवास्ता गरेको क्षेत्रमा देउवाले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । ओली बाढी आएको २६ दिनपछि मेलम्ची क्षेत्र पुगेका थिए ।
‘अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको पीडामा कुनै सरोकार राख्नुभएन । यस क्षेत्रको बारेमा वनग्मती प्रदेशको प्रदेश सभा बैठकमा मैले आवाज उठाएसँगै उहाँ असार २६ मा मेलम्ची र हेलम्बु क्षेत्र त पुग्नुभयो तर त्यहाँ स्थानीयलाई प्रत्यक्ष सरकारी राहत केही पनि घोषणा गर्नुभएन,’ लामाले भनेका छन्– ‘तीनै स्थानीय तहका सरकार कांग्रेस र माधव नेपाल पक्षको रहेकाले ओली सरकारले ध्यान नदिएको सर्वबिदितै छ । त्यस्तै प्रदेश सभाको सांसद म स्वयं पनि नेपाली कांग्रेसकै रहेकाले प्रदेश सरकारको पनि ध्यान गएन ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ