काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायिका सुनिता दुलाल र गायक प्रकाश सपूतलाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ घोषणा गरेको छ ।
काठमाडौं सिंहदरबारमा आयोजित एक समारोहकाबीच प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यिनलाई एक वर्षका लागि ‘सद्भावना दूत’ नियुक्त गरेका हुन् । गीतसंगीतका माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्त गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् ।
सोही समारोहमा दुलाल र सपुतको स्वरमा सजिएको सन्देशमूलक गीत ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो’ समेत सार्वजनिक गरिएको थियो ।राइज मिडिया नेटवर्क प्रा.लि.की निर्देशकसमेत रहेकी गायिका दुलालले प्राधिकरणले यस्तो महत्वपूर्ण अवसर दिएकामा खुशी व्यक्त गरिन् । गत वर्ष सिन्धुपाल्चोक र बाग्लुङमा मनसुनजन्य विपद्का कारणा ठूलो जनधनको क्षति भएको थियो । जनतालाई सुसुचित गरी यस्ता विपदका बेला जनधनको क्षती हुनबाट जोगाउने उद्धेश्यले यस्तो गीत तयार पारिएको गायिका दुलाल बताउँछिन् । ‘विपद् जोखिम न्युनीकरणका लागि हामी कलाकारहरुले विभिन्न माध्यमबाट सचेतनामुलक काम गर्दै आएका छौं,’ उनले भनिन्, ‘प्राधिकरणले सद्भावना दूत बनाएर कलाकारलाई सम्मान गरेकामा थप हौसला मिलेको छ ।’
यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी पहिरोबाट बढी प्रभावित रहेको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए । ‘त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेकोे छ,’ उनले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुनिता र प्रकाशको स्वरमा तयार पारेको सचेतनामूलक गीतसमेत निर्माण गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ