“ताराबाजी लै लै
मामा आए घोडा
माईजु आईन डोली
पापा ल्याईन सोली
बुबु माम सुप्रुक्क
ताराबाजी लै लै……..।”
गुरुआमा,
म गाउन सक्दिन यो गीत
नगर्नुस् कर
बरु बनाउनुस् कुखुरा,
उभ्याउनुस् बेञ्चमा एक खुट्टाले,
हान्नुस सिर्कनाले हातमा सुम्ला बस्नेगरि
गुरुआमा,
यो गीत गाउन खोज्दा मेरो आवाज हराउँछ,
पृथ्वीनै घुमेसरि रिङ्गाटा लाग्छ,
आँखामा ह्वाङ्ग छानो भएको घरजस्तो घर देख्छु
गरिबिले ख्याउटिएको आफन्तको अनुहार देख्छु
र देख्छु अभावै अभावले प्वाल पारेको चाल्नु जिन्दगी
गुरुआमा,
किन सिकाउनुहुन्छ हामीलाई
यो झुट गीत ?
मेरो मामा
गधाझैं जोतिदै भारी बाकेर
कहिल्यै नभेटेर जिन्दगीको सिंयाल
तर्तरी पसिना झार्दै
मार्सेको उकालो हिँडेको देख्दा देख्दै
कसरी त्यो दुःखी मन दुखाउन सक्छु र ?
कसरी अपमानको गीत गाउन सक्छु र ?
– ‘मामा आए घोडा’ भन्दै
म गाउन्न गुरुआमा
यो झुट गीत, धनीहरुको गीत ।
मेरो माइजु
फुकिढल ज्यान लिएर चौबीसै घण्टा घोटिन्छिन्,
आफंै भन्दा ठूलो भारी बोकेर
हिंड्छििन् रातदिन,
बेला बेलामा ढल्दै बेहोस भएको
मैलेपनि देखेको छु
कहिले पो पाईन र उनले ‘डोली चढ्न’ ?
आफ्नै दुई मुठी परान धान्न मुस्किल छ उनलाई
र कसरी ल्याउन सक्छिन् हाम्रो लागि ‘पापा’ ?
म गाउन्न गुरुआमा
यो झुट गीत ।
गुरुआमा,
म चाहन्न भोग्न
मेरो पुर्खालेजस्तो अभाव, सास्ती र थिचोमिचो
म त चाहन्छु मान्छेजस्तो मान्छे भएर ज्यूँन
र त यो ज्ञानको पवित्र मन्दिरमा आएको छु
गुरुआमा,
बरु सिकाउनुस्–
साहुको घरमा पुस्तौंबाट बस्दै आएको
हलिया हुनबाट छुटकारा पाउन के गर्नुपर्छ ?
सर्कसमा काम गर्दै
आमाको ओखतीसँगै आयु जोड्छे बहिनी
उसलाई यो पाठशालासम्म ल्याउन के गर्नुपर्छ ?
र मान्छेजस्तो मान्छे भएर ज्यूँन के गर्नुपर्छ ?
बरु बताउनुस्–
कस्ले बनायो यो धनी–गरिबको विभेदी पर्खाल ?
किन तिरिसकिदैन पुस्तौंसम्म पनि साहुको ऋण ?
किन अँध्यारोमात्रै हुन्छ हाम्रो जिन्दगी ?
बरु गाउन लगाउनुस्–
हामै्र दुःखका गीत
आँशुको कविता, पीडाका भाका ।
तर गुरुआमा,
गाउन नलगाउनुस् यो गीत
नगर्नुस् कर
बरु बनाउनुस् कुखुरा,
उभ्याउनुस् बेञ्चमा एक खुट्टाले,
हान्नुस सिर्कनाले हातमा सुम्ला बस्नेगरि
सहर्ष स्वीकार गर्न सक्छु यी यातना
तर सक्दिन गाउन
यो झुट गीत । ०००
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ