चौतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस सिन्धुपाल्चोकको चौतारामा मनाईएको छ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले शहिद स्मृति प्रतिष्ठान चौतारामा शनिबार श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष गोविन्द पराजुली, चौतारा साँगाचोकगढी नगरपालिकाकाका इञ्चार्ज रामप्रसाद गौतम, अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, विद्यार्थी नेता मिलन लामा, जनप्रतिनिधिहरु, बुद्धिजीविहरुले कर्मचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
त्यस्तै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याऊले, मेलम्ची, बाह्रविसेलगायतको क्षेत्रमा समेत नेकपा माओवादी केन्द्रले कर्माचार्यको आठौं स्मृति दिवस मनाएको छ ।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने नेताहरुमा कर्माचार्य एक थिए । कम्युनिष्ट पार्टी गठनपछि उनी मजदुर संगठनका पनि संस्थापक अध्यक्ष भए । कम्युनिष्ट आन्दोलनमा निरन्तर लागि परेका उनी जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रही तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षक रहेका थिए ।
नरबहादुरको जन्म विक्रम सम्बत १९८१ कात्तिक १४ गते ललितपुरमा भएको थियो । उनको ८९ वर्षको उमेरमा २०७० साउन ९ गते निधन भएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ