चौतारा । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले जानकारी दिए । छ वर्ष अघिको भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा बारम्बार आएको बाढी र कोभिड–१९ को संक्रमणका कारण काम पछि धकेलिंदै गएको छ ।
हाल जुरेमा पहिरो झर्ने क्रम नरोकिएकाले दैनिक सामान ढुवानीमा समस्या झेलिरहनु परेको र बाढीले क्षति भएका उपकरण ल्याउन पनि कठिन भइरहेको उनको भनाइ थियो । आयोजनामा कार्यरत धेरै कामदार कोरोनासंक्रमित भएकाले पनि काममा असर पुगेको बताइएको छ ।
आयोजनामा हाल नेपाली ७० जना र चिनियाँ १८९ जना गरी २५९ जना कामदार कार्यरत छन् । ७२४ मिटर सुरुङमध्ये ४१५ मिटर खन्न अझै बाँकी छ । विद्युतगृहको काम ७५ प्रतिशत र बाँधको काम ५० प्रतिशत मात्र सकिएकोे छ ।
काठमाडौं लगिने माथिल्लो तामाकोशीको २२० केभी सिङ्गल सर्किट प्रशारण लाइनको सव–स्टेशन बाह्रबिसेमा रहने हुँदा आयोजनास्थलबाट बाह्रबिसेसम्म चार किलोमिटर प्रशारण लाइनको प्रक्रिया शुरु भएको छ । यसका लागि आवश्यक पर्ने १३ ओटा टावरमध्ये आठ ओटा वनक्षेत्रमा रहने हुँदा वन तथा वातावरण मन्त्रालयबाट रुख कटानका स्वीकृति आउने प्रक्रियामा छ ।
त्यस्तै पाँच ओटा टावर व्यक्तिको जमीनमा परेकाले मुआबजाको प्रक्रिया शुरु गरिएको छ । स्वदेशी लगानी १४ अर्ब ५० करोड रुपैयाँमा निर्माण भइरहेको आयोजनामा चिनियाँ कम्पनी ग्वाङसी हाईड्रो इलेक्ट्रिकल कन्स्ट्रक्सन ब्यूरो र भारतीय आष्ट्रिया एण्डिज हाइड्रोले काम गरिरहेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ