मेलम्ची । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ ।
मेलम्ची नगरपालिका– १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची– १० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरे बाटो खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए । बाटोमुनि तीन भूकम्पपीडितको राहत घर र अन्य दुई घर रहेको उनले जानकारी दिए । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ ।
ढुङ्गा ठूलो रहेको र पहिरो पनि आइरहेको जानकारी पोहोरदेखिनै नगरलाई गराए पनि चासो नदिएको कार्कीले गुनासो गरे । पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था रहेकाले नगरको स्थानीयवासीले ध्यानाकर्षण समेत गराएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ