आयो चाड र पर्व दौडिकन ए, आयो दसैँ उत्सब ।
यो हाम्रो मन दङ्ग हुन्छ किन हो ? यै चाड आयो जब ।
हर्षोल्लास उमंगले स्वजनमा, छाओस् समृद्धि रे ।
खाए स्वस्थ नखानु मादक कुनै, आओस सद्बुद्धि रे ।।
मौलाओस दुबो समान सबका, आशा र इच्छाहरु ।
अग्लो होस् इमानका कदहरु, यै हुन् सुभेच्छाहरु ।
आकाशै छुन अग्लिए जुनकिरी, हुन् चन्द्रमाकै शीर ।
घाँटी हेर्नु र हाड निल्नु सहजै, व्यार्थै नहुन् आँखिर ।।
आनन्दी मनमा बढोस् सबका, हुन चाहना सुन्दर ।
चिन्ता मुक्त भए समस्त जनहो, यै कामना सादर ।
आफ्नै देश फिरे लु बन्धु जन हो, मानौँ दशैँ उत्सब ।
भेटौँ भाइ र बन्धु साथ सगमा, संयोग जुट्ला जब ।।
कोदो धान झुले फुले मखमली, हो सार समृद्धिको ।
हुन् सुख्साध्य समान जीवन सदा, संसार यो सिद्धिको ।
आर्युद्रोण सुते जसै असिम होस् शत्रुक्षयै हुन् सबै ।
ऐश्वर्यै बल शान मान अगमै, किर्ती बने गज्जबै ।।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ