४८ बर्ष अघिदशैंको बेला पहिलो महिनावारी भयो, नयाँ लुगा र दक्षिणा नपाउने पीरले कसैलाई भनिन । म १०÷१२ बर्ष हुँदा दशैंको रमाइलो र खुसी विशेषगरी दुई-तीन वटा कुरामा अल्झेको हुन्थ्यो । एउटा भेटभरि मासुभात खान पाउने । अरुबेला पनि घरमा मासु त पाक्थ्यो तर धित मरुञ्जेल खान पाइन्नथ्यो ।
एकहप्ता, १५ दिनमा एकपटक घरमा मासु पाक्थ्यो । कि घरमा कोही विशेषा पाहुना आउँदा । ठूलो परिवार, खान मन लागे जति मासु कहाँ पाउनु ? भागमा मासुका टुक्रा दुई-चार वटा अनि धेरै झोल हुन्थ्यो । दशैँमा मात्रै मन लागेजति मासु खान पाइन्थ्यो । आफ्नै घरमा मासुभात, मासुचिउरा खान पाउने अनि आफन्तहरुले पनि घरमा बोलाएर मासुचिउरा खुवाउँथे । उतिबेला केटाकेटीका लागि दशैँको निकै ठूलो खुसी थियो त्यो ।
अर्काे भनेको नयाँ लुगा लगाउने । त्यो बेला नयाँ लुगा लगाउनका लागि दशैँ नै पर्खनुपथ्र्यो । दशैँमा लुगा छान्न बजार जाने, सूचीकार कहाँ लुगा छेक्न जाने, सिलाएर घरमा ल्याएपछि नयाँ लुगा लगाएर दिदी बहिनीहरुसँग दाज्ने जस्ता कुरामा पाइने खुसी वर्णन गरिनसक्नुको हुन्थ्यो । तेस्रो थियो दक्षिणाको लोभ, त्यो समय दक्षिणामा २५ पैसा, ५० पैसा दिने चलन थियो । कसैले १ रुपैँया दियो भने त्यो धेरै मानिन्थ्यो । त्यसरी दशैंका दक्षिणा जम्मा गरेर के–के काम गर्ने, के–के किन्ने भन्ने योजना बन्थ्यो । यी रौनक हरेक वर्षका दशैँमा आउँथे ।
बाल्यकालमा यस्ता थुप्रै दशैँहरु आए, गए तर एक सालको दसैं मेरा लागि अविस्मरणीय बन्यो । आज भन्दा ४८ वर्षअघि, जतिबेला म १२ वर्षकी, कक्षा ७ मा घर, टोल, बजार सबैतिर दशैँको रमझम थियो । ठ्याक्कै दिन याद छैन । तर दसैँको षष्ठी वा सप्तमीको दिन हुनुपर्छ । १२ बर्षमा पहिलो पहिलो पटक रजस्वलाभयो मेरो । यसपालीको दक्षिणाले के–के गरौँला भन्ने योजना बनिसकेको थियो । ती सबै कुरा गुमाउनु पर्ने भो भनेर धेरै चिन्ता लाग्यो । निकैबेर सोचविचार गरेपछि निर्णय भो–महिनाबारी भएको कुरा कसैलाई नभन्ने । अनि न छुट्टै कोठामा बस्नुपर्छ न दशैँको रमाइलो नै छाड्नुपर्छ ।
कसैले थाहा पाउला कि भनेर निकै सचेत!!! त्यो समय अहिले जस्तो महिनावारीका बेला प्रयोग गर्ने प्याड थिएन । आमा, हजुरआमाका पुराना फरिया, सिरकका पुराना खोलले नै प्याडको काम गथ्र्यो । घरमा त्यो बेला महिलाका बारेमा लेखिएका सरिता, मुक्ता जस्ता हिन्दी पत्रपत्रिकाहरु आउने गर्थे । ती पढेर मेरो मनमा एकखालको धारणा भने बनिसकेको थियो– रजस्वला हुनु महिलाका लागि सामान्य प्राकृतिक कुरा हो, कुनै पाप होइन भन्ने ।
त्यो बेला महिनावारी भएको कसैलाई नभनेर, नबारेर क्रान्ति नै गरेको रहेछु, हुन त मिठो खानेकुरा, नयाँ लुगा, दक्षिणाको लोभले त्यसो गरेको थिएँ’, ‘त्यो बेला कसैले नदेख्ने गरी कसरी व्यवस्थापन गरेँ हुँला ?’ अहिले छक्क लाग्छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ