हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।
काँग्रेस संसदीय दलका सचिव समेत रहेका सिन्धुपाल्चोक प्रदेश नं. २ ‘ख’ बाट सांसद बनेका नीमा लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ । पाण्डेले माओवादी केन्द्र र काँग्रेसका एक–एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्न लागेका छन् ।
उनीहरुको शपथ आजै साँझ ५ बजे गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशका हाल कायम रहेको ८ मन्त्रालय मध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालय सहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए । मुख्यमन्त्री पाण्डेले स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ