चौतारा । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिका विरुद्ध सिन्धुपाल्चोकको चौतारामा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।
दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने भन्दै अखिल (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरसमितिले बुधबार(आज) मूल्य वृद्धि तत्काल फिर्ता गर्न भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
मूल्य वृद्धिले आम नेपाली जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर बन्न सरकारलाई विद्यार्थीले खबरदारी समेत गरेका छन् । र्यालीसहितको प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) प्रदेश समिति सदस्य एवम् निवर्तमान जिल्ला अध्यक्ष मिलन लामाले निगम भित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरी जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह गरे । अन्तर्राष्ट्रिय बजार मूल्यको समायोजनको बहानामा जनताको ढाड सेक्ने गरी गरिएको मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनमा जाने उनले चेतावनी दिए ।
कोणसभामा अखिल (क्रान्तिकारी) प्रदेश समिति सदस्य एवम् जिल्ला उपाध्यक्ष प्रविण चौलागाईले आम जनताको जीवनलाई मूल्यबृद्धिले कठिन बनाएको बताउँदै तत्काल मूल्यबृद्धि फिर्ता लिनुपर्नेमा जोड दिए । पछिल्लो दुई सातामा मात्रै २ पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको र त्यसको मारमा विद्यार्थी, मजदुर, किसान परेको उनको भनाई छ ।
विद्यार्थीहरुले आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई बरखास्त गर, मूल्य बृद्धि फिर्ता गर जस्ता प्लेकार्डसहित चौताराको भिन्तुना चोकदेखि टुँडिखेलसम्म नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । श्रम गरेर खाने वर्ग अहिले मूल्य वृद्धिका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको कारण विद्यार्थीले आन्दोलन गर्नुपरेको अखिल (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरसमितिका प्रल्हाद विकले बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ