मोबाइल पत्रकारिता रिपोर्टिङको एउटा सिर्जनशील तरिका हो जसमा समाचार सामाग्री उत्पादन र संयोजन गर्न मोबाइल फोनको मात्र प्रयोग हुन्छ । यस्तो रिपोर्टिङमा बढीजसो भिडियो सामग्री हुने भएपनि अडियो, स्लाइड सो, तस्बिर र शाब्दिक सामग्री पनि हुन सक्छन् ।
‘स्मार्टफोन’ शब्द सन् १९९५ देखि चलनचल्तीमा आयो । त्योभन्दा तीन वर्ष अगाडि नै सन् १९९२ मा अमेरिकी प्रविधि कम्पनी आइबिएमले साइमन नामको मोबाइल फोन बजारमा ल्याएको थियो (टइडी, २०१५) । साइमनको आगमनसँगै मोबाइल फोन ‘केबल आवाजमा दोहोरो कुराकानी गर्ने डिभाइस’मा मात्र सीमित भएन, यसले त एउटा स्मार्टफोन युगको सुरुवात नै गरायो । जब सन् २००७ मा एप्पलको आइफोन आयो, स्मार्टफोन प्रविधिले अर्को छलाङ मार्यो । आज विश्वका साढे तीन अर्ब मानिसले स्मार्टफोन प्रयोग गर्छन् । साधारण मोबाइल फोनका प्रयोगकर्तासमेत जोड्ने हो भने यो सङ्ख्या झन्डै पाँच अर्ब पुगेको छ (स्टाटिस्टा, २०२०) । यो तथ्याङ्कले के प्रस्ट देखाउँछ भने आजको दिनमा मोबाइल फोन आम जीवनको एउटा हिस्सा नै बनिसकेको छ ।
पछिल्लो समय स्मार्टफोनको उत्पादन तथा यसमा थपिँदै गएका सुविधाहरू, सुधार गरिएको क्यामेराको गुणस्तर, तीव्र इन्टरनेट कनेक्टिभिटी, धेरै समय टिक्ने ब्याट्री, तथ्याङ्क संग्रह र प्रशोधनको क्षमता वृद्धिले गर्दा दिन प्रतिदिन यो लोकप्रिय बन्दै गएको छ । हरेक दिन सयौंको सङ्ख्यामा नयाँ सफ्टवेयर एपहरू मोबाइल फोनकै लागि थपिँदै गएका छन् । कुनै ठाउँसम्म पुग्ने बाटोको जानकारी पाउन होस् या जुनसुकै ठाउँबाट आफ्नो परिवार, साथी वा कार्यालयमा सम्पर्कमा रहनका लागि होस्, मोबाइल फोनले हाम्रो जीवनमा सहजता थपेको छ । यस्तै, सामाजिक सञ्जालको आफ्नो प्रोफाइल समुद्री किनार वा ३० हजार फिटमाथि उडिरहेको बेला अपडेट गर्ने, मोबाइलकै भर्चुअल पैसाबाट कारोबार गर्नेजस्ता व्यवहार पनि सामान्य भइसके ।
मोबाइल फोनको चमत्कारी विकासले अरू पेसा र व्यवसाय जस्तै पत्रकारितालाई पनि ठूलो प्रभावमा पारेको छ । यसको प्रयोगले सूचना सङ्कलन, सम्प्रेषण, प्रशोधन र वितरण प्रक्रियामा एउटा औजारको रूपमा मात्र नभई पत्रकारिताको पेसागत अभ्यासमा आधारभूत रूपमै धेरै परिवर्तन ल्याइदिएको छ । पत्रकारिताको साधन र माध्यमको रूपमा मोबाइल फोनको प्रयोग व्यापक हुन थालेपछि डिजिटल पत्रकारिताभित्र मोबाइल पत्रकारिता एउटा विधाकै रूपमै विकास भइसकेको छ । अंग्रेजीमा मोबाइल जर्नलिजम् भनिने यो विधालाई छोटकरीमा ‘मोजो’ भनेर पनि चिनिन्छ ।
मोबाइल पत्रकारिता के हो ?
मोबाइल पत्रकारिता डिजिटल स्टोरी टेलिङको एउटा रूप हो जहाँ फोटो, अडियो र भिडियो सिर्जना गर्न र सम्पादन गर्न प्रयोग गरिने प्राथमिक उपकरण नै स्मार्टफोन हो । धेरै मोबाइल पत्रकारहरूले आफ्नो कामका दौरान ल्यापटप र डिएसएलआर जस्ता अन्य पोर्टेबल उपकरणहरू प्रयोग गर्दछन्, तर मोबाइल पत्रकारिताको भने मुटु नै स्मार्टफोन हो । त्यसैले नै मोबाइल पत्रकारितालाई ‘मिडियाको स्टोरी टेलिङका लागि कामको नयाँ प्रवाह’ मानिएको छ जहाँ पत्रकारहरू पूर्णरूपमा गतिशील र स्वायत्त हुनका लागि प्रशिक्षित र सुसज्जित हुन्छन् । मोबाइल पत्रकारिताको यो नै अहिलेको व्यापक रूपमा स्वीकारिएको परिभाषा पनि हो ।
बुरूम र क्वेन (२०१६) का अनुसार मोबाइल पत्रकारिता रिपोर्टिङको एउटा सिर्जनशील तरिका हो जसमा समाचार सामग्री उत्पादन र संयोजन गर्न मोबाइल फोनको मात्र प्रयोग हुन्छ । यस्तो रिपोर्टिङमा बढीजसो भिडियो सामग्री हुने भएपनि अडियो, स्लाइड सो, तस्बिर र शाब्दिक सामग्री पनि हुन सक्छन् । यस्ता सामग्री वाइफाई वा मोबाइल डेटाका माध्यमबाट स्थलगत रूपमै तयार गरिन्छ । मोबाइल पत्रकारिता एउटा विशिष्ट वातावरणमा हुन्छ । जहाँ घटना भइरहेको हुन्छ त्यहीँ नै समाचार कक्ष पुगेको हुन्छ । अर्थात् हामीले परम्परागत रूपमा बुझ्दै आएका समाचार कक्षका प्रक्रिया गोजीमा अट्ने सानो डिभाइसबाट स्थलगत रूपमै पूरा गर्न सम्भव हुन्छ । पत्रकारले नयाँ शैलीमा, तत्कालै र सशक्त रूपमा आफ्ना अडियन्सलाई समाचार सामग्री सम्प्रेषण गर्न सक्छन् (बुरूम र क्वेन, २०१६) ।
परम्परागत रूपमा गरिँदै आएको पत्रकारितामा एउटा रिर्पोट तयार गर्न पत्रकार, क्यामेरापर्सन, दृश्य सम्पादक, सम्पादकसहित धेरै जनशक्ति आवश्यक हुन्छ । प्रसारणका लागि पनि उति नै समय लाग्छ । यसको सम्पादन, प्रसारणका लागि धेरै वटा र महंगा उपकरणहरू पनि आवश्यक पर्दछन् । आज, एउटा स्मार्टफोनको माध्यमबाट एक पत्रकारले स्वतन्त्र रूपमा सबै चरणहरू आफैं सम्हाल्दै अति कम समयमा समाचार र अरू सम्पादकीय सामग्री तयार गर्न सक्दछ । उसले अडियो रेकर्ड, फोटोहरू लिन, भिडियो सम्पादन गर्ने, सामग्री लेख्ने र आफनो समाचार आउटलेटमा तत्काल फिल्डबाटै पोस्ट गर्नेजस्ता सबै काम मोबाइलबाटै गर्न सक्दछ । यसको प्रयोगले पत्रकारको गतिशीलता, स्वतन्त्रता र काम गर्ने क्षमता समेत वृद्धि गरिदिएको छ । गोजीमा अट्ने सानो डिभाइसमै शक्तिशाली क्यामेरा, स्तरीय अडियो रेकर्डर र कम्प्युटर सफ्टवेयरहरूको विकल्पका रूपमा आएका मोबाइल एप्लिकेसनहरूले नयाँ पुस्ता र डिजिटल पत्रकारिताका अभ्यासकर्तालाई मात्र होइन, परम्परागत मिडिया हाउसहरूलाई पनि लोभ्याएको छ । खासगरी, सन् २००९ पछिको समयमा नाम चलेका समाचार संस्थाले विश्वभर नै मोबाइल प्रविधिलाई प्राथमिकतामा राख्दै लगेका छन् ।
बिबिसीले आफ्नै पोर्टेबल न्यूज ग्यादरिङ (पिएनजी) नामक एपको विकास गरेको छ, जसबाट रिपोर्टरले रेकर्ड गर्न, सम्पादन गर्न र भिडियो, अडियो, र फोटोहरू सिधै समाचार कक्ष उत्पादन प्रणालीमा पठाउन सक्छन् । यस्तै अलजजिराले आफ्नो च्यानल एजे प्लसलाई मोबाइल पत्रकारितामै केन्द्रित गदै संचालन गरेको छ । भारतको एनडिटिभीले मोबाइलको प्रयोगबाट पूरै न्युजरुम संचालन गदै आइरहेको छ।
कतिपय मिडिया हाउस परम्परागत प्रकाशनहरू बन्द गर्दै डिजिटाइजेसनमा गइसकेका छन् । पत्रकारितामा अहिले ‘वन म्यान आर्मी’को अवधारणा लागू हुँदै गएको छ । फोटो÷भिडियो खिच्ने, रिपोटिङ गर्ने र त्यसलाई सम्पादन गर्ने सबै काम अहिले एक जना पत्रकारले नै गर्नुपर्ने अवस्थाको सिर्जना हुँदै गएको छ । प्रविधिको फड्कोसँगै बढेका अनलाइन मिडियाका लागि यस्तो दक्षता भएका पत्रकारहरूको निकै आवश्यकता रहेको छ ।
आजकल सामाजिक सञ्जालदेखि स्थापित समाचार संस्थासम्म युजर जेनेरेटेड कन्टेन्ट (युजिसी) अर्थात् उपभोक्ताले नै उत्पादन गरेका सामग्रीको ठूलो हिस्सा छ । मोबाइल फोनले आमनागरिकलाई पनि समाचार उत्पादन र वितरणमा व्यापक रूपले सहभागी बनाउँदै लगेको छ । पत्रकार आफै पुग्न नसक्ने, नभ्याउने ठाउँबाट तत्कालै स्थानीयले पठाउने सामग्रीले समाचार कक्षलाई ठूलो सहयोग पुर्याएका छन् । यसको मुख्य श्रेय स्मार्टफोन र इन्टरनेटलाई नै जान्छ । सबै उपभोक्ताले तस्बिर, भिडियो वा लिखित सामग्री उत्पादन गर्न सक्ने भएपछि कतिपयले व्यावसायिक र दक्ष पत्रकारहरू नै चाहिँदैनन् कि भन्ने अड्कल पनि गर्न थालेका छन् । बुरूम र क्वेन (२०१६) भने यस्ता अड्कललाई ‘बेकारको अनुमान’ भन्छन् । हातमा क्यामेरा हुँदैमा वा अडियन्सम्म पहुँच हुँदैमा सबै पत्रकार हुँदैनन् । प्राविधिक औजारको साथमा पत्रकारिताका लागि पेसागत सिप, दक्षता, सिद्धान्तको ज्ञान र अनुभव जरुरी हुन्छ । तर आम नागरिकले उत्पादन गर्ने सामग्रीलाई व्यावसायिक पत्रकारसँगको सहकार्यमा प्रशोधन गरेर भने स्तरीय सामग्री तयार गर्न सकिन्छ (बुरूम र क्वेन,२०१६) । त्यसैले महँगो वा उच्च प्रविधिको स्मार्टफोन हुँदैमा मात्र प्रभावकारी मोबाइल पत्रकारिता गर्न सकिँदैन । यसका लागि प्राविधिक र सैद्धान्तिक ज्ञान हुनु जरुरी छ ।
मोबाइल पत्रकारिताका विशेषता
१. कम खर्चिलो र पोर्टेबल : परम्परागत रूपमा गरिने पत्रकारिताको तुलनामा आर्थिक हिसाबले यो किफायती छ । परम्परागत पत्रकारितामा, खासगरी प्रसारण माध्यममा एउटा रिर्पोट तयार गर्न धेरै उपकरणका साथै त्यसलाई सञ्चालन र व्यवस्थापन गर्ने जनशक्ति जरुरी हुन्छ । लगानीको हिसाबले त्यो निकै महंगो पर्दछ । तर मोबाइल पत्रकारितामा कुनै पनि अतिरिक्त लागत बिना आफ्नो स्मार्टफोनको प्रयोग गरेर उच्च गुणस्तरको फोटो, भिडियो । अडियो क्याप्चर गर्न सकिन्छ । यसले ठूलो आर्थिक लगानी र जनशक्तिको बचत गर्दछ ।
भिडियो, अडियो रेकर्डर, स्टिल क्यामेरा, नोटबुकजस्ता अनेकौं परम्परागत औजारको एउटै विकल्पका रूपमा स्मार्टफोनले काम गर्छ, जसले समाचार संस्थाको ठूलो आर्थिक लागत कम गरिदिन्छ । मोबाइल डिभाइस सजिलै बोकेर जता पनि वा जुनसुकै अप्ठयारोमा पनि जान वा प्रयोग गर्न सकिने हुँदा यातायात, ड्राइभर, केयरटेकर जस्ता अरू सहयोगी जनशक्तिको आवश्यकता पर्दैन ।
२. कम परनिर्भरता : पत्रकारलाई सबै परिस्थितिमा टिमसहित रिपोर्टिङमा जान व्यावहारिक हुँदैन । टिममा जाँदा राम्रो सहकार्य वा संयोजन भएन भने खोजेको सामग्री खोजेकै स्तरमा प्राप्त नहुन सक्छ । मोबाइल पत्रकारितामा अरूसँगको परनिर्भरता कम हुने हुँदा लचकता र गतिशीलतासँगै स्वतन्त्रत पनि हुन्छ । यसरी सबै काम आफैंले गर्ने हुँदा कुन सामग्रीको छनौट गर्ने भन्ने स्वतन्त्रता पनि हुन्छ । यस्तो अभ्यासले आफ्नो मोबाइलमा आफूले उत्पादन गर्ने प्रत्येक पक्षलाई नियन्त्रण गर्न सशक्त बनाउँछ।
३. द्रुत प्रवाह : स्थलगत रिर्पोटिङ गरी समाचार कक्षमा फर्केर परम्परागत तरिकाले समाचार सामग्री अडियन्ससम्म पुर्याउँदा लामो समय लाग्छ । तर मोबाइल पत्रकारितामा समाचार सङ्कलन गरी घटनास्थलबाटै तुरुन्त रिर्पोट बनाई सम्प्रेषण गर्न सकिन्छ । आफ्ना अडियन्ससँग प्रत्यक्ष पहुँचमा रहेर सामग्री तयार गर्दा उनीहरूका रुचि, जिज्ञासा वा सरोकार के हुन् भन्नेसमेत तुरुन्तै पहिचान गरी थप प्रभावकारी रिपोर्टिङ गर्न सकिन्छ ।
४. सहज पहुँच : कतिपय रिपोर्टिङका लागि आफूले चाहेजस्तो अनुकुल वातावरण नहुन सक्दछ । ठूलो क्यामेरा, सवारी साधन र अन्य प्राविधिक औजारहरू यस्ता स्थानमा लैजान समस्या मात्र नभएर कतिपय अवस्थामा निषेधसमेत गरिएको हुन सक्छ । प्राविधिक जटिलताका कारण नै घटना वा घटनास्थलमा पहुँच कायम गर्न समस्या पर्न सक्दछ । यस्तो अवस्थामा पनि मोबाइल फोनले राम्रो विकल्पको काम गर्छ ।
५. मित्रवत् सुरक्षितः सञ्चारमाध्यममा पहिलो पटक आउने वा अनुभव नभएका पत्रकारहरू ठूला क्यामेरा र प्राविधिक वातावरणमा खुलेर अभिव्यक्त हुन धक् मान्ने हुन्छन् । उनीहरू पूरा खुलेर नबोल्न सक्छन् वा लजाउन सक्छन् । फलःस्वरूप अपेक्षित सामग्री नपाउन सकिन्छ । यस्तो ठाउँमा मोबाइलको प्रयोग गर्दा उनीहरूका आवाजलाई बढी मित्रवत् हिसाबले सहजताका साथ समेट्न सकिन्छ । फिनल्यान्डमा रोयटर्स इन्स्टिच्युट र अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अध्ययनले के देखायो भने आग्रह गरिएका आम मानिसमध्ये टेलिभिजन क्यामेरा अगाडि २१ प्रतिशत अन्तर्वार्ता दिन राजी भए भने मोबाइल फोनका अगाडि ३३.५० प्रतिशतले अन्तर्वार्ता दिन स्वीकार गरे (कारहुनेन, एन.डी.) । यस्तैगरी, प्राकृतिक प्रकोप, हुलदंगा, आन्दोलन वा युद्धजस्ता परिवेशमा रिपोर्टिङ गर्दा पत्रकारले धेरै जोखिम व्यहोर्नु पर्छ । ठूला र झन्झटिला क्यामेरा तथा अरू औजारको साथमा रिपोर्टिङ गर्दा त्यस्ता सामान र मानवीय क्षतिको जोखिम बढी हुन्छ । मोबाइल डिभाइस छरितो र पोर्टेबल हुँदा सम्भावित दुर्घटनाबाट जोगिन सजिलो हुन्छ ।
मोबाइल पत्रकारिताका औजारहरू
डिजिटल क्यामेरा र स्मार्टफोन आउनु अगाडिको जमानामा एनालग डिभाइसमा तस्बिर वा भिडियो खिच्ने काम सजिलो थिएन । यसका लागि ठूलो लगानी र राम्रो प्राविधिक दक्षता जरुरी थियो । अहिले प्रविधिमा आएको फड्कोले फोटो वा भिडियो खिच्नु कुनै ठूलो काम रहेन । तर, समाचारको मूल्य बोक्ने, सम्पादकीय कसीमा राम्रो ठहर्ने फोटो वा भिडियो खिच्नको लागि भने व्यावसायिक दक्षता र उपयुक्त औजारहरू जरुरी हुन्छन् नै । प्रभावकारी ‘स्टोरी टेलिङ’का लागि एउटा स्मार्टफोन सेट मात्र सबै परिस्थितिमा पूर्ण हुँदैन । अतिरिक्त ‘ग्याजेट्स’ र सफ्टवेयर एपहरूको प्रयोग गरेर मोबाइल पत्रकारिताको अभ्यासलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सकिन्छ ।
ट्राइपड, रिग र गिम्बल : फोटो वा भिडियो खिच्दा मोबाइल फोनको अवस्थिति, स्थिरता र चाल स्वाभाविक हुनुपर्छ । हातमा थामेर नहल्लाई लामो समय स्थिर राख्न गाह्रो हुन्छ । कतिपय अवस्थामा भने भिजअल सामग्रीलाई थप व्यावसायिक र आकर्षक बनाउन प्यान, टिल्ट, डली, ट्रक, पेडेस्टल, याक फोकस जस्ता सिर्जनात्मक गति पनि दिन जरुरी हुन्छ । तर सबै काम हातबाट मात्र सम्भव हुँदैन । यसका लागि आवश्यकताअनुसार ट्राइपड, मोनोपड, सेल्फी स्टिक, रिंग, गिम्बल वा स्टेबलाइजर जस्ता औजारको प्रयोग गर्न आवश्यक हुन्छ ।
यस्ता औजारले काम गर्न सजिलो मात्र बनाउँदैनन्, छायाङ्कनमा थप सिर्जनशिलता प्रयोग गर्ने अवसर पनि दिन्छन् । यस्ता अतिरिक्त औजारले हातबाट मोबाइल फोन खसेर हुनसक्ने क्षतिबाट पनि जोगाउँछन् । रिमोटबाट चल्ने कतिपय औजारको प्रयोग गरेर टाढैबाट क्यामेरा र गति नियन्त्रण राख्न सकिन्छ ।
अतिरिक्त लेन्स : डिएसएलआर क्यामेरामा जस्तै स्मार्टफोनका लागि पनि अतिरिक्त लेन्सहरूको उपयोग गर्ने चलन बढेको छ । टेलिफोटो, फिसआई, वाइड एङ्गल जस्ता विविधता भएका लेन्स प्रयोग गरेर स्मार्टफोनको नियमित लेन्सबाट सम्भव नहुने फोटो र भिडियो लिन सकिन्छ । यस्ता लेन्सको प्रयोगले तस्विरमा विविधता दिने मात्र होइन, सिर्जनात्मक अभिव्यक्तिको दायरा पनि फराकिलो पारिदिन्छन् (स्टेइनर, २०१८)
अतिरिक्त लाइट : खासगरी स्मार्टफोनको आकारका कारण ठूलो आकारका क्यामेरा सेन्सर राख्न सम्भव हुँदैन । सानो आकारका सेन्सरले कम प्रकाश भएको अवस्थामा राम्रो तस्बिर लिन सक्दैनन् । त्यसैले अतिरिक्त लाइट आवश्यक हुन्छ (बुग्रेस, २०२०) । प्रायः स्मार्टफोनमा क्यामेरासँगै फ्ल्यास लाइटको पनि सुविधा हुन्छ । तर व्यावसायिक फोटो वा भिडियोको लागि ‘इनबिल्ट फ्ल्यास’ पर्याप्त नहुन सक्छ । आजकल बजारमा गोजीमै अट्ने लिड लाइटहरू उपलब्ध छन् ।
अतिरिक्त माइक्रोफोन : कतिपय स्मार्टफोनमा हुने माइक्रोफोनले प्रसारणयोग्य गुणस्तरको अडियो क्याप्चर गर्न सक्दैनन् । स्तर पुग्ने माइकहरू पनि सबै परिस्थितिका लागि उपयुक्त हुँदैनन् । स्मार्टफोनको हेडफोन जोड्ने ज्याकमा अतिरिक्त माइक्रोफोन जोडेर सामग्रीको स्तरलाई वृद्धि गर्न सकिन्छ । वायरलेस माइक्रोफोनहरूको प्रयोग पनि बढ्दै गएको छ ।
सफ्टवेयर एप्स : क्यामेरा, लाइट, माइक्रोफोन जस्ता स्मार्टफोनमा पहिल्यै उपलब्ध र पछि जोडिएका अतिरिक्त हार्डवेयर औजारलाई परिचालन र नियन्त्रण गर्ने काम फोनमा हुने सफ्टवेयर अर्थात् एपहरूले गर्छन् । स्तरीय हार्डवेयर हुँदाहुँदै पनि उपलब्ध एप्समा सुविधाहरू सीमित छन् भने सोचेजस्तो फोटोग्राफी सम्भव हुँदैन । त्यसैले व्यावसायिक स्मार्टफोन फोटोग्राफीलाई लक्षित गरेर बनाइएका एपहरूको प्रयोग गर्नपर्ने हन्छ।
स्मार्टफोन एप्सहरू कतिपय निःशुल्क त कतिपय पैसा लाग्ने खालका हुन्छन् । सबै एप्सले सबै विशेषता बोकेका हुँदैनन् । आफ्नो आवश्यकताअनुसार कुन–कुन एप उपयुक्त हुन्छन् भनेर छनौट गर्न सक्नु पर्दछ । फोटो वा भिडियो खिच्न प्रयोगमा आउने एप्समा म्यानुअल फोकस र एक्सपोजर, ह्वाइट व्यालेन्स, अडियो मिटर, जुम, विविध फ्रेम रेट जस्ता नियन्त्रणका सुविधा हुन्छन् (बुरूम र क्वेन, २०१६) । त्यसैगरी, सम्पादनमा प्रयोग हुने एपहरूले भिजुअल सामग्रीको मल्टिट्रयाक सम्पादन, अडियो लेभल, क्याप्सन र सबटाइटल, ट्रान्जिसन र इफेक्टस् जस्ता सुविधाहरू समेटेका हुन्छन् । स्न्यापस्पिड, प्रो–सट, फिल्मिक प्रो, काइनमास्टर, लुमा फ्युजन, पावरडिरेक्टर र आइमुभीजस्ता थुप्रै एपहरू मोबाइल पत्रकारिताका लागि चल्तीमा छन् ।
मोबाइल पत्रकारिताका चुनौती
मोबाइल पत्रकारिताका धेरै फाइदाहरूसँगै केही चुनौती र सीमा पनि छन् । प्रायः एक्लै काम गर्दा प्रत्येक प्रक्रियाको हरेक चरणको लागि आफै जिम्मेवार हुनुपर्ने भएकाले रिपोर्टिङ, अन्तर्वार्तादेखि लिएर फिल्मिङ र सम्पादनसम्मको कार्य थकाइलाग्दो र गाह्रो हन सक्छ। प्राविधिक सीमितता अर्को चुनौती हो । स्मार्टफोनको क्यामराको गुणस्तर वृद्धि हुँदै गएको भएपनि यसमा अझै केही सीमितता छन् । कम प्रकाशका बेला भिडियो वा फोटो राम्रोसँग क्याप्चर गर्न मुस्किल पर्छ । त्यस्तै नियमित क्यामेराको तुलनामा मोबाइल क्यामेराको ब्याट्री टिकाउ क्षमता कमजोर हुन्छ ।
निरन्तर रूपमा फोटो भिडियो खिचिने र सम्पादन पनि मोबाइलमै गरिने हुँदा हामीले प्रयोग गर्ने मोबाइलको स्टोरेज क्षमता नपुग्न वा कम हुन सक्छ । अर्को मुख्य चुनौती भनेको कमजोर इन्टरनेट कनेक्टिभिटी पनि हो । रिर्पोटिङका क्रममा विभिन्न स्थानमा जाँदा इन्टरनेट सुविधा नहुने वा आवश्यक स्तरको नहुने हुन सक्छ ।
(कार्की फोटो पत्रकार, मिडिया अनुन्धाता तथा पत्रकारिता प्रशिक्षक हुन् । उनको यो लेख ‘अनलाइन पत्रज्ञकारिता हाते किताब’बाट साभार गरिएको हो ।)
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ