चौतारा । मुलुक संघीय प्रणालीमा गएर २०७४ सालमा स्थानीय तह निर्वाचन भएसँगै स्थानीय सरकारमा महिला सहभागिता बढेको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ यो सब राजनीतिले सिकाएको बताएकी छिन् । आफु २८ वर्षकी भएपनि राजनीतिले आफूलाई परिपक्व बनाएको बताउँछिन् । २०७४ सालको स्थानीय तह निर्वाचनपछि जिन्दगीले परिपक्वताको नयाँ बाटो समातेको उनको भनाई छ ।
‘पालिका उपाध्यक्ष भएपछि ममा धेरै कुरा बदलिए । म मात्र रहिनँ’, उनले भनिन्– ‘पालिकाको न्यायिक समिति प्रमुखको रुपमा हरेक कुरा गर्दा अगाडि–पछाडि सोच्न थालें ।’ सिक्दै, सिकाउँदै स्थानीय तहको पाँचवर्षे कार्यकाल सकिन लाग्दा धेरै परिपक्व भएको अनुभव भएको उनले बताईन् ।
नेकपा (एमाले)को टिकटबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी उपध्यक्ष तामाङ अब अध्यक्षमा उठ्ने योजनामा छिन् । न्यायिक समितिदेखि बजेट संशोधनसम्मका कामहरूले आफूलाई अध्यक्षको पदको लागि योग्य बनाएको उनको भनाई छ ।
समानुपातिक र समावेशी प्रणालीले गर्दा स्थानीय तहहरूमा महिलाको उपस्थिति बाक्लिएको छ । संविधानको बाध्यकारी व्यवस्थाले स्थानीय तह निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख वा उपप्रमुख पदमा महिला अनिवार्य बनायो । परिणाम, मुलुकका ७ सय ५३ स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षमा ७ सय महिला निर्वाचित भए । यो ऐतिहासिक फड्कोले धेरै महिलाको जीवन बदलिदिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ