काठमाण्डौ । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि युवा नेता सरल सहयात्री पौडेलले दाबी गरेका छन् ।
जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा प्रदेश सचिवालय सदस्य समेत रहेका सरल सहयात्री पौडेलको बलियो सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । प्रतिस्पर्धामा भने सरल सहयात्री पौडेल विशाल खड्का र दिनानाथ गौतम रहेका छन् । प्रदेश अध्यक्ष बन्ने दौडमा रहेका यी तीन नेता मध्ये सिन्धुपाल्चोकका पौडेल युवाहरुको माझमा लोकप्रिय मानिन्छन् ।
महान जनयुद्धका कुशल कमाण्डर, अन्याय, अत्याचार, दमन, उत्पीडनका विरुद्ध आगो ओकल्ने बक्ता, सृजना मार्फत क्रान्ति जागरण पैदा गर्न सक्ने क्रान्तिकारी सर्जक, प्रभावशाली युवा नेताको रुपमा उनलाई लिईन्छ । जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । सम्मेलनमा प्रतिनिधि बनेर आएका प्रायःको समर्थन पौडेललाई रहेको सम्मेलनमा सहभागी इन्द्रजित तिमल्सिनाले बताए।
प्रदेश सम्मेलनमा बन्दसत्र र उम्मेदवारी दर्ता हुँदैछ । माओवादी केन्द्रले सोमबारसम्ममा प्रदेशको नयाँ नेतृत्व चयन गरी प्रदेश सम्मेलन सक्ने जनाएको छ । बन्दसत्रमा सचिवले आफ्नो प्रदेशको प्रतिबेदन पेश गरेर पारित गर्नेछन् । सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने माओवादी केन्द्रको तयारी छ । यसअघि सात जना पदाधिकारी रहने व्यवस्था भएकोमा अब प्रदेशमा ९ जना रहने निर्णय गरिएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशमा झण्डै एक लाख ६० हजार संगठित पार्टी सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा सो पार्टी वागमती प्रदेशका अध्यक्ष नारायण दाहालले वागमतीमा १,४७,२९० जना पार्टी सदस्यको रेकर्ड इन्ट्री भइसकेको र बाँकी झण्डै १० हजार पार्टी सदस्य प्राविधिक कारणले इन्ट्री गर्न बाँकी रहेको बताए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ