काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने बताएका छन् ।
मंगलबार १५औँ संघीय संसद सेवा दिवसको अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले सभामुखको रुपमा आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले आफूले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने भन्दै त्यसका निम्ति साथ दिन कर्मचारीहरुलाई आग्रह पनि गरे ।आफूसँग काम गर्ने स्प्रिट रहेको उल्लेख गर्दै सभामुख सापकोटाले कर्मचारीहरुसँग रहेको विज्ञतालाई संयोजन गरेर काम गर्न सके संसदप्रति जनतालाई आशावादी बनाउन सकिने विश्वास व्यक्त गरे ।
‘मलाई यो राष्ट्रले, मलाई इतिहासले र मलाई जनताले, मलाई १७५ जना प्रतिनिधिसभाका सदस्यहरुले वर्तमानमा राज्यका तीनवटा अंगमध्ये एउटा अंगको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । त्यो जिम्मेवारीलाई पुरै निष्ठाका साथ, पुरै इमानका साथ पुरा गर्नेछु ।’ उनले भने, ‘मेरो पहल र प्रयत्नमा तपाइहरुले साथ दिनुहुनेछ । मसित स्प्रिट छ । तपाइहरु सित विज्ञता छ । त्यो विज्ञता र स्प्रिट हामीले संयोजन गर्न सक्यौँ भने हामी जनतालाई आशावादी बनाउन सक्छौँ ।’
सभामुख सापकोटाले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई देशभक्तिको भावनाले काम गर्न पनि आग्रह गरे ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ