चौतारा । मौसमी बदलीसँगै सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।
हेलम्बुको सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ, लिसंखुपाखरको मुडे, जुगलको गोल्चे, गुम्बा, चौतारा नजिकैको ओखरेनी, फुस्रे, गोप्रे क्षेत्रमा भारी हिमपात भएको हो । बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । किसानहरु कामका लागि घरबाहिर निस्कन सकेका छैनन् ।
हिमाली क्षेत्रमा बाक्लो हिमपात परेपछि हिउँ खेल्नेहरुको चहलपहल बढेको छ । काठमाण्डौ र नजिकको बजारबाट हिँउ खेल्नेहरु आउन थालेको मुडेमा होटल व्यवसाय सञ्चालन गर्दै आएका विनोद तामाङले बताए ।
हेलम्बुको अधिकांश क्षेत्रमा तीनदेखि चार इन्चसम्म हिउँ परेको स्थानीय थिलेन ह्योल्मोले बताए । भारी हिमपात भएपछि जनजीवन कष्टकर बनेको उनले बताए । सो क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ ।
सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा हिउँ परेसँगै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सबैलाई चिसोबाट बच्न आग्रह गरेका छन् । ‘हेलम्बु क्षेत्रमा भारी हिमपात भएको छ । अहिले देशभरका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात जारी छ,’ मन्त्री लामाले भने– ‘स्वास्थ्य रहन चिसोबाट जोगिनुपर्छ । त्यसैले सावधानी अपनाउनुहोला ।’
मुलुकका हिमाली क्षेत्र लगायत उच्च पहाडी भेगमा केही दिन अझै हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ