हेटौंडा । बागमती प्रदेश अधिकांश जिल्लाको दुर्गम क्षेत्रका बासिन्दा कोरोनाविरुद्धको खोपको पहुँचबाट बाहिर रहेको पाइएपछि समुदायस्तरमै खोप केन्द्र चलाउने अभियानमा प्रदेशको स्वास्थ्य मन्त्रालय जुटेको छ ।
कोभिड–१९ व्यवस्थापन प्रदेश निर्देशक समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका हरेक जिल्लाको विकट क्षेत्रमा खोप केन्द्र स्थापना गरेर नागरिकलाई तत्काल खोप लगाउन निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालय अभियानमा जुटेको हो ।
स्वास्थ्यमन्त्री निमा लामा कोरोनाविरुद्धको खोप बोकेर मकवानपुरको दुर्गम राक्सिराङको चेपाङ बस्ती पुगेका छन् । बागमतीको विकट क्षेत्रका नागरिक लक्षित समुदायसँग खोप कार्यक्रम भइरहेको मन्त्री लामाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम र न्यूनिकरणका लागि विकट क्षेत्रका नागरिकलाई खोप लगाउने कार्यलाई प्राथमिकतामा राखिएको स्वास्थ्यमन्त्री लामाले बताए ।
मकवानपुरबाट सुरु अभियान सबै जिल्लामा सञ्चालन हुने मन्त्री लामाले बताए । समुदायमै पुगेर प्रदान गरिने खोप कार्यक्रम सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, रामेछाप, चितवन, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोकका विकट क्षेत्रमा सञ्चालन हुने उनको भनाइ छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ