आमा, मेरी आमा
मैले तिमीलाई अहिले सम्झिरहेको छु,
म भूत र भविष्यको कुरा गर्दिन
मलाई डर लाग्छ ।
तिमीले ठान्यौ होला बिर्सिसक्यो
तर आमा यो पोल्ने घाम सहेर पनि
यो खाडीबाट तिमीलाई सम्झिरहेको छु,
म त्यो शिर सगरमाथा कसरी बिर्सन सक्छु ?
र त्यही सगरमाथाको सेता दन्तलहरहरुको
मुस्कान कसरी बिर्सन सक्छु ?
समुन्द्रको स्थिर पानी त्यहिमाथी नुनिलो,
कसरी बिर्सन सक्छु र म कलकल
बग्ने ती खोलाहरुको पानी ?
बालुवै बालुवा भएको खाडीमा
कसरी बिर्सन सक्छु र म जताततै
हरियाली वन जङ्गल र डाँडाकाँडा,
त्यहीँ माथी कोहिलीको मधुर स्वर ?
मुटु भक्कानिएर आउँछ आमा,
तिम्रो त्यो काख सम्झिदा ।
आँखा रसाएर आउँछ आमा,
तिम्रो त्यो पहाड सम्झिदा ।
तपतप रगत र पसिना बगाएर
यहाँ बसिरहेको छु आमा,
मरणको जीवन बाँचीरहेको छु आमा ।
मलाई थाहा भयो आमा,
समुन्द्रको पानी किन नुनिलो ?
म जस्तै लाखौं नेपालीहरुको
रगत र पसिना मिसिएर नुनिलो भएको ।
भो आमा अब अति भो,
रोक नेपालीलाई यहाँ आउन
भो आमा अब अति भो,
रोक नेपालीलाई रगत र पसिना बगाउन
उनीहरुलाई खुसीको जीवन जिउन सिकाउ
ताकी दुःख कहिल्यै दाहिने नपरोस् ।
म अब फर्किन्छु आमा,
चाहिदैन रगतसँग साटिएको पैसा
म आफ्नै देशमा रगत बगाउँछु
मरे पनि आफ्नै देश,
बाँचे पनि आफ्नै देशमा रमाउँछु ।
मलाई मेरो जीवनको अन्तिम घडीसम्म
आफ्नै रारा र फेवाको सुस्केरा सँगै
आनन्दित जीवन जिउनु छ,
फ्रीजको पानी हैन आमा
मुहानको कलकल पानी पिउनु छ ।
पसिनाबाट भेष बदलिन्छ भने,
म आफ्नै भेष बदल्छु आमा ।
रगतबाट देश बदलिन्छ भने,
म आफ्नै देश बदल्छु आमा ।
मलाई इलामको चिया बगानमा
काम गर्ने मन छ आमा,
जानकीको पुजारी बन्न मन छ
चितवनको माउते बन्न मन छ आमा,
फेवाको माझी बन्न मन छ
कागवेनीको पन्डित बन्न मन छ आमा,
खप्तडको गाइड बन्न मन छ
र मलाई फेरी
फेरी नेपाली नै बन्न मन छ ।
के तिमी स्विकार्न तयार छ्यौ आमा,
मेरी नेपाल आमा ?
म कहिल्यै भन्दिन
मलाई गौतम बुद्ध बनाउ
तर आमा,
गौतम बुद्ध जस्तै त्यागी बनाइदेउ ।
मलाई जनक नबनाउ
जनक जस्तै ज्ञानी बनाइदेउ,
मलाई अरनिको बनाउ भन्दिन
अरनिको जस्तै कला सिकाइदेउ,
मलाई पृथ्वीनारायण हैन
उनी जस्तै क्षमता दिलाइदेउ,
र अन्त्यमा आमा तिमी सामु
एउटा प्रस्ताव राख्छु,
मलाई देवकोटा जस्तो महाकवि होइन
भावना पोख्ने कवि बनाइदेउ ।
०००
छेडागाड न.पा– १०, जाजरकोट
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ