दोरम्बा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– १० का ३८ वर्षीय कृष्णबहादुर माझीले आँखा देख्ने सपना देख्नै छाडेका थिए ।
सुकुटेमा ज्यामी काम गर्दै परिवार पालिरहेका उनी चिनीरोगी समेत थिए । सोहि रोगकै कारण एक वर्षयता ज्योति गुमाएपछि उनको सिंगो परिवार अन्धकारमा परेको थियो । तर रामेछापको दोरम्बा शैलुङ– २ स्थित काकलिङ विद्यालयमा सञ्चालित शिविरमा निःशुल्क आँखा शिविरमा आँखाको शल्यक्रिया गराएपछि उनले संसार देख्न पाए ।
‘मैले फेरि देख्न थालें,’ नजिकै बसेकी श्रीमती रीता माझीको गाला छुँदै कृष्णले भने, ‘अरू त सबै ठीकै छ । तर पहिला यो बूढी अलिक मोटोघाटो थियो, मैले आँखा नदेखेपछि टेन्सनले अलिक दुब्लाएछ ।’ उनको आँखाको शल्यक्रिया डा. डा. सन्दुक रुइतले गरेका हुन् ।
विपन्न एवम् स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणलाई निःशुल्क आँखा उपचारमा सघाउन स्थापित द तेज कोहली एन्ड रुइत फाउन्डेसनका तर्फबाट डा. रुइतको टोली रामेछापको दोरम्बा पुगेको हो । शिविरमा डा. सन्दुक र उनका छोरा डा. सागरसहितको टिमले मोतिबिन्दु शल्यचिकित्सा गरेको थियो ।
शिविरबाट माझीजस्तै ४ सय बढीले फेरि आँखाको ज्योति पाए । बिरामीले आँखा देखेपछि प्रफुल्ल डा. रुइतले भने, ‘यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउँदैनन् ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ