याङ्लाकोट । जुगल गाउँपालिका– ७ याङालाकोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको सुरुवात भएको छ ।
स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच पालिका अध्यक्ष रेशम स्याङ्बोले उद्घाटन गरे । स्वास्थ्य मन्त्रालयबाट बिनियोजन भएको ३८ लाख रकम बाट ४ कोठे भवन बनाउन स्थानीय ८५ जनाले एक हजार देखि ६६ हजारसम्म सहयोग गरेर ६ लाख ७१ हजार रकम सङ्कलन गरेर जग्गा खरिद गरि स्वास्थ्य भवन बनाईएको प्रशासकीय अधिकृत लोकबहादुर बिकले बताए ।
फेज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको भवनमा बर्थिङ सेन्टर स्थापना गरिएकोमा स्थानीय महिलाहरू खुसी भएका छन् । अब सुत्केरी गराउनका लागि जलबिरेदेखि काठमाडौसम्म पुग्नु पर्ने बाध्यता हटेको उनीहरुको भनाई छ । बर्थिङ सेन्टर स्थापनाको लागि पालिका उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले विशेष समन्वय गरेका थिए ।
नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा सम्मान कार्यक्रमकै बीच स्वास्थ्य सेवा केन्द्र र बर्थिङ सेन्टरको उद्घाटन गरिएको थियो । कार्यक्रममा पालिका अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमाल कुमार श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सभापती जंग लामा, ७ नम्बर वडाका अध्यक्ष रबि लामा, प्रशासकीय अधिकृत लोकबहादुर बिक, जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति थियो ।
सो कार्यक्रममा जुगलबासीको आर्थिक उन्नतिका लागि पालिकाले कृषिमा जोड दिने अध्यक्ष स्याङ्बोले बताए । स्थानीयले जग्गा ब्यबस्था गर्न सकेमा ढिला नगरी तामाङ अध्ययन केन्द्र, तामाङ संग्रहालयको डिपिआर गरी तुरुन्त कार्यान्वयन गरिनेमा उनको जोड थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ