कुनै पनि ठाउँ, सम्बन्ध, कार्यक्षेत्रमा हुने असमान व्यवहार महिला हिंसा हो । पितृसत्तात्मक समाजमा आज पनि महिला खुम्चिएर बस्नुपर्ने बाध्याता छ । जतिसुकै शिक्षित परिवार भएतापनि घरमा छोराछोरी, छोरीबुहारी र सासुबुहारी बीचमा हुने व्यवहार निकै निर्दयी र असमान छ । हामी भन्छौं सुन्छौ तर व्यवहारमा लागू गर्दैनौं यो नै समाजको कमजोरी हो । हुन त देवताका पालादेखिनै महिलाले हेपाई सहनु परेको छ । जस्तो कि भगवान रामले आफ्नो पत्नी सीताप्रति गरेको व्यवहार यसको दरिलो उदाहरण हो । समाजमा आजपनि नगन्य यस्ता विविध घटनाहरु महिलासँग सम्बन्धित भएर दिनप्रतिदिन घटिरहेका छन् जसलाई देख्दा नदेखेजस्तो अनि सुन्दा नसुनेजस्तो गरेर हिड्नु पर्ने अबस्था छ ।
संविधानमा ३३ प्रतिशत महिलाको हक जाहेर गरियो, किन पुरुषलाई ६७ प्रतिशत दिईयो ? यहाँ पनि महिलालाई पछि पारिएको स्पष्ट देखिन्छ । हिन्दु धर्मअनुसार एक गृहिणीले छोरा नजन्माएसम्म स्वर्गको द्वार खुल्दैन भनिन्छ । यतिमात्र कहाँ हो र ! कहिले दाईजोको नाउँमा, कहिले बाँझोपनको नाउँमा, कहिले पुरुष भन्दा महिला अघि बढेको नाउँमा, कहिले कार्यालय कर्मचारी महिला भएको नाउँमा, कहिले बलत्कार त कहिले धर्म र जातको नाउँमा पनि महिला हिंसामा परेको कुरा आज घामजस्तै छर्लङ्ग छ ।
एउटै घरमा भएका छोराछोरी बिचमा गरिने व्यवहार पनि फरक छ । छोरालाई जे गर्दा पनि छुट दिने हाम्रो समाजमा आजसम्म पनि छोरीलाई बेलुकीको पाँच बजेपछि घरमा नआईपुग्दा घरको ढोकाको संघार नाग्न भारी हुन्छ । के अब पनि यस्तै सोचमा समाज परिवर्तन र विकासको परिकल्पना गर्न सकिन्छ ?
वर्तमान समयमा हामी जानेर बुझेर पनि महिला हिंसा बढाईरहेका छौं । मानौं हामी विकृति र विसंगतिलाई अंङ्गालिरहेका छौं । बाहिर समानताको कुरा गर्दै हिडेपनि आफ्नो व्यवहारमा ती कुरालाई लागुगर्न नसक्नु अहिलेको परिस्थितिमा सर्वश्रेष्ठ त्रुटी हो । समाजमा पुरुषले महिलालाई हेर्ने नजरिया र व्यवहार जवसम्म परिवर्तन हुँदैन तबसम्म समाज विकासमा महिला हिंसाले अवरोध सिर्जना गरिरहनेछ । महिला र पुरुषलाई बराबरी हक प्रदान गरि समाज विकासको गतिलाई निरन्तरता दिन हाम्रो समाजमा भएका महिला हिंसात्मक क्रियाकलापको अन्त्य गर्नु अति आवश्यक छ । किनकि समाज विकासका लागि महिला र पुरुष दुबैको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैले यस्ता कुटनैतिक व्यवहारहरुलाई जरैदेखि निर्मुल गर्नु आजको आवश्यकता हो ।
छोरी भएर जन्मिदा नसहने अनि छोरा भएर जन्मिदा ममताको पोको फुकाउने मानसपटल भएको समाजमा हुर्किएका हामी चेलीहरुले जुनसुकै स्थानमा आफ्नो हक जाहेर गर्न संघर्षरुपी पाईलाहरु निरन्र चालिरहनुपर्छ । जसरी हावाले आफ्नो बेगलाई सुस्त–सुस्त बृद्धि गर्दछ त्यसैगरी हामीले पनि आफ्ना पाईलाहरुलाई त्यो यात्रामा अघि बढाउनुपर्छ ।
वर्तमान परिप्रेक्षमा महिला स्वयम् सशक्त हुनुपर्दछ । पुरातनवादी धारणालाई त्यागेर अघि बढ्न सकियो भने मात्र हामी नयाँ विकसित समाज निर्माण गर्न सक्छौं । त्यसैले महिला हिंसालाई गाउँ, टोल समाज र सिङ्गो राष्ट्रबाट अन्त्य गर्नु आवश्यक छ । किनकि समाजको विकास कार्यमा प्रत्यक्ष प्रभाव पार्ने बाधक तत्व महिला हिंसा नै हो । जबसम्म यसलाई निर्मुल पार्न सकिन्न तबसम्म समाज विकास गर्न सक्ने सम्भावना रहँदैन ।
चौतारा साँगाचोकगढी नगरपालिका– ७, सिन्धुपाल्चोक
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ