मेलम्ची । विपदबाट जोगिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेडम्वाटर सिन्धुपाल्चोकले स्थानीय तहहरुका लागि तालिम प्रदान गरेको छ ।
मेलम्चीमा दुईदिनसम्म सञ्चालन भएको तालिममा विपद प्रतिकार्यमा गरिनुपर्ने योजनाको बारे प्रशिक्षण दिईएको थियो । तालिममा जनप्रतिनिधि, महिला र स्वयंसेवक गरि २८ जनाको सहभागीता रहेको थियो । तालिममा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले विपद प्रतिकार्यमा सबै एक भएर लाग्नुपर्ने बताए । विपद आउनै नदिने र आईहाले सबै मिलेर प्रतिकार्य गर्नुपर्नेमा उनको जोड थियो ।
बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको व्यवस्थापन तथा जिल्ला बिपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको संयोजनमा तालिमको आयोजना गरिएको थियो । स्थानीय विपद् व्यवस्थापन समिति र नेपाल स्काउट बागमती प्रदेश तालिमको स्थानीय संयोजक रहेका थिए ।
विपद व्यवस्थापन र न्युनिकरणमा मेलम्ची नगरपालिका क्षेत्रमा यो तालिम प्रभावकारी रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए । ‘नेपाल आर्मीले गरेको डेमो र सशस्त्र प्रहरीले दिएको यस्तो तालिम एकदमै प्रभावकारी छ’, तामाङले भने । विपद् व्यवस्थापनको लागि नगरपालिकाले प्रत्येक वडामा रू ५० हजार बजेट पठाएको तामाङले जानकारी दिए । नगरमा पनि आवश्यक सामान तयारी हालतमा राखेको उनले बताए । अबको ३ महिना तयारी अवस्थामा रहि जनधनको रक्षा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ