मेलम्ची नगरप्रमुखज्यू, नमस्कार !
सर्वप्रथम २०७८, साल असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्र पूरै डुबानमा परि हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भई ब्यक्तिको घरमा समेत खोला पसी आफुले गर्दै आएको पेशा, व्यवसाय समेत बगाउँदा सयौं मानिसहरू वेघरबार र कामविहिन भएको स्मरण गराउन चाहन्छु । बाढी सहर भित्र प्रवेश गरेर घरहरू डुबानमा परेपछि मेलम्चीमा मात्र १५, सय हाराहारीमा मानिसहरू तत्कालै बिस्थापित हुनपुग्यो ।
कोरोना माहामारीकाबीच घर भित्रै असुरक्षित भएकाहरु कति त्राससँग समूहमा कष्टसँग बसे होलान् यसको उत्तर त केबल झेल्ने प्रभावितहरुसँगै होला । म केबल स्मरण मात्र गराउन सक्दछु । प्राकृतिक विपत्ति हामी कसैको रहर र अनुरोधले आउने कुरा होइन । न यो कुनै पूर्व सूचना दिएर आउने कुरा हो । तर विपत्ति आएपछि उद्दार, राहत र त्यस्को अस्थायी र दीर्घकालीन समाधान र बचाउ खासगरी सरकारको जिम्मेवारी हो भन्ने हामी सबैलाई हेक्का हुनुपर्दछ ।
एउटा नागरिकलाई पनि आफ्नो सामाजिक कर्तब्यबाट बिमुख हुने सुबिधा हुँदैन । तर दुःखका साथ भन्नुपर्दा गएको साल भयंकर बाढीको चपेटामा पर्दा स्थानीय सरकार निरिह बनेको अनुभव हामसग ताजै छ । यति निकम्मा, लाचार, निरिह र गैरजिम्मेवार न कुनै सरकार बन्न सक्दछ न कुनै जनप्रतिनिधि न कुनै प्रशासक ।
मेलम्ची यो क्षेत्र कै मुटु हो, सौन्दर्य हो, सभ्यता र विकासको पर्याय हो । मेलम्चीको अस्तित्व, सभ्यता र विकाससँग भर्खर विकसित हुनखोजेको यहाँका थुप्रै ठाउँहरुको बर्तमान र भविस्य जोडिएको छ । यो हामी सबैले बुझेकै कुरा हो । तर यति हुँदा हुँदैपनि तत्कालिन जनप्रतिनिधि र नगरका केहि जिम्मेवार कर्मचारीहरुको गम्भीर लापरबाही र गैरजिम्मेवारपनका कारण बाढीपछि मेलम्चीले थप क्षति ब्यहोर्नु परेको पनि यहि मार्फत स्मरण गराउन चाहन्छु ।
मेलम्ची बजारको संरक्षणमा पहल गरिदिन पटकपटक तत्कालीन मेयर र कार्यकारी अधिकृतसँग स्थानीय प्रभावितहरुले आग्रह गरेको सम्झिन्छु । स्थानीय सरकारले सुने नसुने झै गरेर बेवास्ता गरेपछि प्रभावितहरु आफै संगठित भएर मेलम्ची बजार संरक्षण तथा पुनर्निर्माण समितिको नाममा सहयोग संकलन गरेर महत्वपूर्ण काम भएको तपाईलाइ सम्झनै होला ।
आज मेलम्ची जुन अबस्थामा रहेको छ यो त्यहि कामको परिणाम हो । हामीलाई त्यस्का प्रति ठूलो गर्व छ । बाढीपछि बजारको संरक्षणमा काम गर्दा सहयोग गर्नुको सट्टा उल्टै स्थानीय प्रभावितहरुलाई अप्रत्यक्ष रुपमा नगरपालिकाबाट धम्की आएको यहाँका स्थानीयले न कहिल्यै बिर्सिन्छन न कहिल्यै माफी दिन्छन् ।
लोकतन्त्रमा जनता भन्दा सर्वशक्तिमान न कुनै ब्यक्ति हुन्छ न कुनै ब्यवस्था । जनताको दुःखमा काम नगर्नेहरु अस्वीकृत हुन्छन् । यो अस्ति भर्खरै सम्पन्न भएको निर्वाचन परिणामले नै प्रमाणित गरिसकेको छ । नयाँ निर्वाचित नगरप्रमुख भएर आएपछि तपाईंसँग मेलम्चीका स्थानीय बासिन्दाका केहि अपेक्षाहरु छन् । खासगरी निर्वाचनको मिति अघि मनोनयन दर्ता गर्नु पूर्व मतदातालाई मत माग्न सम्बोधन गर्ने क्रममा होस् चाहे निर्वाचन सप्पन्न भएर परिणाम आएपछिको विजयी सभामा बाढीले खण्डहरजस्तै बनेको मेलम्चीको संरक्षण र पुनर्निर्माणमा तपाईंले व्यक्त गरेको प्रतिबद्धताको यौटा साक्षी पार्टीको जिम्मेवार सदस्य हुनुको नाताले म पनि थिएँ ।
आज प्रत्येकले हामीसँग प्रश्न गर्छ बाढीले तहसनहस पारेको मेलम्ची बजारको संरक्षण र पुनर्निर्माणमा स्थानीय सरकारको भूमिका कस्तो छ ? स्थानीय सरकारको नेतृत्वमा के कति काम हुदैछ ? मेलम्ची बजार संरक्षणमा प्लम ढलान हुन्छ कि आरसीसी ढलान हुँदैछ ? नयाँ पुल मुनि जालि भरेर नदी नियन्त्रण गर्ने काम नगरपालिकाको बजेट मार्फत भएको हो कि प्रदेश र संघीय सरकारको ? खोला भरी मेसिन मार्फत स्टोन स्टोकिङ र च्यानलाइजिङको काम भैईरहेको रहेछ नगरपालिकाको बजेटले हो कि ? अन्तै कतैको ? अनि म अनुत्तरित हुन्छु ।
बजार जोखिममा रहेको कुरा पटकपटकको भेटमा भनिरहेकै छु । त्यसमा पनि तस्वीरमा देखिएको मेलम्चीको नयाँ पुल मुनिको स्थान ठूलो जोखिममा रहेको पनि थुप्रै पटक भनेको छु । मेलम्ची नयाँ पुल मुनि भु–संरक्षण मार्फत प्राप्त बजेटबाट भएको जाली भर्ने काम पर्याप्त नभएकोले त्यहि निर अलि बढी जोखिम रहेको पनि हामीसँगै निरीक्षणमा जाँदा देखेकै हो । नभन्दै हिजो राती आएको बाढी तेहि ठाउँबाट प्रवेश गरिसकेछ ।
अब तत्काल नै केहि काम त्यस ठाँउमा हुनसकेन भने मेलम्चीले कुनैपनि बेला ठूलो र अप्रिय क्षति ब्यहोर्नु पर्ने हुनसक्छ । बजेट जुनसुकै निकायबाट आएर काम भएको होस् त्यस्को थप संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो । त्यसैले मैले यसै मार्फत नगर प्रमुखको ध्यानाकर्षण गराउन चाहन्छु ।
कर्मचारीसँग स्थानीयको खासै कुनै गुनासो र आग्रह छैन । बस जनताले तिरेको करले तलब भत्ता बुझेपछि इमान्दारीपूर्वक काम गरिदिउन । गुनासो र अपेक्षा त जनप्रतिनिधिसँग छ । आज त्यहि स्थानीयको गुनासो र अपेक्षा पोको पारेर मेयरज्यूको ध्यानाकर्षण गराउँदैछु ।
विपद् पछि हैन, विपद् अघि
बाढी पछि होइन, बाढी अघि
क्षति भएपछि होइन, क्षति हुनु अघि
स्थानीय सरकारको काम अनुगमन गर्ने मात्र होइन । विपद् पछि हुनसक्ने सम्भावित जोखिमबाट उद्दार गर्न आवस्यक तालिम र ब्यबस्थापन सम्बन्धी कार्यक्रमहरु पनि गर्दै गर्नुहोला तर सबैभन्दा उत्तम जोखिम नै हुन नदिन अत्यावश्यक नियन्त्रणको काम पनि गर्दा उपयुक्त होला कि ? त्यसैले तत्काल नदी नियन्त्रणका लागि अत्यावश्यक स्थानमा केहि काम गर्न सबै स्थानीयबासिन्दाको तर्फबाट आग्रह गर्दछु ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ