चौतारा । आफू नगरप्रमुख हुँदा गरेको काम धमाधम पूरा भईरहँदा आफूले देखेको सपना पूरा हुँदै गएको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिं तामाङले बताएका छन् ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ८ मा निर्माण गरिएको रानीपोखरी मन्दिर र पोखरीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बुधबार तामाङले रानीपोखरी संरक्षण र पुनर्निर्माणका लागि आफूले गरेको प्रयासले मूर्त रुप लिएको बताए । ‘रानीपोखरीको संरक्षण गर्न नगरले गरेको प्रयास सफल भएको छ’, तामाङले भने– ‘पर्यटकीय क्षेत्रको रूपमा यो ठाउँ स्थापित भएकोमा मलाई गर्व लागेको छ ।’
रानीपोखरीमा मन्दिर र पोखरी निर्माणका कारण आन्तरिक एवम् बाह्य पर्यटकको चहलपहल बढेको इर्खु रानीपोखरी संरक्षण मन्दिर उपभोक्ता समितिको अध्यक्ष रामकृष्ण दंगालले बताए । नगरपालिकाको सहयोगमा एक वर्ष अघिबाट निर्माण सुरु गरिएको रानीपोखरीको मन्दिर र पोखरी निर्माणले पूर्णता पाएको भन्दै अब यो स्थललाई धार्मिक पर्यटनसँग जोड्दै नगरकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु पर्नेमा उनले जोड दिए ।
रानीपोखरीमा जनैपूर्णिमाको दिनमा मेला लाग्छ । धार्मिक तथा पर्यटकीय महत्वको यो स्थलबाट आसपासको मनोरम हरियालीमा रम्दै अवलोकन गर्न सकिन्छ । उद्घाटन समारोहमा जनप्रतिनिधि, स्थानीयको बाक्लो उपस्थिति थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ