भोताङ । पर्यटकीय स्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर संकलन गरिएको छ ।
कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर संकलन गरी भरियामार्फत भोताङको फोहर संकलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए । ‘पर्यटन प्रवद्र्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मंगलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति पर्यटन प्रवर्द्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।
पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीय स्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ