चौतारा । युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा ३९० घण्टे वारिष्ठा तालिम सुरु गरिएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद् हेटौडाको आर्थिक सहयोग जिल्ला युवा समिति सिन्धुपाल्चोकको समन्वय र हाम्रो प्रशिक्षण तालिम केन्द्र प्रा.लि. मकवानपुरको प्राविधिक सहयोगमा निःशुल्क ३९० घण्टे वारिष्ठा (कफि मेकिङ) तालिमको सुरुवात गरिएको हो । तालिममा २० जना युवाको सहभागिता रहने आयोजक संस्थाको युवा स्वयंसेवक रुपक दुलालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ सिन्धु शाखाको सभाकक्षमा मंगलबार भएको तालिम उद्घाटन कार्यक्रम चौतारा सागाँचोकगढी नगरपालिका– ५ का कार्यवहाक अध्यक्ष रामबहादुर घलेको प्रमुख अतिथिमा र नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद् सदस्य एवम् प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषको विषेश अतिथितामा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्यवहाक अध्यक्ष घलेले सीपको सदुपयोग गर्न सके युवाहरु आत्मनिर्भर हुन सक्ने बताए । उनले वारिष्ठा तालिमको माग देशभित्र मात्रै नभई विदेशमा समेत उच्च रहेकोले ध्यान दिएर तालिम लिन समेत आग्रह गरे । त्यस्तै विशेष अतिथि शिरीषले रोजगारको लागि युवा पलायन बढेको तथ्याङ्क प्रस्तुत गर्दै सीप सिकेर देशमै स्वरोजगार हुन आग्रह गरे । ‘तपाईहरु सबै युवा हुनुहुन्छ, अब युवाहरुले नै सीप प्रयोग गरेर देशको अर्थतन्त्रलाई सबल बनाउनुपर्दछ’, उनले भने– ‘सीप सिकेर विदेशिनु भन्दा सीपको प्रयोग गरी यहाँ भएका वेरोजगारहरुलाई रोजगारी प्रदान गर्नु पर्दछ । तब मात्रै देश समृद्धितिर जान्छ ।’
उद्घाटन समारोहमा प्रशिक्षक अविना श्रेष्ठले तालिममा हुने सिकाईको विषय र वारिष्ठाको महत्वबारे जानकारी दिएकी थिईन् । सो कार्यक्रमको सञ्चालन तालिम प्रदायक संस्थाका भीम भुजेलले गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ