चौतारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले नयाँ पत्रकार उत्पादनको लागि तालिम सञ्चालन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिको सहयोगमा प्रेस सेन्टरले उद्यमशीलता एवम् विकास पत्रकारिता तालिम चौतारामा प्रदान गरेको हो । तालिमको उद्घाटन गर्दै शुक्रबार नगरप्रमुख कृष्णप्रसाद सापकोटाले पत्रकारिता क्षेत्रले समग्र विकासको परिकल्पनालाई सार्थक तुल्याउने बताए । उनले तालिममा सहभागिहरुले आफुले सिकेको कुरा पत्रकारितामार्फत उतार्न आग्रह गरे ।
‘नयाँ जोश र हौसलाको साथ तपाईहरु यो तालिममा सहभागि भईरहनु भएको छ, यसले सिन्धु पत्रकारितामा थप उचाई दिनेमा म विश्वस्त छु’, सापकोटाले भने– ‘नयाँपनसहित खोजमूलक र शिक्षामूलक सन्देश प्रवाहको लागि यो तालिम फलदायी हुनेछ ।’ उनले नगरपालिका पत्रकारिता क्षेत्रको विकासको लागि सधैं सकारात्मक रहेको बताए ।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुको खडेरी परेको बखत तालिममा महिला सहभागीता रहेकोमा खुसी व्यक्त गरे । उनले सहभागि मध्ये १० प्रतिशत सक्रिय पत्रकारिता आए आफुले महासंघको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
तालिममा नगरभरीका ४४ जना सहभागि रहेका थिए । तालिमको समापन समारोहमा सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष सुन्दर शिरीषले तालिममा सिकेका कुराहरुलाई पत्रकारितामा उतार्न अनुरोध गरे । ‘तपाईंहरुले लिनुभएको यो उद्यमशीलता एवम् विकास पत्रकारिता तालिमले परम्परागत पत्रकारितालाई उद्यमशीलतातर्फ जोड्ने छ भन्ने हाम्रो विश्वास छ’, उनले भने । पुरानाहरुले पत्रकारिता छाड्दै गएकाले नयाँ उत्पादन गर्न तालिमको आयोजना गरिएको उनको भनाई थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ