गत वर्षको स्थानीय, प्रदेश र संघीय निर्वाचन पछि देशका मुलधारका राजनीतिक दलहरुमा एक किसिमको उकुसमुकुस र छट्पटी देखिएको थियोे । अझ उपनिर्वाचन पछि त छट्पटीको पारो झनै माथि पुग्यो । कारण थियोे नेपाली राजनीतिमा विसर्जनको संघारमा पुगिसकेको राप्रपाले मात्रै हैन लौरो र घण्टीहरुले समेत बडेमानका हस्तीहरुलाई पानी समेत भन्न दिएनन् । ठूला दलको हैसियतमा नागरिकले प्रश्नचिह्न तेर्स्याए । दलका युवा पुस्तामा एउटा राम्रै बहस चल्यो– हामी अब कि सच्चिनु पर्छ कि सक्किनु पर्छ ।
हामी मानव हौ अन्तिम सास रहुञ्जेलसम्म पनि आफ्नो अस्तित्व कायम राख्न चाहन्छौं । सक्किन कोही चाहँदैन बरु सच्चिन प्रयास गर्छ । शायद यही अनुभुति नेतृत्वमा रहनेहरुले गरेको हुनुपर्छ । अनि जनतातर्फ नै फर्कने प्रयासमा सबै दलहरू लागेको देखिएको छ । मिसन ०८४ सबैले शुरु गरिसकेका छन् । एमालेको मिसन ग्रासरुट अभियान, कांग्रेसको समुदायमा कांग्रेस राष्ट्रिय अभियानदेखि पछिल्लो समय माओवादी केन्द्रको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान जनतापट्टी फर्कने प्रयासका रुपमा मान्न सकिन्छ । देशका राजनीतिक दलहरू जनतासँग जोडिन खोज्नुलाई सकारात्मक रुपमा नै लिनुपर्छ ।
दस वर्षे जनयुद्ध र त्यसको जगमा उभिएर भएको ६२/६३ को जनआन्दोलन मार्फत प्राप्त राजनैनिक उपलब्धिको अपनत्व माओवादी पार्टीलाई दिलाउन सक्छ ?
तर आज यो आलेखमा मैले चर्चा गर्न खोजेको खास विषय भने माओवादीको रुपान्तरण अभियान र यसको सफलता वा असफलताकै सन्दर्भमा हो । दश वर्षको सशस्त्र द्वन्द, हजारौं नेपालीको बलिदान र अर्बौंको भौतिक क्षतिपछि शान्ति वार्तामार्फत संसदीय राजनीतिमा प्रवेश गरेको माओवादीले यी १६ वर्षमा भोगेको सफलता र असफलतासँग भोलीका दिनहरुको बाटो पनि देखिन सक्छ । २०६४ मा ठूलो दल मात्रै हैन प्रत्यक्ष तर्फ बहुमत नै प्राप्त गरेको दल ७० साल, ७४ साल हुँदै ७९ सम्म आइपुग्दा झण्डै झण्डै अस्थित्व रक्षा गर्नसमेत कठिन अवस्थामा पुगेको देखिन्छ । ६ महिना अघि खुलेको रास्वपा सँगसँगै पुगिसकेको छ । अब माओवादी पुरानै लयमा फर्कन्छ ? साँच्चै रुपान्तरण हुन्छ ? दस वर्षे जनयुद्ध र त्यसको जगमा उभिएर भएको ६२/६३ को जनआन्दोलन मार्फत प्राप्त राजनैनिक उपलब्धिको अपनत्व माओवादी पार्टीलाई दिलाउन सक्छ ? यी प्रश्नको उत्तर खोज्नु अघि माओवादी यो अवस्थामा आइपुग्नुको केही कारण माथि चर्चा गरौं ।
पहिलो–
२०६४ को संविधानसभा निर्वाचनमा माओवादीले प्राप्त गरेको मत सबै आफ्नो पार्टी मन पराएर आएको कट्टर मत हो भन्ने भ्रम पाल्नु नै ठुलो भुल थियोे । ६४ मा माओवादीले प्राप्त गरेको मत आश, त्रास र विश्वासले प्राप्त मत थियो । तल्लो निम्न वर्गका मानिसका ठुला आशा थिए । मध्यम वर्गीय मतदातामा आशा र त्रास दुबै थियोे, आशा संघर्षको आगोबाट आएको राम्रो गर्छ कि भन्ने र त्रास हारेको अवस्थामा फेरि युद्धमा फर्कन्छ कि भन्ने र अर्को विश्वास गर्ने पक्कै राम्रो मात्रै गर्छ भन्ने शायद् ती मतदाता आज पनि अधिकांश माओवादी मै छन । आश र त्रासमा माओवादीमा मत दिनेहरुलाई संगठित बनाउन नसक्नु नै माओवादी नेतृत्वको ठूलो भुल थियो ।
दोश्रो–
संविधानसभा निर्वाचन पछि गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत राष्ट्रपति बनाएर प्रचण्ड प्रधानमन्त्री बनेर सबैको अस्तित्व स्विकार्दै संविधान निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भए पहिलो संविधानसभा बाटै माओवादी अनुकूल संविधान निर्माण हुनसक्थ्यो ।
तेस्रो–
केही समय मात्रै पदावधि भएका रुक्मांगत कटुवाललाई चलाउनु प्रचण्डको अर्को भुल थियोे र चलाइसके पछि बडो नैतिकता देखाउदै राजिनामा गर्नु झन ठूलो गल्ती थियोे । किनकि नेपाली राजनीति त्यत्रो नैतिकता देखाउने लायकै थिएन ।
चौथो–
बाबुराम, बैद्य, विप्लव, सिपि, बादलहरुलाई थोरै त्याग गरेरै भएपनि पार्टीमा टिकाउन नसक्नु प्रचण्डको ठुलो कमजोरी थियोे ।
पाँचौ–
आफू र आफ्नो पार्टीका नेता कार्यकर्ता बिस्तारै निम्न वर्गीय जनताबाट टाढिँदै गएको र पुँजीपति वर्गको संगतमा पुगेको पत्तो नपाउनु । आफ्नो पार्टीको वास्तविक धरातल तल्लो वर्गका नागरिक हुन भन्ने तथ्य बिर्सनु ।
छैटौं–
भद्दा संगठनात्मक संरचना, संसदीय प्रथालाई अंगिकार गरिसके पछि पनि टिके प्रथाबाट सबै तहका संगठन चलाउने प्रयास गर्नु । आफ्ना प्रतिस्पर्धाी संसदीय राजनीतिमा हामी भन्दा खारिएका छन भन्ने तथ्य बिर्सनु
सातौं–
कार्यकर्ता व्यवस्थापनमा चुक्नु । दशौं वर्ष युद्धमा बिताएका, अंगभंग भएका, परिवार गुमाएका र पार्टीमा धेरै रगत पसिना बगाएका आफ्ना कार्यकर्ता कहाँ छन् ? कस्तो अवस्थामा छन् त्यसको खोजिनीति नहुनु माओवादी पार्टी ओरालो लाग्दै जानुका मूख्य कारणहरु देखिन्छन् ।
पिरो हुँदाहुँदै पनि मरिच झैं चाउरिएको पार्टीलाई तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले प्राण वायुको काम गर्न सक्ला ?
यी र यस्ता धेरै कारणहरु छन् जसले व्यवस्था परिवर्तनमा यति ठूलो भूमिका खेलेको माओवादी पार्टी बिस्तारै मरिच झैं चाउरिदै गएको छ । पिरो हुँदाहुँदै पनि मरिच झैं चाउरिएको पार्टीलाई तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले प्राण वायुको काम गर्न सक्ला ? के माओवादी साच्चै रुपान्तरण होला ? उल्लेखित कमीकमजोरीहरुबाट पाठ सिक्दै सच्याउन सकिने कमजोरी सच्याउदै पार्टीले पुनर्जीवन प्राप्त गर्ला ? एकछिन यतातिर पनि विचार विमर्श गरौं ।
सर्वप्रथम माओवादी रुपान्तरण हुनका लागी पार्टीको नेतृत्व तहदेखि तल्लो तहसम्मकै नेता कार्यकर्तामा रुपान्तरण हुनु जरुरी छ । तिनका जीवनशैली, रहनसहन, पार्टीको बिचार र पद्धति प्रतिको इमानदारीता, पार्टीको वास्तविक धरातल आदि आदि । शहरी जीवनशैलीमा रमाउन थालिसकेका नेतृत्वमा रहन रुचाउने कार्यकर्ताहरु जगसम्म आएर नागरिकका सुखदुःखमा सँगसँगै रमाउन सक्लान् ? श्रम र श्रमजीवीसँग जोडिएर उत्पादनमा लाग्लान् ? बिहान बेलुकीको छाक टार्न नसकेर अरब भासिएका युवाका बा आमालाई तिम्रो छोरा फर्काएर देशमै उत्पादनसँग जोड्छौ र देशलाई आत्मनिर्भर बनाउँछौ भन्दै तिनका आँसु पुछ्न सक्लान् ? बर्षमा केहिदिन शहरको आलिशान महल छोडेर आफुलाई बचाउन ज्यानै त्यागेका सहिद परिवारका आँसु पुछ्न गाउँ झर्लान् ?
तीन महिनामा सिमित कार्यकर्ताको ८/१० बैठक बसेर, अलिअलि झाडी फाँडेर, विद्यार्थीको खडेरी परेका एकाध विद्यालयमा सरसफाइ गरेर देखाउनका लागि एकदुई तस्बिर सामाजिक सञ्जालमा राख्दैमा पार्टीको रुपान्तरण सम्भव छ ?
दिनहुँ राम्रो शिक्षा र रोजगारीका लागि घरखेत बन्दगी राखेर एयरपोर्टमा लाइन लाग्ने युवालाई देशमै गुणस्तरीय शिक्षा र उचित अवसर दिलाउने प्रतिबद्धता गर्न सक्लान् ? तीन महिनामा सिमित कार्यकर्ताको ८/१० बैठक बसेर, अलिअलि झाडी फाँडेर, विद्यार्थीको खडेरी परेका एकाध विद्यालयमा सरसफाइ गरेर देखाउनका लागि एकदुई तस्बिर सामाजिक सञ्जालमा राख्दैमा पार्टीको रुपान्तरण सम्भव छ ?
यो १५ बर्षका क्रियाकलापले शंका गर्ने धेरै ठाउँ छन् । तर पनि भनिन्छ मानव जीवनको ठूलो शक्ति भनेको आशा नै हो त्यो निभ्न दिनु हुदैन नत्र बाँच्ने आधार नै सकिन्छ । त्यसैले आशा गरौं, माओवादी पार्टी साँच्चै रुपान्तरण होस र जनयुद्धको मूल्य साबित गर्न सकोस् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ