चौतारा । बागमती प्रदेश सरकारले चौतारा अस्पताललाई ५० शैया बनाउने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रदेश सरकार मातहत रहेका चौतारा अस्पतालसहित १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । जसअनुसार प्रदेश राजधानी हेटौँडाको हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३०० शैया क्षमतामा विकास गर्ने निर्णय भएको छ भने भक्तपुरको भक्तपुर अस्पताललाई ३०० शैया बनाउने निर्णय भएको छ । यसअघि ती दुवै अस्पतालहरू १०० शैया क्षमतामा सञ्चालन हुँदै आएका थिए ।
बैठकले धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिसुली अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल, चितवनको रत्ननगर बकुलहर अस्पताललाई १०० शैया बनाउने निर्णय गरेको छ । त्यस्तै सिन्धुपाल्चोकको चौतारा अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई ५० शैया बनाउने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुका लागि १ हजार ६ सय ६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय गरेको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ