चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापासहितको टोली बालमैत्री स्थानीय तहबारे अनुभव आदानप्रदान गर्न धुलिखेल पुगेको छ ।
सो टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पुगि बालमैत्री स्थानीय तह लगायत विभिन्न विषयमा त्यहाँका जनप्रतिनिधि, कर्मचारीसँग छलफल गरेको छ । अन्तरक्रियामा आफ्नो धारणा राख्दै उपप्रमुख थापाले धुलिखेल नगरपालिकाले गरेको राम्रा कामहरुलाई सिकाइको रूपमा लिदै आफ्नो तहमा केही गर्ने प्रेरणा प्राप्त गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईन् । ‘बालबालिकामा लगानीले तत्कालीन प्रतिफल नदेखिएपनि भविष्यको लागि उपलब्धिमूलक हुन्छ’, उनले भनिन्– ‘बालबालिकाको विकासमा यो भ्रमण र अन्तरक्रियाले सघाउ पुर्याउने छ ।’
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाबाट विभिन्न शाखाका प्रमुख तथा अधिकृत, वडा अध्यक्ष, विद्यालय प्रधानाध्यापक, नगर बाल सञ्जाल प्रतिनिधि लगायतको उपस्थित रहेको थियाे । अन्तरक्रियामा चौतारा साँगाचोकगढी नगर बाल सञ्जालका अध्यक्ष सुजन श्रेष्ठले नगरपालिकामा बालबालिका सम्बन्धि भएका कार्यक्रम र नगर बाल सञ्जालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर बाल सञ्जालको उक्त प्रतिवेदन मायाको चिनोको रूपमा धुलिखेल नगर बाल सञ्जाल अध्यक्ष समीर प्रजापतिलाई हस्तान्तरण समेत गरिएको थियो ।
धुलिखेल नगर बाल सञ्जाल अध्यक्ष प्रजापतिले चौतारा साँगाचोकगढी नगर बाल सञ्जालका अध्यक्ष सुजन श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए । सो कार्यक्रममा धुलिखेल नगरपालिका नगर प्रमुख अशोककुमार व्याञ्जुले बालमैत्री स्थानीय तह घोषणमा आवश्यक सहयोग गर्ने बताए । सो अवसरमा व्याञ्जुले चौतारा साँगाचोकगढीका उपप्रमुख थापालाई मायाको चिनो प्रदान गरेका थिए ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ