‘कमाउने आशमा चरम जोखिम मोल्दै चेलीहरु’
मणिसुन्दर कोईराला (सुन्दर शिरीष)
० गत वैशाखमा वैदेशिक रोजगारीका क्रममा मकाउ हिँडेकी सिन्धुपाल्चोकको बाह्रबिसेकी ४० वर्षीया याङजेन शेर्पा दक्षिण अमेरिकास्थित क्यारेबियन टापु ट्रिनिडाड एन्ड टोबागोको पियारको अन्तर्राष्ट्रिय विमानस्थलको हिरासतमा छिन् । मकाउबाट अवैध रूपमा अमेरिका छिर्न खोजेकी उनीसहित बाह्रबिसेकै ४४ वर्षीया सेरसाङ लामालाई क्यारेबियन एयरलाइन्सका सुरक्षाकर्मीले बन्धक बनाएको हो । लामा घरेलु कामदारको रूपमा दुबई जान हिँडेकी थिइन् । चार महिनापछि परिवारसँग अप्रत्यक्ष सम्पर्कमा आए पनि उनीहरूलाई अहिलेसम्म उद्धार भएको छैन ।
० घरेलु कामदारको रूपमा गैर कानुनी बाटो हुँदै कुवेत पुगेकी मकवानपुरको सरिता थिङको त्यहीँ मृत्यु भयो । शव स्वदेश पठाउन ३९० कुवेती दिनार लाग्ने र दूतावासले पनि केही गर्न नसक्ने भनेपछि उनको शव अस्पतालमै बेवारिसे बन्यो । अन्ततः आफन्तले आर्थिक सङ्कलन गरी ६ महिनापछि उनको शव नेपाल ल्याए ।
० सिन्धुली कमलामाई नगरपालिका– ४ कि ललिता आछामी घर खर्च धान्नकै लागि लेबनान पुगिन् । घरेलु कामदारको रूपमा पुगेकी उनी काम गर्ने घरको मालिकको छोरोले अभद्र व्यवहार गर्न थालेपछि एक वर्षपछि नेपाल फर्किइन् । ‘मालिकको छोरो रक्सी खाएर प्रायः अबेर आउँथ्यो । उसकै लागि राति १२–१ बजेसम्म जागा बस्नुपथ्र्यो । एक वर्षसम्म जसोतसो काम गरे पनि मालिक्नी र उसको छोराको व्यवहारले त्यहाँ बस्न सकस भयो र फर्किए’, उनले पीडा पोखिन् ।
० कुवेतमा मानसिक सन्तुलन गुमाएर बेवारिसे भएकी भोटेकोशी गाउँपालिकाको मार्मिङकी अनिशा विक सामान्य उपचार गरेर नेपाल फर्किइन् । उनी विभिन्न संस्था र दूतावासको पहलमा सात वर्षपछि नेपाल फर्केकी थिइन् । तर पनि राम्रो उपचार गर्न नपाउँदा अन्ततः उनले संसार त्यागिन् ।
०००
वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेर दुःख भोगेका बागमती प्रदेशका विभिन्न जिल्लाका चेली र उनीहरूका परिवारका यी त केवल प्रतिनिधि घटना मात्रै हुन् । असुरक्षित रूपमा विदेश जाँदा यी र यस्ता धेरै घटनाले महिलाहरूलाई समस्यामा मात्रै पारेको छैन, धेरैले विदेशी भूमिमै ज्यान गुमाउनुपरेका कयौँ दुखान्त छन् ।
बागमती प्रदेशमा पछिल्लो पटक १६ देखि ४५ वर्षका विदेश जाने महिलाहरूको संख्या ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा बागमती प्रदेशका १३ वटा जिल्लाहरूबाट १३ हजार ५ सय ४५ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् । साउनमा ३ हजार १५ जना, भदौमा २ हजार ४ सय ४३ जना, असोजमा २ हजार १ सय ४० जना, कार्तिकमा २ हजार ८ सय ९ जना र मङ्सिरमा ३ हजार ३८ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्कले देखाउँछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको ५ महिनामा वैदेशिक रोजगारीमा जाने महिला कामदारमध्ये सिन्धुपाल्चोक पहिलो नम्बरमा रहेको छ । विभागका अनुसार साउनदेखि मंसिरसम्ममा सिन्धुपाल्चोकबाट १ हजार ७ सय १२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै दोस्रो नम्बरमा रहेको मकवानपुरबाट १ हजार ७ सय ११ जना महिलाले श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाउँछ । त्यस्तै तेस्रो नम्बरमा रहेको काभ्रेपलान्चोक जिल्लाबाट १ हजार ४ सय ८३ महिलाले श्रम स्वीकृति लिएका छन् ।
बागमती प्रदेशमा सबैभन्दा कम श्रम स्वीकृति लिने महिलाको संख्या रसुवाबाट रहेको छ । रसुवाबाट २ सय ८ जना रहेका छन् । त्यस्तै, नुवाकोटबाट १ हजार २ सय ७०, दोलखाबाट ७ सय ४९, रामेछापबाट ७ सय ९४, चितवनबाट १ हजार ३ सय ७०, सिन्धुलीबाट ६ सय ९५, धादिङबाट १ हजार १ सय २५, काठमाडौंबाट १ हजार ३ सय ५८, ललितपुरबाट ७ सय १५ र भक्तपुरबाट ३ सय ५५ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या दैनिक उकालो लागिरहेको छ । ‘रोजगारीका खोजीमा विदेश जाने क्रम अहिले महिलाहरूमा बढी देखिएको छ’, वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी भन्छन्– विशेष गरी वैदेशिक रोजगारीमा जाने महिलाहरूको पहिलो रोजाइ खाडी मुलुक देखिन्छ । विभागका अनुसार सबैभन्दा धेरै युएई, कुवेत, कतार, साउदी र मलेसिया जाने महिलाको संख्या धेरै छ ।
अवैध रूपमा जान्छन्, तथ्याङ्कले देखाउँदैन
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेबारे तथ्याङ्क राखेपनि अवैध रूपमा जाने महिलाको तथ्याङ्क सरकारसँग छैन । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार खाडी मुलुक कुवेत, साउदी, ओमन, बहराइन र इराकमा ठूलो संख्यामा महिलाहरू घरेलु कामदारमा लैजाने गरेका छन् । ‘सरकारले घरेलु कामदार प्रतिबन्ध लगाए पनि भिजिट भिसा र भारतको बाटो हुँदै खाडीका देशहरूमा गइरहेका छन्,’ ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्र भन्छन्, ‘तथ्याङ्क नभए पनि यसरी जानेको महिलाहरूको आँकडा ठूलो छ ।’
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवम् वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ सरकारी तथ्याङ्कमा बिदेसिने सबै महिलाको संख्या अट्न नसकेको बताउँछन् । उनका अनुसार सरकारले त्रिभुवन विमानस्थलबाट बाहिरिनेको मात्र तथ्याङ्क राख्ने गरेको छ । त्योभन्दा बढी भारतीय बाटो हुँदै वैदेशिक रोजगारमा गइरहेका छन् । ‘मकवानपुरको महिला मकवानपुरमै पासपोर्ट बनाएर उतैको दलालमार्फत् भारतको बाटो हुँदै खाडी मुलुक पुग्छिन् । सरकारसँग यस्ता महिलाको तथ्याङ्क राखेको छैन, बेरुत, युएई र ओमनमा काम गर्न गएका नेपाली महिलाको अवस्थाबारे अध्ययन गरेका गुरुङ उदाहरण दिँदै भन्छन्– ‘मैले लेबनानको बेरुतमा १२ सय नेपाली महिला भेटेँ । तर सरकारी तथ्याङ्कमा त्यहाँ काम गर्ने नेपाली महिलाको संख्या अत्यन्तै न्यून थियो ।’
उनले सुनाएको यो एउटा मात्रै उदाहरण हो । कैयौँ नेपाली महिला विदेशमा जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् तर न तिनीहरू सरकारको सम्पर्कमा आएका छन् न सरकारले नै चासोपूर्वक खोजी गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार सरकारसँग श्रम स्वीकृत लिएर रोजगारमा जानेहरूको मात्रै तथ्याङ्क राख्ने गरिएको छ । ‘अब लुकिछिपी जाने, एजेण्टमार्फत श्रम स्वीकृति नलिई जानेहरूको तथ्याङ्क त कसरी राख्नु ?,’ विभागका निर्देशक सुवेदीले भने ।
पासपोर्ट बनाउनेमा महिला धेरै
वैदेशिक रोजगारको लागि पासपोर्ट बनाउनेको संख्यामा पनि महिला बढी रहेको सरकारी तथ्याङ्कले देखाउँछ । ‘मंसिर महिनामा हाम्रो कार्यालयबाट ७ सय ३१ ले राहदानी लिए’, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराम चिलुवाल भन्छन्– ‘ति मध्ये ३ सय ९८ जना महिला रहेका छन् ।’ मकवानपुरमाजस्तै सिन्धुपाल्चोकको अवस्था पनि उस्तै छ । मंसिर महिनाभर ८ सय १२ जनाले राहदानी लिँदा ४ सय ५३ जना महिलाले राहदानी लिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली बताउँछन् ।
गरिबी, बेरोजगारी र देखासिकीजस्ता कारणले महिलाहरुले रोजगारीको लागि राहदानी बनाउन आउने गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बुझाई छ । ‘हाम्रोमा राहदानी बनाउन आउने अधिकांश तामाङ समुदायका महिला हुन्छन् । उनीहरूलाई राहदानी बनाएर के गर्ने भनेर सोध्दा अधिकांशले काम गर्न बहराइन, कुवेत जाने भन्छन् । शिक्षाको लागि जान खोज्ने कमै मात्रामा देखिन्छ,’ ढकालले भने ।
वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ जुन जिल्लाबाट जाने सुरुवात भयो, त्यही जिल्लाबाट जानेको संख्या बढ्दो देखिएको औंल्याँछन् । ‘विदेश गएकाले आफन्त तथा साथीसंगीलाई डाक्ने गरेका छन्,’ उनले भने– ‘केही जिल्लाबाट मात्रै बढी महिला विदेसिनुको मूल कारण यही हो ।’ शिक्षित युवतीमध्ये कतिपयले गाउँमै रोजगारी पाउने गरे पनि निम्न आयस्तर भएर औपचारिक शिक्षा पाउनबाट वञ्चित अधिकांश युवती बिदेशिने गरेको उनको भनाई छ ।
छोरीको कमाई स्वीकार्छन्, स्वीकार्दैनन् परिवार नै पीडा !
कुनै बेला चेलीबेटी बेचबिखनको जिल्लाका रूपमा चिनिएको सिन्धुपाल्चोक पछिल्लो समय महिला आप्रवासनका लागि चिनिन थालेको छ । बागमती प्रदेशमा विदेशिने महिलाको तथ्याङ्क पहिलो नम्बरमा रहेको देखिन्छ । पैसा कमाउने, धनी बन्ने र आनन्ददायी जीवन बिताउने सपना बोकेर वर्षेनी यहाँका धेरै महिला खाडी मुलुक पुग्छन् । यसरी खाडी पुग्ने केहीले सपना पूरा पनि गर्छन् । केही दुःख, पीडाको पोको बोकेर निराश हुँदै स्वदेश फर्कन्छन् । कति त उतै बेपत्ता हुन्छन् ।
विदेशमा सास्ती खेपेर फर्केको, श्रम शोषण, घरेलु हिंसादेखि बलात्कारको सिकारसम्म भएको कुमारी चेलीले नासोमा बच्चा लिएर फर्केको, मानसिक सन्तुलन गुमाएको घटनाहरू बढिरहेको छ । ‘वैदेशिक रोजगार कहाँ सहज छ र ? आफ्नो कोही हुन्न मालिकको निर्देशन, निगाहामा दैनिकी गुजार्नु पर्छ’ कुराकानीको सिलसिलामा वैदेशिक रोजगारबाट फर्केकी निशा (नाम परिवर्तन) ले भनिन्, ‘कति त शारीरिक शोषण हुने काममा बेचिन्छन् त कोही श्रमिकको रूपमा बेचिन्छ ।’ दिनदिनै आफू माथि कुटपिट गर्ने श्रीमानको कुटाई खान नसकेर घरेलु कामदारको रूपमा कुवेत उडेकी थिइन् ।
उनी उता काम गर्न गएकै मौका पारेर श्रीमानले भने यता दोस्रो विवाह गरे । यो खबर पाएपछि उनी नेपाल फर्किइन् । दोस्रो विवाह गरेका श्रीमानले नै उनलाई विदेशमा परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाए । उनलाई न परिवारले स्विकार्यो, न त समाजले नै । समाजले वैदेशिक रोजगारीमा गएकी महिला भनेर बहिष्कार गर्दा उनी विक्षिप्त भइन् ।
अहिले आफ्नो सन्तानको जिम्मेवारी धानेर बसिरहेकी निशा भन्छिन्– ‘वैदेशिक रोजगारीमा जाने महिलालाई हाम्रो समाजले र घरपरिवारले हेर्ने दृष्टिकोण निकै खराब रहेछ । एक हिसाबले उनीहरू समाजबाट बहिस्कृत नै हुनुपर्ने अवस्था छ । देशमा त हामी महिलालाई काम गरेर खाने वातावरण छैन नै, विदेशमा काम गरेर फर्कियो, समाज र हाम्रो घर परिवारलाई लाग्छ कि हामीले ठूलो पाप गरेर फर्कियौँ ।’
उनीजस्तै जुगल गाउँपालिकाकी मनमाया तामाङ काठमाडौँ कपनको फुटपाथमा कपडा व्यापार गर्थिन् । व्यापारको क्रममा हेटौँडाका एक पुरुषसँग चिनजान भयो । चिनजान मायामा परिणत भयो र २ वर्षपछि विवाहमा । विवाह गरेको ५ वर्षमा उनीहरूको २ सन्तान भए । ती २ सन्तानको राम्रा शिक्षा र सिङ्गो परिवारको भविष्य सुखद बनाउने सपना सजाउँदै उनी साउदी पुगिन् ।
तर सपना सजाएजस्तो राम्रो भएन, घरेलु कामदारको लागि गएकी उनलाई श्रम मात्रै हैन मालिकले शारीरिक शोषण पनि गर्न थाले । उनले आफ्नो पीडा श्रीमानलाई सुनाइन् तर परपुरुषले छोएको भन्दै श्रीमतीको रूपमा श्रीमानले स्वीकारेनन् । परिवारको सुखद भविष्यको लागि विदेश गएकी उनी धेरै दुःख र हण्डर खेपेर फर्कँदा परिवारकै साथ पाइनन् । सामाजिक संस्थाको सहयोगमा नेपाल फर्केकी उनले श्रीमान्को घर प्रवेश नपाएपछि अन्ततः माइतीघर नै फर्किइन् ।
विदेशमा समस्या भोगेर आएका महिलाहरूलाई परिवार र समाजका पुनस्र्थापना हुन प्रश्नहरूको ताँती लाग्ने गर्दछन् । ‘घरमा आयो प्रश्नै प्रश्नले अँठ्याउँछन्’ तामाङले भनिन् । वैदेशिक रोजगारबाट विभिन्न समयमा फर्किएका महिलाका लागि समाजमा पुनस्र्थापनामा समस्या हुने गरेको छ । लामो समय वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेर काम गरी फर्किएका महिलालाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक हुने भएकाले समाजमा स्थापित हुन असहजता हुने गरेको उनको भनाई छ ।
इन्सेकका प्रतिनिधि नातिबाबु धितालले वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा महिला झनै जोखिममा परेको विभिन्न तथ्याङ्कले पुष्टि गरेको बताउँछन् । ‘महिलामैत्री नीति–नियम निर्माणमा न त नेपाल स्वयम् आफैँले पहल गरेको छ, न त गन्तव्य मुलुकलाई जिम्मेवार बनाउन सकेको छ,’ उनले भने । त्यति मात्रै होइन, वैदेशिक रोजगारीबाट फर्केको अधिकांश महिला घर, परिवार र समाजमा पुनस्र्थापित हुन नसकिरहेको उनको भनाई छ ।
बढ्दो सम्बन्ध विच्छेद
मकवानपुर जिल्ला अदालतमा दैनिक ८ देखि १० वटासम्म सम्बन्ध विच्छेदका उजुरी पर्ने गरेको छ । श्रीमान् अथवा श्रीमती वैदेशिक रोजगारीमा गएपछि उत्पन्न परिस्थितिकै कारण सम्बन्ध विच्छेदका उजुरी पर्ने गरेको अदालतले जनाएको छ । विदेश गएपछि नेपालमै रहनेले दोस्रो विवाह गर्ने वा अवैध सम्बन्ध राखेकै कारण विदेशबाट फर्किएपछि यस्ता मुद्दा दर्ता हुने गरेको अदालतको श्रेष्तेदार रोशी भण्डारी बताउँछिन् ।
त्यस्तै सिन्धुपाल्चोक जिल्ला अदालतमा दैनिक ५ देखि ८ वटासम्म सम्बन्ध विच्छेदका उजुरी पर्ने गरेको छ । ‘वैदेशिक रोजगारी नै सम्बन्ध विच्छेदको मूल कारण देखिन्छ’, सिन्धुपाल्चोक जिल्ला अदालतका सूचना अधिकारी अक्षयकुमार दनुवारले भने, ‘वैदेशिक रोजगारीकै कारण बहुविवाह बढेको छ र यसकै कारण सम्बन्ध विच्छेदका उजुरी पनि बढेको हामीले पाएका छौँ ।’
विदेश जानेले परिवारको ख्याल नगर्ने, उतै अर्को सम्बन्ध बनाउने गरेको पनि देखिएको काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेष्तेदार कर्णबहादुर राईले बताए । विदेशमा दुःखले कमाएको रकम घरमा बस्नेले मनलाग्दी खर्च गरिदिएका कारण पनि यस्ता घटना बढेको उनको ठम्याई छ । चालु आर्थिक वर्षको चार महिनामा काभ्रेपलाञ्चोकमा ५२ वटा सम्बन्ध विच्छेदका उजुरी दर्ता भएको छ । ती मध्ये २४ फछ्र्यौटसमेत भइसकेका छन् ।
पाइला–पाईलामा ठगी
चौतारा साँगाचोकगढी नगरपालिका– १ स्याउलेकी सविना लामाले संयुक्त अरब इमिरेट्स जान दलाललाई एक लाख रुपैयाँ दिइन् । सामान्य लेखपढ मात्र जानेकी उनले गाउँकै चिनेजानेका साथीको लहलहैमा लागेर दलाललाई रकम बुझाएकी उनी ठगिएको कारण विदेश जान पाइनन् ।
‘पैसा लिनु अघि दलालले सिनामंगलमा रहेको एउटा मेनपावर कम्पनी आफ्नो हो भनेर देखाएको थियो । तर, त्यो त उसको रहनेछ’, उनले भनिन्– ‘पैसा लिने व्यक्ति फरार भएपछि सोधीखोजी गर्दै काठमाडौंसम्म आएँ । तर अहिलेसम्म दलाल फेला परेको छैन । नबुझिकन रकम बुझाउँदा एकातिर विदेश जाने सपना चकनाचुर त भयो नै साथै बडो मुस्किलले जम्मा गरेको रकम पनि गायब भयो ।’
सोही ठाउँकी ४५ वर्षीया कमला तामाङ कम्पनीमार्फत् नै जोर्डन पुगेकी थिइन् । कम्पनीमा काम भनिए पनि सप्लाईमा परेकी उनले तीन महिनापछि काम पाइनन् र फर्किन् बाध्य भइन् । स्वभावले नै सोझो र अरूलाई छिट्टै विश्वास गरिहाल्ने प्रकृतिका कारण पनि महिलाहरू वैदेशिक रोजगारीको क्रममा बढी ठगिने सुरक्षित आप्रवासन कार्यक्रम सामीका संयोजक अरुण पौडेल बताउँछन् । अधिकांश महिला घरायसी कामकै लागि विदेश जाने गरेको र भाषा, शिक्षा, सीपबिना जाँदा उनीहरू ठगिने गरेको उनको बुझाई छ ।
पछिल्लो समयमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या घट्दै गएपछि मेनपावर र दलालको ध्यान महिलातिर तानिएको छ । अशिक्षा, चेतना, चरम बेरोजगारी र गरिबीको कारण महिलाहरू उहिले रोजगारीको नाममा बेचबिखनमा पर्थे भने अहिले वैदेशिक रोजगारीका नाममा दुःख पाइराखेको मानव अधिकार मञ्चकी कर्मचारी कृति गोलेले बताउँछिन् ।
‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौँ,’ गोले भन्छिन्– ‘तैपनि महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ । यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ ।’ दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको मानव अधिकार मञ्चकी गोलेले बताइन् ।
गाउँमा सामान्य जीवन बिताइरहेका युवतीसँग सुरुमा मायाप्रेमको नाटक गर्ने र बिस्तारै उनीहरूको रकम कुम्ल्याउन दलालले वैदेशिक रोजगारीका लागि चोरीको बाटो प्रयोग गर्ने गरेका छन् । झुक्याएर महिलालाई वैदेशिक रोजगारीमा पठाउने धेरैजसो दलालले भारतीय बाटो प्रयोग गर्ने गरेको पाइएको उनको भनाई छ ।
बिदेशिएका महिलाको अवस्था झनै जटिल
वैदेशिक रोजगारीमा जाने नेपाली महिलाले कामका सिलसिलामा गन्तव्य मुलुक र स्वदेश फिर्तापछि पनि जटिल समस्या भोग्नुपरेको एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । ग्रिन तारा नेपाल र बेलायतको सेफिल्ड विश्वविद्यालयले केही समयअगाडि संयुक्त रूपमा सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालबाट बिदेसिने कामदार संख्या बर्सेनि बढ्दै गए पनि राज्य पक्षबाट यसलाई व्यवस्थित गर्न नसक्दा विकराल समस्या उत्पन्न भएको उल्लेख छ ।
प्राध्यापक पउल बिस्सेल, डा. पदम सिंखडा र अनुन्धानकर्ता सारा देवकोटाले तयार पारेको ‘मानव बेचविखन र वैदेशिक रोजगारीमा नेपाली महिला’ विषयक प्रतिवेदनमा महिलाको दयनीय अवस्थाबारे चर्चा गरिएको छ । आर्थिक अवस्था कमजोर, बच्चाको शिक्षा, परिवारको दबाब र आर्थिक प्रलोभनजस्ता कारणले महिला बिदेसिने गरेको प्रतिवेदनमा उल्लेख छ । यति हुँदाहुँदै पनि महिला बिदेसिने क्रम बढ्दै जाँदा समाजमा महिलालाई हेर्ने दृष्टिकोण भने अझै सकारात्मक छैन ।
रोज्दैनन् कानुनी बाटो
वैदेशिक रोजगारको क्रममा ठगिएका तथा विभिन्न शोषणमा परेका महिलाहरू ठूलो संघर्षपछि नेपाल फर्केर पनि कानुनी रूपमा क्षतिपुर्ति लिने बाटो रोज्दैनन् । कतिपयलाई कानुनी अधिकारबारे थाहै नभएको बताउँछन् । कतिपय चाही आफ्नो विगतबारे समाजमा सबैलाई जानकारी होला र इज्जत जाला भनेर विगत लुकाएर नयाँ बिहानी कोर्न चाहन्छन् ।
रोजगारीको क्रममा चरम लैङ्गिक हिसांमा परेर फर्किएका महिला धेरैजसो त आफ्नो पुरानो समाज र परिवेशमा फर्कन नै नचाहने गरेको अधिकारकर्मीहरू बताउँछन् । खाडी मुलुकमा कामका लागी जाने गरेका महिला सामान्य लेखपढ गरेका हुने भएकाले घरायसी सहयोगीका रूपमा गई हिंसामा परि नेपाल फर्कने अधिक भए पनि न्यायको लडाइँमा उत्रनै नचाहने गरेको शक्ति समूहकी केश मेनेजर लक्ष्मी तामाङको बुझाइ छ ।
‘कतिपयलाई समाजमा पुरानै हैसियतमा स्थापित हुन नसकेपछि अन्ततः महिलाहरू कि त फेरि वैदेशिक रोजगार कि त अन्यत्र बसाइँ सर्ने गरेका छन् । विदेशमा हुने गरेको मानसिक तनाव बिर्सनका लागि आफ्नै देशमा फर्केर आउँदा उनीहरू गाउँमा आफ्नोपन आभास गर्न पाइरहेका हुँदैनन्’, उनले भनिन्– ‘खाडी मुलुकमा घरेलु कामका लागि जाने गरेका महिला सामान्य लेखपढ गरेका वा अनपढ हुने भएकाले पनि न्यायको लागि लड्ने र सम्बन्धित निकायमा उजुरी दिने काम गर्दैनन् ।’
वैदेशिक रोजगारीमा गएर समस्यामा परेर स्वदेश फर्केका प्रभावित क्षेत्रहरूमा चेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, आयआर्जनका आधारहरू पहिचान गरी त्यसलाई क्रमिक रूपमा कार्यान्वयन गर्दै लैजानेजस्ता केही उपायहरू तत्काल अवलम्बन नगरे महिलाहरू विदेशमा गएर समस्यामा पर्ने क्रम नरोकिने सुरक्षित आप्रवासन कार्यक्रम सामीका मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठ बताउँछिन् ।
सन्दर्भ सामग्रीः
१. वैदेशिक रोजगार विभाग, https://dofe.gov.np/
२. बिस्सेल पउल, सिंखडा डा. पदम, देवकोटा सारा । मानव बेचविखन र वैदेशिक रोजगारीमा नेपाली महिला (प्रतिवेदन– २०२३)
३. बागमती प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुसँग कुराकानी
४. बागमती प्रदेशभित्रका जिल्ला अदालतका प्रतिनिधिहरुसँग कुराकानी
५. मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रसँग कुराकानी
६. राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गणेश गुरुङसँग कुराकानी
७. इन्सेकका प्रतिनिधि नातिबाबु धिताल, मानव अधिकार मञ्चकी कृति गोले, शक्ति समूहकी केश मेनेजर लक्ष्मी तामाङ, सामीका कार्यक्रम संयोजक अरुण पौडेल एवम् मनोसामाजिक परामर्शकर्ता निर्मला श्रेष्ठ र वैदेशिक रोजगारबाट फर्किएका विभिन्न व्यक्तिहरुसँग कुराकानी
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ