चौतारा । ३० स्वर्णसहित ११औं सिन्धुपाल्चोक जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी चौतारा साँगाचोकगढी नगरपालिकाले जितेको छ ।
मंगलबार सम्पन्न प्रतियोगितामा चौताराले उसुमा ९ स्वर्ण, एथलेटिक्समा ९ स्वर्ण, तेक्वान्दोमा ७ स्वर्ण, करातेमा ४ स्वर्ण र कबड्डीमा १ स्वर्णगरी ३० स्वर्ण जित्दै प्रथम भएको हो । त्यस्तै चौताराले प्रतियोगितामा २० रजत र ७ कास्य जितेको छ ।
प्रतियोगितामा दोस्रो भएको बाह्रविसे नगरपालिकाले १० स्वर्ण जितेको छ । एथलेटिक्समा ४ स्वर्ण, करातेमा ३ स्वर्ण, तेक्वान्दोमा २ स्वर्ण, कबड्डीमा १ स्वर्णगरी १० स्वर्ण जितेको हो । उपविजेता बनेको बाह्रविसेले प्रतियोगितामा ८ रजत र ८ कास्य जितेको छ । त्यस्तै तेस्रो भएको भोटेकोशी गाउँपालिकाले ७ स्वर्ण जितेको छ । एथलेटिक्समा ४ स्वर्ण, तेक्वान्दोमा ३ जितेको भोटेकोशीले १० रजत र ८ कास्य आफ्नो बनाएको छ ।
तीन दिन चलेको प्रतियोगितामा भलिवल, एथलेटिक्स, कबड्डी, कराँते, तेक्वाण्डो र उसुविधामा झण्डै ६ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । कुल ३ सय ७८ पदकका लागि भएको प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहका खेलाडीले भाग लिएका थिए । १२ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी, पाँचपोखरी, लिसंखुपाखर र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउन नआएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दंगालले बताए ।
विजेता खेलाडीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता सापकोटा, प्रमुख जिल्ला अधिकारी किरण थापा, चौतारा नगरका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटालगायतले संयूक्त रुपमा शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
चौतारा अघिल्लो संस्करणमा समेत विजेता बनेको थियो । हरेक विधामा स्वर्ण पदक जितेका खेलाडी बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि समेत छानिएका छन् ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ