♦ माया गुरुङ । सिन्धुपाल्चोक
त्यसो त केन्द्रीय राजधानीबाट टाढाको गन्तव्य होइन, सिन्धुपाल्चोक । ‘बत्ती मुनिको अँध्यारो’ भनेझैं भौतिक पूर्वाधार र सुविधाले अझै पनि यस जिल्लालाई श्रृंगारपट्टार गर्न सकेको छैन । त्यसैले त यहाँका मनोरम प्राकृतिक दृश्यहरु धेरैको आँखाबाट ओझेलमा छ ।
यस्तै ओझेलमा परेको तर अत्यन्तै मनमोहक स्थानमध्येको एक हो, तिलमान पास । तिलमान पास नेपालमा भएका पासहरुमध्य कठिने मानिन्छ । मैले थुप्रै हिमचुचुरो टेकेको छु । विश्वकै अग्ला सगरमाथादेखि विश्वका अन्य हिमालहरु चढेको अनुभव छ मसँग । विदेशमा जाँदा सामान्य हिमालहरुको पनि खुब चर्चा परिचर्चा हुने गर्छ । तर, आफ्नै जिल्लामा रहेका हिमालहरुबारे कतै सोधीखोजी एवं चासो हुँदैन । विदेशमा सामान्य हिमाललाई पनि ब्रान्डिङ गरेर आयआर्जनको स्रोत बनाइन्छ । त्यस्ता हिमालमा आगन्तुकको ओइरो लाग्छ । तर, हामीकहाँ त्यतिका हिमाल भएर पनि अपेक्षाकृत चर्चा हुँदैन । यो कुराले मलाई भित्रभित्रै बिथोलिरहन्थ्यो ।
गएको वर्ष जुगल हिमाल आरोहण गरेका थियौं । यो हिमाल आरोहण गर्दा स्थानीय तहमा जुन किसिमको उत्साह देखियो, त्यसले हामीलाई तिलमान पासतर्फ पाइला बढाउन प्रेरित गर्यो । आफ्नै जन्मथलोमा रहेको यो हिमाललाई विश्वमाझ चिनाउनुपर्छ भन्ने उद्देश्यसहित हामी तिलमान पासतर्फ उक्लियौं । यस हिमालबारे अध्ययन र अनुभव गर्ने मनसाय थियो । यदि यस हिमाललाई विश्वमाझ पेस गर्न सकिएको अवस्थामा स्वदेशी–विदेशी आगन्तुकलाई आकर्षित गर्न सकिन्थ्यो कि भन्ने हामीलाई लाग्यो ।
यो हिमाल सिन्धुपाल्चोक र रसुवाको सीमावर्ती क्षेत्रमा छ । यसको नामकरणचाहिँ ब्रिटिश नागरिक तीलमानले गरेकाले उनैको नामबाट राखिएको रहेछ । समुद्री सतहबाट पाँच हजार तीन सय आठ मिटरको उचाइमा छ यो हिमाल । यो वास्तवमै नकुँदिएको हिराजस्तो छ ।यसपालि हामी आन्तरिक पर्यटकहरुले अत्यधिक रुचि देखाएको पाँचपोखरी हुँदै तिलमान पास गयौं । तिलमान पास जाँदै गर्दा आँखै अगाडि दोर्जेलाक्पा, डोमालड, गनज्यापो लगायत दर्जनौं हिमाल हेर्न सकिन्छ ।
धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको पाँचपोखरी हुँदै तिलमान पास पार गर्नु पर्दछ । आन्तरिक पर्यटकका लागि पाँचपोखरी प्रख्यात छ । तर, त्यहाँदेखि ३० मिनेटको दूरीमा दर्जनौ हिमाल हेर्न सकिने स्थान छ । त्यसको उचित प्रवर्द्धन हुन सकेको छैन । यही कुरालाई चिनाउन पनि हामीले यो यात्रा तय गरेका हौं । सामान्यतया यो पास काठमाडौंदेखि दुई हप्तामा तय गर्न सकिन्छ । काठमाडौं, मेलम्ची, पाँचपोखरी, तिलमानपास गरेर रसुवाको क्यानजेन गुम्बादेखि धुन्चे हुँदै पुनः काठमाडौं फर्किन सकिन्छ । यो यात्रामा खान बस्नका लागि आफैले व्यवस्था गर्नुपर्छ । तिलमान पास पार गर्दा समुद्र सतहबाट ५ हजार ५ सय ५६ मिटर उचाइमा रहेको युवापिक पनि आरोहण गर्न सकिन्छ । यो पीक आरोहण गर्दा सरकारको अनुमति लिनु पर्दैन ।
आन्तरिक पर्यटन प्रवर्द्धन उत्थान समिति, बागमती प्रदेशका संयोजक ध्रुव सिम्खडाका अनुसार नेपालको सबैभन्दा पुरानो पदयात्रा भित्र पर्दछ तिलमान पास । पुरानो भएर पनि जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यति भएको छैन । राजधानी नजिक भएर पनि यो क्षेत्रले जति पर्यटकको आगमन पाउनु पर्ने हो त्यति पाउन सकेको छैन ।
सिम्खडाका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन उत्थान समिति बागमती प्रदेशकी सह–संयोजक माया गुरुङले तिलमान पास मात्र नभइ बागमती प्रदेशका धेरै पर्यटकीय क्षेत्रको आफ्नै पहलमा उजागर गरिरहेकी छन् । ‘अब हामी एउटै टिममा छौं । उहाँको अनुभवलाई सकेसम्म हामीले प्रयोग गर्ने सोच बनाएका छौं,’ सिम्खडाले भने ।
बत्तिमुनी अँध्यारो भनेजस्तै बागमती प्रदेशमा पदयात्राको उतिसाह्रो प्रचार प्रसार हुन सकेको छैन । लामो यात्रा गर्न समय कम भएका तर पदयात्रा गर्न चाहनेहरुका लागि बागमती प्रदेशका धेरै स्थानहरु छन् । तीमध्ये तिलमान पास एक हो । संयोजक सिम्खडा भन्छन्, ‘अब हामी तिलमान पास मात्र नभएर बागमती प्रदेशका पर्यटकीय स्थलहरुको पर्यटन बोर्डसँग सहकार्य गरेर उजागर गर्ने छौं । यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।’
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ